हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, रसुवा र काभ्र्र्र्रेपलाञ्चोक जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–११ मा २ तले घरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–५, दुर्गाचोक डेरागरी बस्ने २० वर्षीय होम बहादुर सारु रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा सारु २ तले घरमाथि ट्रष्टको काम गर्ने क्रममा लडेर घाईते भएका थिए । घाइते सारुलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै रसुवा जिल्लाको कैलाश मानसरोवरमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय मूलका अमेरिकी नागरिक नवीन अम्बाला पटेल रहेको प्रहरीले जनाएको छ । पटेल गत शुक्रबार काठमाडौंबाट ल्हासा कैलाश मानसरोवर गएका थिए । बिहीबार पटेलको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१, रायगाउँमा नवजात शिशु मृत फेला परेको छ । शुक्रबार बिहान ८ बजेर १५ मिनेटको समयमा बाटोको छेउ बाँसको झ्याङमा हरियो प्लास्टिकले बेरी बोरामा हाली फालिएको अवस्थामा अन्दाजी ४ दिन जस्तो देखिने नवजात शिशु छोरी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।