नेपाल हिमालहरूको देश, जहाँ प्राकृतिक सुन्दरताले मान्छेको आँखा मात्र होइन, आत्मासमेत मोहित गर्छ । यहाँका झरनाहरूको मधुर सङ्गीत, वनहरूको हरियाली र हिमालहरूको बरफजस्तो चाँदीले सजिएको कञ्चन रूपलाई वर्णन गर्न शब्द अपुग भान हुन्छ तर आज यो सुन्दरता सङ्कटमा परेको छ । पर्यावरणको बिग्रँदो अवस्था नेपालका हरेक कुना–कुनामा महसुस गर्न सकिन्छ ।
नेपालको पर्यावरणलाई वर्णन गर्दा पहाडका चुचुराहरूलाई मातृस्वरूप मान्न सकिन्छ । यी चुचुराहरूले वर्षौंदेखि नदीहरूलाई जन्म दिएका छन्, जसले तराईका उर्वर जमिनलाई पोषण दिएको छ तर आज ती मातृभूत हिमालहरू आफैँ जलवायु परिवर्तनको पीडामा छन् । ग्लोबल वार्मिङको कारणले गहिरो छिद्रहरू परेको बरफको सतहलाई हेर्दा लाग्छ, माताको काख बिस्तारै दरारहरूले चिरिँदैछ ।
नेपालका नदीहरू केवल पानीका स्रोत मात्र होइनन्, जीवनका प्रतीक पनि हुन् । बागमती, कर्णाली र कोशी जस्ता नदीहरूले नेपाली समाजलाई सांस्कृतिक, आर्थिक र आध्यात्मिक रूपमा एकत्रित गरेको छ तर आज यी नदीहरू प्रदूषणको सिकार बनेका छन् । बागमती नदीलाई हेर्दा लाग्छ कुनै समयका तेजस्वी युवतीले आफ्नै अस्तित्व गुमाएकी छिन् ।
नेपालका वनहरूलाई हरियालीको गहना मानिन्छ तर यो गहना आज वन विनाशको परिणामस्वरूप हराउँदैछ । वन विनाशको प्रभावले जङ्गली जनावरहरू विस्थापित भएका छन् । जस्तो कि, बाघलाई आज जङ्गलको राजा होइन, लोपोन्मुख प्रजातिको सूचीमा राखिएको छ । यो हाम्रो पर्यावरणीय असन्तुलनको प्रतीक हो ।
काठमाडौँ उपत्यका र पोखरा उपत्यका, जसलाई कहिलेकाहीं “स्वर्गको टुक्रा” भनेर सम्बोधन गरिन्छ । आज धुलो र धुवाँको धुवाँधारमा हराएको छ । कुनै बेला सुगन्धित फूलहरूले महकिएको बगैँंचाजस्तो लाग्ने काठमाडौँ र पोखरा आज प्रदूषण र कोलाहलको सिकार भएको छ ।
तराईका हरियाली जङ्गलहरूलाई नेपाली जीवनको मुटु मान्न सकिन्छ तर आज ती जङ्गलहरू चुरे पहाडको कटान र मानवीय गतिविधिको कारणले सुक्दैछन् । चुरे पहाडका रूखहरूलाई काट्नासाथ नदीहरूले बगाउन नसक्ने माटोको मात्रा बढ्छ । फलस्वरूप तराईको उव्जाऊ भूमि बगरमा परिणत हुँदैछ । चुरेको क्षयलाई रोक्न नसकिए हामीले तराईलाई मरुभूमिमा परिणत भएको देख्न बाध्य हुन सक्छौँ ।
जङ्गल नेपाली संस्कृतिको अभिन्न हिस्सा हो । रुकुम, रोल्पा, चितवन जस्ता स्थानहरूमा भएका वन्यजन्तुहरू हाम्रो प्राकृतिक सम्पत्तिका धरोहर हुन् तर वन कटानी र शहरीकरणको कारण वन्यजन्तुहरूको बासस्थान खतरामा छ । बाघ, गैँडा र कस्तुरी मृगजस्ता दुर्लभ प्रजातिहरूमा मानवीय हस्तक्षेपको प्रभाव प्रस्ट देखिन्छ । वन्यजन्तुहरूसँगको सह–अस्तित्व भनेको मानव सभ्यताको दर्पण हो । जबसम्म हामी यो दर्पणलाई सुरक्षित राख्दैनौँ तबसम्म हाम्रो आफ्नै अस्तित्व जोखिममा रहन्छ ।
जलवायु परिवर्तनको प्रभाव नेपाली जनजीवनमा दिनप्रतिदिन स्पष्ट हुँदै गएको छ । नेपालमा विशेषगरी कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा यसले पु¥याएको नकारात्मक प्रभावलाई बेवास्ता गर्न सकिन्न ।
समयमै पानी नपर्नु वा असिनाको प्रकोपले गर्दा कृषिमा ठुलो क्षति पुगेको छ । परम्परागत खेती प्रणाली बिग्रँदा उत्पादनमा गिरावट आएको छ ।
उष्णकटिबन्धीय फलफूल र बाली पहाडी क्षेत्रसम्म विस्तार भएको देखिन्छ जसले मौसमी सन्तुलनको गम्भीर सङ्केत दिन्छ । हिमालय क्षेत्रमा हिमताल फुट्ने डरले साहसिक पर्यटकहरु घट्दैछन् । पर्यटकहरूको रोजाइको ठाउँमा मौसमको अनिश्चितता प्रमुख चुनौती बनेको छ । जलवायु परिवर्तनले नयाँ प्रकारका रोगहरू फैलाएको छ ।
उच्च तापक्रमका कारण फैलिने रोगहरू जस्तै ः मलेरिया र डेँगुको सङ्क्रमण पहाडी क्षेत्रमा समेत देखिन थालिसकेको छ । नेपालको प्राकृतिक स्रोतमा बढ्दो जनसङ्ख्या र अव्यवस्थित मानव गतिविधिको ठुलो प्रभाव परेको छ । तराई क्षेत्रमा कृषि भूमि र जङ्गललाई मासेर घर बनाउँदा भूमिगत जलस्रोत सुक्दै गएका छन् ।
बिनायोजना गरिएको सडक निर्माण र अन्धाधुन्ध खानी उत्खननले पहाडी क्षेत्रहरूको प्राकृतिक संरचनामा सङ्कट ल्याएको छ । भूमिगत जलको अत्याधिक उपयोगले जमिन धसिने समस्या निम्त्याएको छ । नेपालका तीर्थस्थल र सांस्कृतिक सम्पदाहरू पर्यावरणीय सन्तुलनसँग गहिरो सम्बन्धित छन् । बाग्मती नदी धार्मिक रूपमा पवित्र मानिए पनि यसको प्रदूषणले त्यसको महत्व घट््दै गएको छ ।
हिमालय केवल नेपालको भूगोल मात्र होइन, यसको पर्यावरणीय सन्तुलनको केन्द्र हो । हिमालयका हिमनदीहरूबाट उत्पन्न भएका नदीहरूले करोडौं मानिसको जीवनलाई निर्भर बनाउँछन् तर पछिल्ला केही वर्षमा हिमालय क्षेत्रमा हिमनदीहरू द्रुत गतिमा पग्लिरहेका छन् । गङ्गापूर्णा हिमताल, इम्जा हिमतालजस्ता ठाउँहरूले जलवायु परिवर्तनको प्रभावलाई प्रत्यक्ष रूपमा देखाएका छन् ।
हिमताल फुट्नाले हुने भयानक बाढी, जल स्रोतहरूको ह्रास, पिउने पानीको अभाव र मानवीय लापरबाही जलवायु परिवर्तनको प्रभाव हुन् । पर्यावरणीय समस्या सिर्जनामा केवल प्राकृतिक कारणहरू मात्र जिम्मेवार छैनन् । मानवले गर्दै आएको लापरबाहीले समस्यालाई झन् गहिरो बनाएको छ ।
प्लास्टिकले भूमि र पानीलाई प्रदूषित मात्र गर्दैन; यसले जैविक जीवनलाई समेत नकारात्मक असर पुर्याउँछ । त्यस्तै अव्यवस्थित शहरी विस्तारले हरियाली क्षेत्रहरू घटाइरहेको छ । जनतामा पर्यावरणीय चेतनाको कमी पनि समस्याको मुख्य कारक हो । पर्यावरण संरक्षणका लागि शिक्षाको अभावले मानिसहरूलाई वातावरणीय मुद्दाप्रति उदासीन बनाएको छ ।
नेपाल प्राकृतिक विपत्तिको दृष्टिले उच्च जोखिममा रहेको देश हो । २०७२ सालको महाभूकम्पपछि भएको पुनःनिर्माणले दिगो विकासमा जोड दिएन । अझै पनि, पुनःनिर्माणका लागि हरियालीयुक्त प्रविधि प्रयोग गर्नुपर्छ ।
चुरे क्षेत्रको संरक्षण र जलाशय निर्माणले बाढी नियन्त्रणमा सहयोग पु¥याउन सक्छ । भू–स्खलन रोक्न वृक्षारोपण र जैविक संरचनाहरूको प्रयोग गर्न सकिन्छ । नेपालले “हरित अर्थतन्त्र” को अवधारणालाई आत्मसात् गर्न सक्नुपर्छ । जलविद्युत र सौर्य ऊर्जाको उपयोगले ऊर्जा सङ्कट कम गर्न सकिन्छ । ग्रामीण क्षेत्रका घरहरूमा बायोग्यास प्रविधिको प्रवर्धन गर्न सकिन्छ । रासायनिक मल र विषादीको सट्टा जैविक मलको प्रयोगले माटोको उर्वरता जोगाउँछ । विदेशमा जैविक उत्पादन निर्यात गरेर देशको आयआर्जन बढाउन सकिन्छ ।
पर्यावरणमैत्री पर्यटनलाई प्रोत्साहन गर्न हिमाली क्षेत्रमा वातावरणीय प्रवर्धन गर्न सकिन्छ । पर्यटकहरूलाई स्थानीय संस्कृति र प्रकृतिमा जोड्न सकिने कार्यक्रम ल्याउन सकिन्छ ।
नेपालको पर्यावरणको संरक्षण भनेको केवल प्राकृतिक सम्पत्ति जोगाउनु मात्र होइन, आफ्नो पहिचान, संस्कृति र भविष्यलाई सुरक्षित राख्नु हो । प्रकृति हाम्रो मातृभूमि हो जसले हामीलाई संरक्षण गर्दछ । हामीले पनि आफ्नो मातृभूमिलाई माया गरेर, यसको सौन्दर्य र सम्पत्तिलाई जोगाउनुपर्छ ।
जब हामी प्रत्येक नेपालीले आफ्नो दायित्व पूरा गरेर प्रकृतिलाई सम्मान गर्ने दिन आउँछ तब मात्र नेपाल वास्तवमै हरियाली, सौन्दर्य र शान्तिको प्रतीक बन्न सक्छ । अझ सामुदायिक कार्यक्रमहरू गाउँगाउँमा ल्याउन सके गाउँस्तरमा वृक्षारोपण अभियान, नदी सफाइ कार्यक्रम र जैविक खेती प्रशिक्षणले सामूहिक योगदान सुनिश्चित गर्छ ।
त्यस्तै मिडियाको भूमिका पनि अहम हुन्छ । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत वातावरणीय समस्याबारे जनचेतना फैलाउन सकिन्छ । नेपाल साना विकासशील राष्ट्रहरूको समूहको सदस्यको रूपमा जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय बहसमा आफ्नो आवाज उठाउँदै आएको छ । नेपालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका असरहरूलाई विश्वव्यापी मुद्दा बनाउन योगदान पु¥याएको छ । संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा नेपालले हरित परियोजनाहरू सञ्चालन गर्दैछ ।
वन क्षेत्रका आधारमा कार्बन क्रेडिटबाट आय आर्जन गर्दै जलवायु परिवर्तनको प्रभावलाई कम गर्न नेपालले कदम चालिरहेको छ । विद्यालय स्तरमै पर्यावरणीय शिक्षा अनिवार्य गरेर आगामी पुस्तालाई सचेत बनाउन सकिन्छ । नेपालको पर्यावरणलाई बचाउनु भनेको हाम्रो पहिचान, संस्कार र भविष्यलाई बचाउनु हो । हिमालका चुचुराहरू, वनका हरियाली र नदीका प्रवाहलाई जोगाउनु हाम्रो कर्तव्य हो । यो केवल प्रकृतिसँगको सम्बन्ध होइन, आत्मासँगको बन्धन पनि हो । त्यसैले सबै नेपालीले आफ्नो सानिध्यतामा पर्यावरण जोगाउने अभियानमा जुट्नुपर्ने बेला आएको छ ।
नेपालको पर्यावरणलाई संरक्षण गर्नु भनेको भावी पुस्ताका लागि सुनौलो भविष्य तयार गर्नु हो । जब हिमालय श्वेत वस्त्रमा सजिन्छ, नदीहरू स्वच्छताले बग्छन् र जङ्गलहरू हरियालीले झकिझकाउ हुन्छन् तब मात्र नेपालले पर्यावरणीय सङ्कटलाई परास्त गरेको ठहर हुनेछ । नेपालको पर्यावरणलाई जोगाउनु भनेको आफ्नै भविष्यको सुनौलो चित्र बनाउन योगदान गर्नु हो । आजका कार्यहरूले भोलिको नेपाललाई हरियाली, स्वच्छता र प्राकृतिक सम्पदाको धनी बनाउनेछ । नेपाल प्रकृतिको अद्वितीय वरदान हो, जसले हिमाल, पहाड, तराई र मधेशलाई एउटै सजीव शरीरझैं जोडेको छ । यहाँको पर्यावरण मात्र प्राकृतिक सम्पदाको कथा होइन; यो हाम्रो अस्तित्वको जरा हो । आज यो जरा मुनि बिस्तारै खिया लाग्दैछ र हामी यो प्रक्रियालाई बेवास्ता गर्न सक्दैनौँ ।
वन क्षेत्रलाई पुनस्र्थापित गर्न वृक्षारोपण अभियानलाई प्राथमिकता दिनुपर्छ । वन र नदी संरक्षणमा स्थानीय जनताको सक्रिय भूमिका हुनु महत्वपूर्ण छ । दिगो विकासका लागि नवीनतम प्रविधिहरू जस्तै सौर्य ऊर्जा, पानी पुनःचक्रण र जैविक खेतीलाई प्रवर्धन गर्नुपर्छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनी पर्यावरणीय संरक्षणको दृष्टान्त हो । त्यहाँ वृक्षारोपण कार्यक्रमले पर्यावरणीय सन्देश दिएको छ । हिमाली क्षेत्रका बौद्ध गुम्बाहरूले “प्रकृतिसँगको सामन्जस्य” भन्ने सिद्धान्तलाई प्रचार गरेका छन् ।
पर्यावरणीय संरक्षणका लागि साहित्य, कला र संस्कृतिले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । पर्यावरणीय मुद्धालाई लोकगीत, झ्याउरे र मारुनी नृत्यमा समेटेर जनचेतना फैलाउन सकिन्छ । कविताहरू, निबन्धहरू र नाटकहरूले पर्यावरणीय संरक्षणको महत्व झल्काउन सक्छ ।
हिमाल, पहाड र तराईलाई प्रतीकात्मक रूपमा चित्रण गर्दै साहित्यले मानवीय चेतनालाई प्रभावित गर्न सक्छ । नेपालको पर्यावरणीय समस्यालाई समाधान गर्न सबै क्षेत्रका व्यक्तिहरूको सहभागिता आवश्यक छ । सरकारले कडा कानुन बनाउने र नवीकरणीय ऊर्जामा लगानी गर्ने कामको थालनी गर्नुपर्छ । सामुदायिक संस्थाहरूले वन संरक्षण, सामुदायिक तालाब र सिँचाइ परियोजनाहरूको परिकल्पना गरी त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्दछ युवा र विद्यार्थीले वृक्षारोपण कार्यक्रम, प्लास्टिक प्रयोग कम गर्ने अभियानमा जुट्नुपर्छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले आर्थिक सहयोग र आधुनिक प्रविधिको सुझावमा ख्याल गर्नुपर्छ । नेपालको पर्यावरणीय सुधार केवल कठिन कार्य होइन; यो प्रेरणादायी लक्ष्य पनि हो ।
नेपालको पर्यावरणीय समस्याको समाधान हाम्रो हातमा छ । यो हामी सबैको सामूहिक प्रयासले मात्र सम्भव छ । जब हिमालहरू फेरि शीतलता बोक्नेछन्, वन्यजन्तुहरूले फेरि निर्भीकता महसुस गर्नेछन् र नदीहरूले स्वच्छ पानी प्रवाह गर्नेछन् तब मात्र हामीले हाम्रो जिम्मेवारी पूरा गरेको ठहर हुनेछ ।
आउनुहोस्, प्रकृतिलाई फेरि जीवन्त बनाउने यो अभियानमा हामी सबै जुटौँ । “हरित नेपाल, उज्ज्वल भविष्य” हाम्रो सङ्कल्प हो । आउनुहोस्, हामी सबै मिलेर वातावरणको यो गाथालाई संरक्षण र पुनरुत्थानको महाकाव्य बनाऔँ । हिमालको शीतल छायाँमा हरियालीको गुनगुन आवाज फैलाऔँ ।