हेटौँडा : हेटौँडामा एक किशोरीमाथि सामूहिक बलात्कारको घटनामा संलग्न भएको अभियोगमा अर्का एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार हेटौँडा–१७ का १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले ७ जना किशोरलाई पक्राउ गरेको थियो ।

फागुन पहिलो साता हेटौँडा–२ स्थित वनस्खण्डी सामुदायिक वन क्षेत्रमा १७ वर्षीया किशोरीमाथि किशोरहरुको एक समूहले सामूहिक बलात्कारको घटना भएको थियो । किशोरहरुले सामूहिक बलात्कार गरेको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना सार्वजनिक भएको र प्रहरीको सक्रियता र पीडित किशोरीको समेत जाहेरीमा प्रहरीले अनुसन्धान थालनी गरेर यसअघि ७ जना किशोरलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले सामूहिक बलात्कारको घटनामा अझै केही संलग्न भएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ । बलात्कारको घटनामा संलग्न किशोरहरु कक्षा ११ मा अध्ययनरत विद्यार्थी भएको र विद्यालय समयमै उनीहरुले वनस्खण्डी जंगलमा किशोरीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । किशोरीलाई नशालु पदार्थ सेवन गराएर सामूहिक बलात्कारको घटना भएको दावी गर्दै अधिकारवादी संस्थाले प्रहरी र प्रशासनलाई घटनाबारे संवेदनशील र गम्भीरताका साथ अनुसन्धान गरी कारवाही गर्न दवाव समेत दिँदै आएको छ ।