हेटौँडा सिमेन्ट उद्योगको आवासीय क्षेत्रमा मन्त्री निवास ।

हेटौँडा : हेटौँडा सिमेन्ट उद्योगको आवासीय क्षेत्रमा रहेको बागमती प्रदेश सरकारका मन्त्रीहरुको निवासमा छुट्टै विद्युत लाइन जडान गरिएको छ । सोमबार प्रदेश सरकारको मागअनुसार छुट्टै लाइन जडान गरिएको हो । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्र तथा उद्योगहरुमा दैनिक ८ घण्टाको लोडसेडिङ कायमै राखेपछि मन्त्री निवासका लागि प्रदेश सरकारले छुट्टै लाइन जडान गरेको हो ।

प्रदेश सरकारले उद्योग नियमित सञ्चालन तथा व्यवस्थापनमा सहयोग नगरी उद्योगको आवासीय क्षेत्रको सुविधा उपभोग गरी आफ्ना लागि मात्रै विद्युत जडान गरेको भन्दै उद्योगका कर्मचारी र स्थानीय आक्रोशित बनेका छन् । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री, वन तथा वातावरण मन्त्री, संस्कृति तथा पर्यटन मन्त्री, सामाजिक विकास मन्त्री, स्वास्थ्य मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रीको निवास हेटौँडा सिमेन्ट उद्योगको आवास क्षेत्रमा रहेको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रका प्रमुख शिवराम यादवले प्रदेश सरकारको निवेदनमा नयाँ लाइन जडान गरिएको बताउनुभयो । अहिले उद्योग क्षेत्रमा दैनिक बिहान र बेलुका ४÷४ घण्टा लोडसेडिङ भइरहेकोले मन्त्री निवासमा मस्या भएपछि नयाँ लाइन जडान गरिएको केन्द्र प्रमुख यादवको भनाइ छ ।