आइतबार आत्महत्या गरेका भारतीय कलाकार सुशान्त सिंह राजपुत ।

हेटौंडाः आइतबार बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटनालाई लिएर सामाजिक सञ्जालमा धेरैले शोक व्यक्त गरे । बलिउडमा सन् २०१९ मा रिलिज भएको चलचित्र छिचोरेमा शैक्षिक जीवनमा निराश बनेर आत्महत्या गर्ने प्रयत्न गरेका छोरालाई आफ्नो जीवनका असफलता र असहजताका घटना सुनाएर असल पीताको भूमिका निर्वाह गरेका सुशान्तले आफ्नो जीवनको अन्त्यको कारण यत्तिबिघ्न निराशालाई बनाएको कसैले कल्पना समेत गर्न सकेको थिएन । भारतीय चर्चित कलाकारले आत्महत्या गर्दा उनका प्रशंसकहरु जति दुखी छन् त्यो भन्दा कयौं गुना बढी आफ्ना आफन्त र साथीभाईलाई दुखी बनाएर हरेक एक दिनको अन्तरमा मकवानपुर जिल्लामा आत्महत्याका घटना भइरहेका छन् ।

मकवानपुर जिल्लामा पछिल्लो तीन महिना (चैत, बैशाख र जेठ) मा ३९ जनाले आत्महत्या गरेका छन् । शनिबार मात्रै हेटौंडा–१९, नेवारपानीका ८५ वर्षीय ज्येष्ठ नागरिकले आत्महत्या गरे । यस्तै शनिबार नै भिमफेदीमा पनि एकजनाले आत्महत्या गरेका छन् । समाजशास्त्री ईमाइल दुर्खिमले आत्महत्यामा समाजलाई दोषी देखाउँछन् । उनका अनुसार समाजले नै व्यक्तिलाई आत्महत्या गर्न प्रेरित गरिरहेको हुन्छ । समाजमै सामेल हुन नसक्ने स्थितिमा व्यक्तिको मनस्थिति आत्महत्याका लागि प्रेरित हुने दुर्खिमको भनाइ छ । तर, के हाम्रो समाजले आफूलाई दोषी ठानेर आत्महत्याका घटना न्यूनीकरण गर्ने प्रयास गरेको छ ?

केही दिन यता कोरोना भाइरसको संक्रमणको जोखिमका कारण लकडाउन घोषणा भएर जीविकामै असर परेको भन्दै आत्महत्याको प्रयास भएको भनी नेपालका सञ्चार माध्यममा समाचारहरु आइरहे । समाचारकै हवाला दिएर सत्ता र प्रतिपक्षबीच जुहारी पनि चल्यो । आ–आफ्ना स्वार्थको खपतका लागि । सामाजिक सञ्जालमा पनि प्रसस्त प्रश्नहरु सोधिए । तर, यही तीन महिनाको गत वर्षको तथ्यांक हेर्ने हो भने लकडाउनको यो जटिल अवस्थामा भन्दा बढी आत्महत्याका घटना भएका छन् । गत वर्षको चैत, बैशाख र जेठ महिनामा ४२ जनाले आत्महत्या गरेका छन् । जुन संख्या यस वर्षको भन्दा ३ जनाले बढी हो । यसअघि २०७४ साल चैत, २०७६ साल बैशाख र जेठ महिनामा भने २५ जनाले मात्रै आत्महत्या गरेका छन् ।

यसरी हेर्ने हो भने आत्महत्या जटिल समस्या हो । आत्महत्याको घटनालाई लिएर प्रहरीले गर्ने अनुसन्धान र त्यसको प्रतिवेदन आत्महत्या गर्ने व्यक्तिको पोष्टमार्टमपछि परिवारले उसको अन्त्येष्टि गरेपछि मृतकको आत्मा जस्तै शान्त रहन्छ, प्रहरी कार्यालयकै कुनै ¥याक या दराजमा । औसतमा हरेक एक दिनको अन्तरमा मकवानपुर जिल्लामा भइरहेको एक आत्महत्यालाई नियन्त्रण गर्नुपर्ने आवश्यकता न सरकारले देखेको छ, न त प्रतिपक्षी दलको मुद्दा बन्न सकेको छ । आत्महत्याको कारण खोजेर त्यसलाई निर्मूल पार्ने प्रयास कसैबाट पनि नभएकै कारण कतिपय हत्याका घटनाहरु समेत आत्महत्या जस्तै बनाइन खोजिएको हुन्छ ।

आत्महत्याको संख्या सरकारको बजेटका लागि समस्याको विषय बन्न सकेको छैन भने प्रतिपक्षी दलले पनि आत्महत्याको तथ्यांकलाई केलाउने चेष्ठा गरेको छैन । आत्महत्याका घटनाले युवावस्थाका छोरा–छोरी गुमाएका परिवारको पीडाको विषय पनि संसदको चासोको विषय बन्न सकेको छैन । आत्महत्यालाई निराशाको कारण भन्दै प्रहरीले प्रतिवेदन बन्द गर्ने प्रवृत्तिको अन्त्यका प्रयासहरु सुरु गर्ने साइत्को कृपया खोजी गरौं ।