जति नै सिर्जनशील मानिए तापनि हामी मानिस केही न केही कुरामा चुकेका रहेछौं । अन्तरिक्षमा पुग्न समेत बाँकी नराखेको मानिस, आज एकदमै सानो भाइरसका कारण त्रसित भएर बसेका छौं । यही भाइरस कै परिणाम स्वरूप हामीले जीवनमा प्रयोग नै नगरेको शब्द (लकडाउन) हाम्रो दैनिकी बनेको छ । यस भाइरस अनि लकडाउनका कारण नै सबै क्षेत्रमा हानि पुगेको छ ।
![](http://samriddhasamaj.com/wp-content/uploads/2020/06/ilisha.jpg)
एकदमै नोक्सानी पुगेको अर्को क्षेत्र हो शिक्षा क्षेत्र । नेपालजस्तो देशको शिक्षा प्रणालीमा नै परिवर्तन ल्याउन असहज नै पर्छ । तर, केही निजी विद्यालयहरूले पनि निर्णय गर्दै अनलाइनमार्फत कक्षा सुरू गर्ने आँट गरे । त्यसै क्रममा हेटौंडामा अवस्थित मेरो विद्यालय नवोदय शिशु सदनले पनि अनलाइन कक्षाको सुरूवात गर्ने कुरा हामीलाई सूचित गरायो । सुरुमा त के गर्ला र भन्ने लागेको थियो । सूचना पाएको केहीदिनपछि नै कक्षाहरू सुरू हुनथाल्यो । अझ सहजताका लागि शिक्षकहरूले ह्वाट्स एपमा हरेक कक्षाको समूह बनाउनु भयो । त्यही कक्षाबाट नै म लगायत साथीभाइहरुलाई शिक्षकहरुले जोड्नु भयो ।
त्यसपछि विद्यालयले जुम एप्स पनि डाउनलोड गर्न लगायो त्यसमा अध्ययन गराउन विद्यालयले समय निर्धारण गरेर पढाउने विषय, शिक्षक र कक्षाको तालिका (रूटिन) तयार पार्यो । त्यही तालिका अनुसार जुममा हाम्रो कक्षा सञ्चालन हुने निधो भयो वैशाख ४ गतेबाटै ।
विद्यालयको समयमा दिनहुँ विद्यालय जाँदा कहिले अल्छी समेत लाग्ने भए तापनि यस लकडाउनको समयमा भने शिक्षकहरूसँगको अन्तरक्रिया, साथीभाइसँगको ठट्टाआफू बस्ने बेन्च, कक्षाकोठा अनि सिङ्गो विद्यालयको कताकता सम्झना भने आइरहेको थियो । अनि नयाँ कक्षामा जाँदाको अनुभव साटासाट गर्ने ठूलो धोको अपुरै भयो । तर, जुमले केही हदसम्म पनि त्यो न्यास्रो मेटाउन सक्यो । जुममा पढ्दै जाने क्रममा गृहकार्य गर्न अलि असहज भयो सुरुमा । विद्यालयमा पढेको अवस्था र यहाँ पढेको अवस्थामा धेरै नै फरक पाएँ सुरसुरुमा त । पछि पढ्न त पढिन्छ तर, गृहकार्य चाहिँ कसरी गर्ने भनेर प्रश्न उठ्न थाल्यो मेरो मनमा । म एक जेहेन्दार, परिश्रमी तथा इमान्दर विद्यार्थीको मनमा यस्ता खालका कुरा उठ्नु कुनै नौलो थिएन । तर, प्रविधिको जमाना न पर्यो । शिक्षकहरूले तुरून्तै गुगल क्लासरुम डाउनलोड गर्न लगाउनु भयो । विद्यालयकै कोर्सबुकमा व्यस्त हामी विद्यार्थी थोरै भए पनि प्रविधिसँग घुलमिल हुन पाएका थियौं । जति हुनुपर्ने थियो त्यतिभने अवश्य थिएन ।
नेपालमा अनलाइन कक्षालाई प्राथमिकता नदिने भएर पनि होला गुगल क्लासरुमको बारेमा म लगायत हाम्रा साथीहरु कसैलाई पनि थाहा थिएन । तर, शिक्षकहरूको निर्देशन पालना गर्दै हामी सम्पूर्ण विद्यार्थीले गुगल क्लासरुम डाउनलोड गर्यौं । त्यसपश्चात, शिक्षकहरूले त्यसको बारेमा पनि बुझाउनु भयो । गुगल क्लासरुममा पनि कक्षामा जस्तै गरेर जोडिने रहेछ । शिक्षकहरूले आ–आफ्नो विषयको कोड हामीलाई दिनुभयो । त्यही कोड हालेर हामी कक्षामा पनि प्रवेश भयौं र अहिले पनि त्यहीबाट गृहकार्य गर्दै आइरहेका छौं । अति नै सजिलो हुने रहेछ त्यस कक्षाबाट बुझाउन गृहकार्यहरु ।
शिक्षकहरूले पनि क्लासरूममा नै पठनपाठन सामग्री हाली दिनुभएको हुन्छ । हामी फुर्सदको समयमा मोबाइल हातमा पाउने बित्तिकै क्लासरूममा छिरिहाल्छौं । पहिले मोबाइल पाउँदा गीत सुन्न, गेम खेल्नतर्फ लाग्ने हामी अहिले त्यही सामग्री र प्रविधिले शिक्षाआर्जन गर्न नै अघि बढेका छौं । जुममा शिक्षकले क्लास लिनु पूर्व एकचोटी गुगल क्लासरुम गएर मात्र जुममा जाने गरेका छौं । त्यसो गर्दा जुम कक्षामा निकै नै सहज हुने रहेछ । जुम कक्षामा प्रवेश गर्दा शिक्षकहरुले हामी आफैंलाई अन्तरक्रिया गराएर पढाउने हुँदा निकै नै प्रभावकारी लाग्यो मलाई त । एकआपसमा गफ गर्दै, सोधपुछ गर्दै, सल्लाह गर्दै लेख्दा जुम कक्षा पनि प्रभावकारी नै भयो ।
अब विद्यालयमा शिक्षकसँगै मुखामुख गर्दै पढ्दै, सोध्दै गरेको जस्तो त अनलाइनमा पक्कै पनि हुँदैन । तर, यस्तो कठिन परिस्थितिमा पनि घरमा नै बसेर शिक्षा हासिल गर्न पाउँदा म व्यक्तिगत रूपमा एकदमै खुसी छु । आशा छ, हामी यस विषम परिस्थितिबाट छिट्टै पार पाउने छौं र सामान्य दिनचर्यामा फर्किने छौं । त्यसैगरी, सबैसँग भेट्दै लामो भलाकुसारी गनेछौं ।
कक्षा ः १०, नवोदयशिशु सदन, हेटौंडा–४, कमलडाँडा ।