हेटौँडा : मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा दहमा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्था उद्दार गरिएका ३ जना बालकको मृत्यु भएको छ । सोमबार दिनको साढे ५ बजेको समयमा अचेत अवस्थामा उद्दार गरिएका बालकहरुलाई पाटन अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सिस्नेरी खोलामा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेर अचेत अवस्थामा उद्दार गरिएको थियो । मृत्यु हुनेमा स्थानीय सुन्दर आचार्यका छोरा १४ वर्षका सुशान्त आचार्य र काभ्रेको फुलबारी दाप्चाबाट मामाघर (सुन्दर आचार्य) को घरमा आएका १५ वर्षका प्रमेश घोरसैनी र १४ वर्षका प्रभात घोरासैनी रहेका छन् । प्रमेश र प्रभात दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।
उपचारका लागि पाटन अस्पताल पु¥याएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिनुभयो ।











