कमल मैनाली

आर्थिक मन्दीका कारण सबै किसिमको आर्थिक क्षेत्र प्रभावित बनेको छ । घरजग्गा व्यवसाय सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । हिजो बैना लिएको जग्गा नामसारी नगर्दै अर्को क्रेतासँग बैना गरेर मनग्य आम्दानी गरेका व्यवसायी अहिले महिनाभर कुर्दा पनि एउटा कित्ता जग्गा नामसारी नहुने स्थितिको सामना गरिरहेका छन् । यसै सन्दर्भमा व्यवसायीले भोग्दै आएका समस्या र यी समस्या समाधान गर्न के गर्नुपर्ला भन्ने सन्दर्भमा मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष कमल मैनालीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः अहिले घरजग्गा व्यवसाय असाध्यै ठप्प भएको छ । यो अवस्थाबाट कसरी सहज हुँदै जान्छ भन्ने अनुमान गर्नुभएको छ ?
मैनालीः
अहिले घरजग्गा व्यवसाय मात्र नभएर सम्पूर्ण प्रकारका व्यवसायहरु ठप्प छन् । लगभग देश नै ठप्प भएको अवस्था छ । घरजग्गा व्यवसाय सरकारी नीति र राष्ट्रबैंकको नीतिलगायतमा भर पर्दछ । त्यसैले यसको सुधार र संरक्षणका लागि सरकारले राम्रो खालको नीति, नियम बनाएर अगाडि बढ्न जरुरी छ । साथै राष्ट्रबैंक तथा अरु बैंकले पनि यसका लागि व्यापारमा सरल कर्जा, घरकर्जा, जग्गा खरिद कर्जा जस्ता नीति, नियमहरु छिटोभन्दा छिटो बनाएर लागु गर्यो भने घरजग्गा व्यवसाय सुध्रिने सम्भावना देखिन्छ ।

समाजः बैंकमा पुँजी थुप्रिए पनि व्यवसायीहरुले कर्जा नपाउनुको कारण के हो ?
मैनालीः
बैंकबाट ऋण लिइसकेपछि हामीले त्यसको साँवा र ब्याज दुवै तिर्नुपर्छ । तर अहिले बैंकहरुको ब्याजदर उच्च भएको कारणले जुनसुकै व्यवसाय गरे पनि त्यो ब्याज तिर्न सक्ने अवस्था छैन । अहिले बजारमा सम्पूर्ण किसिमको व्यापारमा पूर्णरुपमा मन्दी छाएको अवस्थामा उच्च ब्याजदरमा ऋण लिएर व्यवसायमा लगानी गरी कमाएर बैंकको ब्याजदर पनि तिर्न नसक्ने अवस्था छ ।

समाजः सरकारले घरजग्गा व्यवसायलाई अनुत्पादक क्षेत्र भनेकै कारणले लगानीकर्ताहरु आकर्षित भएको देखिँदैन । यसमा लाभ हुने अवस्था नदेखेर नै लगानीकर्ताहरु आकर्षित नभएका हुन् त ?
मैनालीः
नेपालको प्रमुख उत्पादक क्षेत्र भनेको कृषि र उद्योगधन्दा नै हो । तर अहिलेसम्म यो पनि राम्रोेसँग फस्टाउन सकेको छैन । कृषिमा सम्भावना बढी भए तापनि अहिलेसम्म आकाशे खेतीमा भर पर्नुपर्ने अवस्था छ । मल, बीउविजनको अभाव त्यस्तै छ । भारत र चीनका उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगहरु पनि धमाधम बन्द भइरहेका छन् । यो घरजग्गा व्यवसायलाई अनुत्पादक क्षेत्र भन्न पनि मिल्दैन । यसबाट पनि आफ्नै खालका फाइदाहरु हुन्छन् । घरजग्गा व्यवसायले जग्गाको मात्र काम नगरी आवासीय भवनहरु, बाटोघाटो, थोरै जग्गामा धेरै मान्छे बस्न मिल्ने किसिमका संरचनाहरु पनि निर्माण गर्छ । यसबाट राज्यलाई पनि फाइदा भइरहेको हुन्छ । राज्यले ठूलो परिमाणमा राजश्व आम्दानी गरिरहेको हुन्छ ।

समाजः तपाइँहरु जग्गा प्लटिङको साथसाथै हाउजिङमा जाने प्रक्रियामा हुनुहुन्थ्यो । अहिले तपाईहरुको हाउजिङसम्बन्धी के कस्ता परियोजनाहरु रोकिएका छन् ?
मैनालीः
हामीले प्लटिङबाट हाउजिङमा जानुपर्छ भन्ने एक किसिमको सोच बनाएका थियौँ । लगभग हामीले कामको थालनी पनि गर्न लागिसकेका थियौँ । तर एकाएक आर्थिक संकट आइपरेकाले हामीले त्यो काम त्यही रोक्यौँ । त्यसपछि हामीले धेरै लामो समय पर्खिसक्दा पनि यो आर्थिक मन्दी सुध्रिने अवस्था पनि देखिएको छैन । विस्तारै यो आर्थिक मन्दीको अवस्था सुध्रियो भने हामीले हाउजिङ सम्बन्धी नयाँ कामको थालनी गर्नेछौँ ।

समाजः स्थानीय र प्रदेश सरकारको तर्फबाट कस्तो किसिमको सहयोग भयो भने तपाईहरुले व्यवसायलाई पूनर्जागृत गर्न सक्ने स्थिति बन्ला ?
मैनालीः
खासमा हामी स्थानीय र केन्द्रीय सरकारबाट स्वचालित हुन्छौं । प्रदेश सरकारको खासै भूमिका हुँदैन । नीति, नियम बनाउने स्थानीय तहले हो । मुख्यगरी केन्द्रीय सरकारको नीति र राष्ट्रबैंकको नीतिमा हाम्रो व्यवसाय भर पर्छ ।

समाजः घरजग्गा व्यवसायलगायत समग्र व्यवसाय सकारात्मक दिशातर्फ अगाडि बढ्नलाई राष्ट्रबैंकको भूमिका कस्तो रहनुुपर्ला ?
मैनालीः
राष्ट्रबैंकले मुख्यगरी व्यवसायी तथा सामान्य खरिदकर्ताहरुलाई कर्जा सुविधाहरु सहज गरिदिनुपर्छ । कर्जा सहजसँगसँगै ब्याजदर पनि सहुलियत गर्नुपर्छ । र घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्छ ।