
हेटौँडा : गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकको हत्या तथा विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कारवाहीको माग गरेको छ ।
सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समिति र प्रदेश समितिको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कारवाहीको माग गरेको हो । मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईँले राजावादीहरुको प्रदर्शन उग्र बन्दा समाचार संकलनका क्रममा पत्रकारको हत्या र आमसञ्चार माध्यममा आक्रमण हुनु दुःखद भएको बताउनुभयो ।
उहाँले शुक्रबारको घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु नभई हत्या भएको दावी गर्नुभयो । पत्रकार हत्या, कुटपिट र सञ्चारगृहमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न जो कोहिलाई तत्काल पक्राउ गरी दोषीलाई कडा भन्दा कडा कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न उहाँले मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष माग गर्नुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दनुहुँदै मुख्यमन्त्री लामाले आमसञ्चार क्षेत्र र प्रदेश सरकार दुबै लोकतन्त्रको अभिन्न अंग हुनुका साथै एकअर्काको परिपूरक भएकाले राजावादीको नाममा सञ्चार क्षेत्रमा भएको आक्रमणको विरोध गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारका तर्फबाट आफुले पत्रकार र सञ्चारगृहका सुरक्षाका लागि खेल्नुपर्ने भूमिकाको लागि सदैब तत्पर रहेको स्पष्ट पार्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारीले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण नियोजित रूपमा भएको र यस्तो निन्दनीय कार्यको पत्रकार महासंघ मकवानपुरले घोर भत्र्सना गर्ने बताउनुभयो । उहाँले नागरिक समाजको अग्रणी संस्थाको रूपमा रहेको पत्रकार महासंघ राजनीतिक रंगमा हुने अवाञ्छित र अराजक गतिविधि सदैव विरोधमा रहेको उल्लेख गर्दै दोषी उपर कडा कारवाहीको माग गर्नुभयो ।
ध्यानाकर्षणपत्र बुझेपछि मकवानपुरकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि आम सञ्चार क्षेत्रमाथि भएको आक्रमणबाट आफु दुःखी भएको उल्लेख गर्नुहुँदै पत्रकारिता क्षेत्रको सुरक्षाका लागि आफू तयार रहेको र पत्रकारहरुको माग माथिल्लो तहसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाल लगायत विभिन्न पत्रकार संगठनका प्रमुख एवम् प्रतिनिधि तथा जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।