हेटौंडाः मकवानपुरमा रहेको इन्द्रसरोवर गाउँपालिकामा भएको निःशुल्क आँखा शिविरमा २ सय ७५ जनाले सेवा लिएका छन् । इन्द्रसरोवर गाउँपालिकामा सञ्चालित ३ दिने आँखा शिविरको दोस्रो दिन २ सय ७५ जनाले शिविरको सेवा प्राप्त गरेका इन्द्रसरोवर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो ।
बिहीबार इन्द्रसरोवर गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा २ स्थानमा निःशुल्क आँखा शिविर हुँदा २ सय ७५ जनाले शिविरमा जाँच गराएका थिए । आँखा शिविर सिस्नेरी स्वास्थ्य चौकी र मार्खु स्वास्थ्य चौकीमा भएको थियो । सिस्नेरी स्वास्थ्य चौकीमा भएको शिविरमा १ सय ४१ जनाले आँखा जाँच गराएका थिए । जाँच गरेका १ सय ४१ जनामध्ये १६ जनामा मोतिविन्दुको समस्या देखिएको थियो । इन्द्रसरोवर गाउँपालिकाका १ नम्बर वडा अध्यक्ष प्रताप भोम्जनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको स्वास्थ प्रमुख अधिकारीले बताउनुभयो ।
यस्तै, मार्खु स्वास्थ्य चौकीमा भएको शिविरमा १ सय ३४ जनाले सेवा प्राप्त गरेका छन् । जाँच गराएका १ सय ३४ जनामध्ये १५ जनामा मोतिविन्दुको समस्या देखिएको छ । शिविर उद्घाटन कार्यक्रम गाउँपालिकाका १ नम्बर वडा अध्यक्ष सुवास थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो । अधिकारीका अनुसार निःशुल्क आँखा शिविरबाट पहिचान भएका ३१ जना मोतिविन्दु बिरामीहरुको इन्द्रसरोवर ग्रामीण आँखा केन्द्रले कुलेखानीमा १३ गते शनिबार निःशुल्क शल्यक्रिया गर्नेछ ।