रामशरण रिजाल, प्रधानाध्यापक, माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कूल

हेटौँडा–८, कमानेस्थित माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कूलले विद्यार्थीको प्रभावकारी सिकाईका लागि रचनात्मक कार्य गर्दै आएको छ । विद्यालय तहको शिक्षामा महत्वपूर्ण सुधारका लागि मकवानपुरका केही विद्यालयले सकारात्मक अभ्यास गरिरहेका छन् । माउण्ट एभरेष्टले पनि सुधारका प्रयास गरिरहेको छ । विद्यालयको शैक्षिक क्रियाकलापमा गर्दै गएको सुधारको विषयमा केन्द्रित भएर समृद्ध समाजका लागि सुप्रभा शर्माले माउण्ट एभरेष्टका प्रधानाध्यापक रामशरण रिजालसँग गरिएको कुराकानीको सम्पादित अंशः

समाजः विद्यालयको पठनपाठन कस्तो चल्दैछ ?
रिजालः
कोभिडको समय पछाडि त पठनपाठन बिग्रेको अवस्थामा पुगिसकेको थियो । त्यस समयमा विद्यार्थीको ध्यान डिजिटल प्रविधिमा धेरै लाग्ने पाएको थियो । हाल पठनपाठन ठिक ठाउँमा आएको पाउँछु ।

समाजः विद्यालयको प्रथम त्रैमासिक परीक्षा पनि सकिसकेको छ । यसबाट तपाईहरुको के कस्ता योजना बनाउनुपर्ने जस्तो लाग्छ ?
रिजालः
हामीले आसारको अन्तिममा परीक्षा सम्पन्न गर्यौं भने साउन महिनामा नतिजा प्रकाशन गर्यौं । हामीले विद्यार्थीको नतिजालाई दुइ भागमा विश्लेषण गरेका छौं । पहिलो भनेको १०० पूर्णाङ्कमा ५० नम्बर विद्यार्थीले कक्षामा पढेका विषयवस्तुको बारेमा उनीहरुले उत्तर दिन सक्छ कि सक्दैनन् भनेर हेरेका छौं । ५० नम्बर विद्यार्थीको व्यवहार, विद्यार्थीको विद्यालयमा उपस्थितिलाई हेरेका छौं । कक्षा नर्सरीदेखि २ कक्षाका विद्यार्थीका अभिभावक विद्यालयमा उपस्थिति कस्तो छ भनेर मूल्याङ्कनका लागि १० अङ्क विद्यालयले छुट्याएको छ । केही विद्यार्थीका बाहेक सबै विद्यार्थीको नतिजा राम्रै पाएका छौं ।

समाजः यो त प्राथमिक तहको विद्यार्थीका कुरा भयो, तपाईले मावि तहको विद्यार्थीको नतिजालाई कसरी लिनुभएको छ ?
रिजालः
मावि तहमा पनि हामीले कक्षा ८ देखिका विद्यार्थीको नतिजालाई बाँडेका थियौं । कक्षा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीको परीक्षा प्रणालीलार्ई भन्दा पनि व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइरहेका छौं । हरेक महिना विद्यार्थीका अभिभावकको बैठक राख्छौं । त्यस बैठकमा अभिभावकको कति सहभागिता छ भनेर हेर्छौं । त्यसैको आधारमा विद्यार्थीको प्रयोगात्मक नम्बर चढाउने गरेका छौँ । त्यसैगरी महिनाको एक चोटि विद्यार्थीका कक्षामा बसेको बेलाको गतिविधि, क्रियाकलाप र विचारलाई सुन्छौं र त्यसकै आधारमा नम्बर दिने गरेका छौं । कक्षा १० का विद्यार्थीको परीक्षा बाहिर हुने भए तापनि उनीहरुसँग पढाईको स्तरका कुरालाई हामी शिक्षकहरुबीच छलफल गरेर विद्यार्थीलाई सल्लाह दिन्छौँ ।

समाजः तपाइँहरुको योजना कसरी बन्छ ?
रिजालः
योजना बनाउनका लागि हामीसँग ५ जनाको टीम छ । यस्तो कुरा हाम्रो विद्यालयका प्रधानाध्यापक, विद्यालय सञ्चालक र लगानीकर्ताले मात्र गर्दैनौं । हाम्रो त्यस्ता विषयलाई बनाउने व्यक्ति शिक्षक पनि हुनुहुन्छ । उहाँहरु ५ जनाले हरेक निर्णय गर्ने गर्छ ।

समाजः विद्यालयले हासिल गरेको उपलब्धी के छन् ?
रिजालः
हाम्रो विद्यालय प्रशासनका निर्णय बनाउने क्रममा विद्यालयका प्रधानाध्यापक, कर्मचारीहरुबाट १ जना र विद्यार्थीहरुबाट २ जना र ५ जना विद्यालय प्रशासनसँगै राखेर ७ जनाको हामीले समूह बनाउँछौं । हामीले विद्यार्थीलाई सँगै राखेर काम गर्दा त्यसले धेरै नै मूल्यांकनमा सहयोग पुगेको जस्तो लाग्छ । पहिलो खुसी कहाँनिर भयौं भने विद्यार्थीको कुरा प्रधानाध्यापकका अगाडि राख्न पायो भन्ने कुराले खुसी हुन्छ भने हामीले महिनाको एक चोटि बैठक राख्ने गरेका छौं । त्यस बैठकमा उनीहरुले साथीहरुको कुुरालाई लिएर आउने गर्छन् । विद्यार्थीका अभिभावकहरुबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । यसैगरी नगरपालिकाले बालमैत्री घोषणा गर्ने भनिएको छ । त्यसैले हामीले बाल समूहका पदाधिकारीहरुबाट धेरै कामहरु अगाडि बढाइरहेका छौं । हामीले शुक्रबार परीक्षा लिने भन्यो भने विद्यार्थीलाई कुरा सुन्ने २ जना शिक्षक प्रतिनिधि हुनुहुन्छ । उहाँहरुले विद्यार्थीलाई सोधेर मात्रै लिने गर्नुभएको छ । पाठको परीक्षा लिने क्रममा पनि कुन दिन लिने भनेर विद्यार्थीलाई सोध्छौं र विद्यार्थीले भनेको समयमा हामीले परीक्षा लिने गरेका छौं । यसले गर्दा विद्यार्थी र शिक्षक उत्साहित भएको पाएको छ ।

समाजः विद्यालयमा यस्तो कुरा राम्रो छ भनिरहँदा पनि तपाइलाई के कुरा राम्रो नभएको जस्तो लागेको छ ?
रिजालः
मैले नेतृत्व गरेको विद्यालयमा दुइवटा कुराको कमजोरी पाएको छु । पहिलो भनेको शिक्षक आवश्यकता भनेको विज्ञापनमा ८/१० जना आउनुहुन्छ होला । त्यसपछि हामीले लिखित परीक्षा लिने मौखिक परीक्षा लिने र कक्षाकोठा अवलोकन गर्ने विषय राखेका हुन्छौं । कहिलेकाहीँ विज्ञापन गर्दा कोही पनि आउनुहुन्न । त्यसबाट हामीलाई के कमजोरी लाग्छ भने हामीले गरेका कार्यको बारेमा समाजमा फिजाउन नसकेको कमजोरी देख्छु भने अर्काे कमजोरी भनेको विद्यालयले उठाउने गरेको फी अभिभावकबाट छिट्टै नपाएर कुराले विद्यार्थी र शिक्षकलाई प्रत्यक्ष असर परेको हो जस्तो लाग्छ ।

समाजः विद्यालयमा शिक्षक र विद्यार्थीबीच कस्तो सम्बन्ध रहेको पाउनुभएको छ ?
रिजालः
हाम्रो विद्यालयमा शिक्षक र विद्यार्थीबीच समधुर सम्बन्ध रहको पाएको छु ।