हेटौंडा : साधारण धारतर्फका विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको छ । चैत ७ गतेबाट सुरु भएको एसईईमा सहभागी साधारण धारतर्फका विद्यार्थीको परीक्षा शुक्रबार सकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिनुभयो ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा मकवानपुरका एक सय ५९ परीक्षार्थी अनुपस्थित भएका थिए । दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा एक सय ३९ विद्यार्थी अनुपस्थित भएका छन् । यस्तै, १० गते अनिवार्य गणित विषयको परीक्षामा एक सय ६५ विद्यार्थीले परीक्षा नदिएको प्रमुख गिरीले जानकारी दिनुभयो ।

१२ गते विज्ञान विषयको परीक्षामा २ सय २७ परीक्षार्थी अनुपस्तिथ भएको छन् । सबैभन्दा बढी विज्ञान विषयमा परीक्षार्थी अनुपस्थित भएका हुन् । १३ गते सामाजिक अध्ययन विषयमा एक सय ६७, १४ गते ऐच्छिक प्रथम विषयको परीक्षामा एक सय ८२ जना र १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षामा एक सय १५ जना अनुपस्थित भएको उहाँले बताउनुभयो ।

मकवानपुरका एक सय ३९ विद्यालयबाट ७ हजार ४ सय ८१ विद्यार्थीले एसईई परीक्षा आवेदन फारम भरेका थिए । एसईईका लागि जिल्लामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । प्राविधिक धारतर्फका विद्यार्थीको परीक्षा भने बाँकी रहेको इकाई प्रमुख गिरीले जानकारी दिनुभयो । परीक्षा व्यवस्थित, शान्त र मर्यादितरुपमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।