चैत १५ गते काठमाडौंको तीनकुने आसपासमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बन्यो । एकै दिन गणतन्त्रवादी र राजावादीले काठमाडौं उपत्यकामा प्रदर्शनको कार्यक्रम राखेपछि सरकारले दुबै पक्षलाई प्रदर्शन गर्न फरक फरक स्थान तोक्यो । समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गणतन्त्रको पक्षमा भृकुटी मण्डप क्षेत्रमा प्रदर्शन तथा सभा गर्यो । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईको समूहलगायतले राजतन्त्रको पक्षमा तीनकुने क्षेत्रमा प्रदर्शन गर्यो । तीनकुने क्षेत्रबाट प्रदर्शनकारी निषेधित क्षेत्र बानेश्वरतर्फ जान प्रयास गरेपछि प्रहरीसँग घम्साघम्सी भयो । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी उग्र बने । राजावादी प्रदर्शनको नेतृत्व गरिरहेकाहरु अश्रुग्यासबाट तितरबितर भएपछि प्रदर्शनकारीहरु तोडफोड, आगजनी, हिंसा र लुटपाटमा सक्रिय भए ।

तीनकुने क्षेत्रका घर तथा पसल तोडफोड र आगजनी सुरु भयो । उनीहरुले कान्तिपुर, अन्नपूर्ण पोष्टलगायत मिडियाका कार्यालयमा पनि तोडफोड गरे । प्रहरी लुकेको भन्दै प्रदर्शनकारीबाट व्यक्तिगत घरमा आगजनी गरियो । प्रदर्शनकारीले दमकल, सञ्चार माध्यमका गाडी तथा अन्य गाडीहरु तोडफोड गरे, जलाए । कोटेश्वरको भाटभटेनी सुपर स्टोरमा छिरेर तोडफोड तथा लुटपाट मच्चाए । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगो लगाए । एयरपोर्टको बाहिरी भागमा पनि आगजनी गरे । त्यतिमात्र नभई नेकपा समाजवादीको पार्टी कार्यालय तोडफोड र आगजनी गरे । उक्त घटनामा एक जना प्रदर्शनकारी र एकजना सञ्चारकर्मीको ज्यान गयो । दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भए । त्यस क्षेत्रमा दिनभरजस्तै प्रदर्शनकारीले धेरै विध्वंश मच्चाए । हिंसात्मक गतिविधि बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ः३० बजेबाट कोटेश्वर आसपासका क्षेत्रमा कफ्र्यु लगायो ।

मुठभेड र झडपको सम्भावनालाई मध्यनजर गरेरै सरकारले गणतन्त्रवादी र राजावादी पक्षका प्रदर्शनकारीलाई भेट्नै नदिने रणनीति अपनाए पनि राजावादी प्रहरीसँग मुठभेडको स्थितिमा पुग्यो । प्रहरीले प्रदर्शनकारी चौतर्फी घेराबन्दी गरेर हिंसात्मक गतिविधि रोक्नभन्दा तीनकुनेबाट बानेश्वरतर्फ जान नदिन आफ्नो शक्ति केन्द्रित गर्यो । आन्दोलनको नेतृत्व गरेर प्रदर्शनकारीको क्रियाकलाप संयमित बनाउनुपर्ने राजावादी दल र समूहका अगुवाको अनुपस्थितिमा एकपछि अर्को अराजक गतिविधि भइरह्यो । विगतमा थुप्रै जनधनको क्षति बेहोरेर निरन्तरको जनआन्दोलनबाट राजतन्त्र अन्त्य गर्दै गणतन्त्र ल्याइएको हो । झण्डै २ सय ४० वर्षसम्म शासन गरेको शाहवंशीय राजतन्त्र फालेर गणतन्त्र ल्याइएको दुई दशक पनि नहुँदै फेरि राजतन्त्र ल्याउने भन्दै प्रदर्शन हुनु देश र जनताको लागि विडम्बना हो । संसारकै उत्कृष्ट शासन व्यवस्था भन्दै ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति आम नागरिकले गर्न सेकका छैनन् । नागरिकको त्यही असन्तुष्टिलाई राजावादीले ‘क्यास’ गर्न खोजेकाले उनीहरुको आन्दोलन हिंसात्मक बनेको हो ।

हिंसात्मक आन्दोलनले कसैको हित गर्दैन । राजावादीको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष छानविन र दोषीलाई कारबाही हुनुपर्छ । लोकतान्त्रिक शासन व्यवस्थामा विरोधका स्वरहरु गुञ्जनु स्वभाविक हो । तर, विरोध प्रदर्शनको नाममा हुने हिंसात्मक गतिविधिले स्थिति भयावह हुनेतर्फ आन्दोलनरत दल र समूह सचेत बन्नुपर्छ । आन्दोलनलाई हिंसात्मक बन्न नदिन सरकार पनि गम्भीर हुनु आवश्यक छ । अहिले राजावादीबाट राजा फर्काउने भन्दै सुरु भएको आन्दोलन रोक्न सरकारले आवश्यक पहल गर्नुपर्छ । मूलधारका राजनीतिक दलहरुप्रतिको वितृष्णा र राजावादीको उक्साहटले आगामी दिनमा यस्ता हिंसात्मक आन्दोलन चर्किने सम्भावनालाई सम्बद्ध पक्षहरुले समयमै विचार पुर्याउनु उचित हुनेछ ।