हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा परीक्षा दिँदै परीक्षार्थी । फाइल तस्वीर ।

हेटौँडा : राजवादीको आन्दोलनका कारण शिक्षक सेवा आयोगले शनिबार लिएको माध्यमिक तह शिक्षक छनोटको परीक्षामा पनि नकारात्मक असर देखिएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट परीक्षामा सहभागी हुन आवेदन दिएका मध्ये शनिबार हेटौँडामा भएको परीक्षामा ३० प्रतिशत परीक्षार्थी अनुपस्थित भएका छन् ।

माध्यमिक तह शिक्षक परीक्षाका लागि बागमती प्रदेशका १३ जिल्लाबाट सात हजार छ सय ४६ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये पाँच हजार तीन सय १३ जनाले मात्रै परीक्षा दिएका छन् । शुक्रबार राजावादीको आन्दोलनका कारण काठमाडौं तनावग्रत भएपछि उल्लेख्य संख्यामा परीक्षार्थी परीक्षा दिनका लागि परीक्षा केन्द्र हेटौँडा आउन समस्या भएका कारण अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकारीको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय इकाई हेटौँडाले हेटौँडा बजार क्षेत्र र आसपासका १६ वटा विद्यालयमा परीक्षा सञ्चालन गरेको थियो । दिउँसो १ बजेदेखि १ घण्टा परीक्षा सञ्चालन भएको थियो । १ घण्टाको अवधिमा परीक्षार्थीले १ सय पूर्णाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने थियो । प्रारम्भिक परीक्षाको रुपमा शनिबार लिइएको परीक्षामा ४० भन्दा बढी अंक हासिल गर्ने परीक्षार्थीले दोस्रो चरणमा हुने विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् ।

शनिबार भएको प्रारम्भिक परीक्षाको नतीजा शिक्षक सेवा आयोगले एक महिनाभित्र सार्वजनिक गर्दै दोस्रो चरणको परीक्षाको तालिका समेत सार्वजनिक गर्नेछ । परीक्षार्थीले शनिबार भएको प्रारम्भिक चरणको परीक्षामा उत्तीर्ण हुँदा प्राप्त भएको अंकको आधा अंक दोस्रो चरणको परीक्षाको प्राप्ताङ्कमा समेत जोडिएर अन्तिम मूल्यांकन हुनेछ ।

बागमती प्रदेशबाट माध्यमिक तहमा नेपाली विषयमा ६ जना, अंग्रेजी विषयमा १४ जना, गणित विषयमा २१ जना, विज्ञान विषयमा २३ जना, सामाजिक अध्ययनमा ७ जना, अर्थशास्त्र विषयमा २ जना, कार्यालय सञ्चालन तथा लेखा विषयमा ३ जना, संस्कृत व्याकरण विषयमा १ जना र सिद्धान्त ज्योतिष विषयमा १ जना शिक्षक छनोटका लागि परीक्षा भएको हो ।