पत्रकार सम्मेलनको क्रममा खचिएको तस्वीर ।

हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित मानसेवा आश्रमले चैत १७ गतेदेखि २४ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ गर्ने भएको छ । शुक्रबार मानवसेवा आश्रमको मुख्य कार्यालयमा पत्रकार सम्मेलनमार्फत् आश्रमले १० करोडको अक्षयकोष निर्माणका लागि सप्ताह लगाउन लागेको जानकारी दिएको छ ।

आश्रमको क्षमता अभिवृद्धि एवम् आर्थिक सहयोग जुटाउने र मानवता प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले सप्ताह लगाउन लागिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । किचेन कोल्डस्टोरसहितको भवन निर्माण गर्न, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्न, आगामी वर्षसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको संकल्प पूरा गर्नका लागि महायज्ञ आयोजना गर्न लागेको उहाँको भनाइ छ ।

चैत १७ गते पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित विशाल शोभा कलशयात्रा गरिने उहाँले बताउनुभयो । चैत १८ गतेदेखि २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रवद्र्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम हुनेछ । बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमलनयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौंडामा गर्न लागेको हो ।