समाजका मसिना विषयवस्तुलाई कथानकको रुपमा टिप्दै सरल ढंगबाट गम्भीर सन्देश प्रवाह गराउन सक्ने कथाकार सुरज धड्कन दार्जलिङे बलशाली र पोख्त कथाकार हुनुहुन्छ । सशक्त कथा लेखनमा लागी पर्नु भएका सुरज धड्कनद्वारा लेखिएको ‘नगाईएको कोरस’ कथा सङ्ग्रहमा ११ वटा कथा समाविष्ट गरिएको छ ।
दार्जलिङकै परिवेशमा लेखिएका कथाहरुमा त्यतैको जीवनशैली र भोगाईको प्रत्यक्ष प्रयोग गरिएको पाईन्छ । गोर्खाल्याण्ड प्राप्तिका लागि गरिएको संघर्ष र पीडाहरुको स्पष्ट चित्रहरु कथामा देखाईएको छ । राजनीतिक खिचातानी, आपसी मनमुटाव र व्यक्तिगत ईष्र्यालगायत कुराबाट एकता कमजोर भएको कुरा देखाईएको छ । निरंकुश शासकहरु जनताको गरिबीलाई पैसाले किन्न खोजेको यथार्थ प्रस्तुत गरिएको छ ।
सरल ढंगबाट मृत्युको खेल खेलिएको, गड्यौँलालाई जनता मानिएको र आफ्नो भूमिको प्रप्तिको लागि जनता लागी परेको कुरा कथाले प्रष्ट्याएको छ । आफ्नो थातथलो छोडेपछि जोकोहिको मृत्यु हुने कुरालाई यसरी देखाईएको छ । ‘यहि माटो छोडेर निस्केपछि गड्यौँलाको मृत्युलाई कसैले रोक्न सक्दैन ।’ (गड्यौँला र गोर्खाल्याण्ड पेज नं. २५) ‘अनु दिदी कथामा अनुहरुको रहस्यमय रुपमा हराएको कुरा देखिन्छ । श्रीमती घरमा भएर पनि अरु केटीलाई जिस्काउने नेपाली समाजका पात्रहरुलाई ‘अकथित कथाले छर्लङ्ग पारको छ । अहमले भरिएको हेडसरको आफ्नै छोरी ऋतिकाले शिर झुकाउन बाध्य पारेकी छे । अरुको बेईज्जत गर्न खोज्ने हेडसर अन्तमा ग्लानीले भरिएका छन् ।
मानसिक रुपले विक्षिप्त हेडसरको चरित्रलाई ‘हेडसरको कोट’ कथाले प्रष्ट पारेको छ । यौनका अनौठो चाह रेणु अन्टीमा देखिन्छ । उनी अतृप्त रहेको कुरा ‘एउटा अप्ठ्यारो कथा’ भित्र देखाईएको छ । पैसाको आडमा धर्मराजहरु निरंकुश बन्दै गएको र जनतालाई गुन्डागर्दी शैलीमा आफ्नो आधिपत्य जमाएका छन् । निलिमा भाउजु जस्ता पात्रहरु जनताको चेतनाको स्तरलाई उकास्न खोजे तापनि जनता एक पेग रक्सीमा ईमान बेच्न तयार भएको तितो सत्यलाई ‘भ्यागुता’ कथामार्फत उजागर गरिएको छ ।
‘दिन धाएको रात’ कथामा शैलेन्द्र र जिनीताको कथा छ । उ भन्ने भाई पात्रले अर्काकी श्रीमती भगाएको छ । शैलेन्द्रले आफ्नै श्रीमती जिनीतामाथि आशङ्का गरेको कुरा प्रष्ट भएको छ । ‘फोटो’ कथा नेपाली समाजको यथार्थतालाई देखाउन खोजिएको उत्कृष्ट कथा हो । पल्लवीको घर नबिग्रियोस् भनेर कल्पनाले सुरजको बिगत कोट्याउन चाहँदिन । उनको महानताले नै कथा उत्कृष्ट बनेको छ । कल्पनासँग अवैध सम्बन्ध राख्ने सुरजले शिर झुकाएको छ र अन्तमा हारेको अनुभव गरेको पाईन्छ । ‘समय–संस्करण’ आमा राधाले सँगै रहेर पनि व्यस्त छोरा दिवाकरसँग गफ गर्न नपाएको मनको वह पोख्न नपाईको यथार्थ पस्केको पाईन्छ । अहिलेको सूचना र प्रविधिको युगले मानिसको सम्बन्धमा विकराल रुप लिएको तितो सत्यलाई सुरज धड्कनले यसरी प्रस्तुत गरेका छन् ।
–‘साईवर युगको त्रासद ध्वनिबीच हराएको थियो आत्मीयताको स्वर कतै ।
–(समय–संस्करण, पेज नं. ९१)
अन्तमा आमाले छोरालाई आफ्नो कुरा ई–पत्रमार्फत पठाउन खोजेको अत्यन्त दुःखद दृष्यलाई कथाले समेटेको छ । कल्पनात्मक, उडन्ते भूतको कथा ‘टुकटुके दाजुको भूत’ कथा हो ।
समग्रमा नेपाली समाजको यथार्थ कथाहरु समेटिएको बालबालिकाको बाल सुलभ र आत्मीयताको प्रदर्शन गरिबीको समस्या, राजनैतिक अस्थिरता, मानवीय सम्बन्धमा ह्रास, नारी हिंसाको स–साना दृष्य र केही मनोरञ्जनात्मक अनुभूतिजन्य काल्पनिक कथाहरु भित्रका सपाट सौन्दर्य कथामा पाईन्छ । सरल, सहज र उत्कृष्ट भाषाशैलीको प्रयोग गर्दै लेखिएका कथाहरु व्यक्तिको भावनासँग प्रत्यक्ष प्रभाव पार्ने कुराहरु हुन् । खारिएका लेखक धड्कनको कलममा जादुयी तागत भेटिन्छ भने कथामा पाठकलाई तान्न सक्ने प्रवल शक्ति भेटिन्छ । यसर्थ कथा बनोटमा सचेत सुरजका कलमहरुले अझै उत्कृष्ट कथा लेखनमा अगाडि बढ्न सकोस् । सफलताको सदैव शुभकामना ।
(लेखक साहित्य सङ्गम मकवानपुरका सचिव हुनुहुन्छ ।)