अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अधिकांश मानिसहरु विभिन्न उपकरण जस्तै मोबाइल, कम्प्युटर, ल्यापटप आदिमा अभ्यस्त भैसकेका छन् । अहिले मोबाइल नचलाउने सायद विरलै होलान् । मोबाइल यस्तो साधन हो जसको सही प्रयोग गरेमा मानिसको जीवनमा सहयोगी हुने र खराब तरिकाले प्रयोग गरेमा हानिकारक हुन्छ । तर बालबालिकाका लागि भने यो साधन अहिले नकारात्मक असर पार्ने साधन बनिरहेको छ ।

मोबाइलका पिता मार्टिन कुपर आफैँले भनेका छन् कि मोबाइलले गर्दा मानिसले आफ्नो मगज गुमाइसकेको छ । सामान्य मानिसका लागि उनको भनाइ यति गम्भीर छ भने अझै बालबालिकाको सन्दर्भमा कति संवेदनशील रहला ? पहिले पहिले बालबालिका परिवार, आफन्त, साथीभाई तथा छिमेकीसँग घुलमिल र परिचित हुन्थे तर कोरोना महामारी पश्चात यस्तो परिवेश बदलिएको छ । कोरोनाको कारण बालबालिकाका लागि अनलाइन कक्षाको शुरुवात भयो त्यसपश्चात उनीहरु मोबाइलसँग अत्यन्तै निकट हुन थाले । अनलाइन कक्षाका लागि अधिकांश घर परिवारमा इन्टरनेट जडान गरियो । मोबाइल, ल्यापटप, ट्याब तथा कम्प्युटर बालबालिकाका शैक्षिक सामग्री बन्न पुगे ।

रुविआ पराजुली
कक्षा–८, बुढानिलकण्ठ स्कुल, काठमाडौं

अनलाइन कक्षामा सहभागी भएर पठनपाठन गर्ने कतिपय बालबालिकाले राम्रोसँग अवसरको सदुपयोग गरे भने कतिपय बालबालिकाले अध्ययन गर्ने समयमा मोबाइल, ल्यापटप लगायतका साधनको दुरुपयोग गरे । अध्ययन भन्दा बढी सामाजिक सञ्जालको प्रयोग गर्न थाले । पढाइ लेखाइ तथा क्रियाशीलता भन्दा मोबाइलको लत बढी भयो । यतिसम्म देखियो कि परिवारमा कोही आउँदा पनि कुनै चासो नदेखाउने, अभिभावकसँग घुलमिल नहुने, एकोहोरो हुने जस्ता व्यवहार देखिन थाले । यसले शारीरिक, मानसिक र संवेगात्मक विकासमा असर पुग्न गयो ।

कोरोना महामारी पश्चात विद्यालय खुलेपनि अधिकांश बालबालिकाको रुची पढाइमा भन्दा पनि सामाजिक सञ्जालमा रह्यो । घरमा धेरैजसो समय मोबाइल चलाउनमै प्रयोग हुन थाल्यो । मोबाइलमा खेल खेल्न र सामाजिक सञ्जाल चलाउन बालबालिका इच्छुक भए । यसमा अभिभावकको पनि ठूलो भूमिका रहेको छ । अभिभावकले बालबालिकाको काम कारवाहीको निगरानी नगर्दा पनि यस्तो परिणाम देखिएको हो । अभिभावकले आफ्ना छोराछोरीको के गर्दै छन्, कहाँ छन् भनेर बेवास्ता गर्ने तथा आफैँ पनि छोराछोरीको सामू मोबाइल चलाउने, टिकटक बनाउने, सामाजिक सञ्जालमा घण्टौं समय बिताउने गर्नाले पनि बालबालिकामा समेत यसको असर परेको हो ।

कुनै समस्या छ भने त्यो सँगै समाधानका उपाय पनि हुन्छन् । बालबालिका भनेका काँचो माटो जस्तै हुन् । जस्तो स्वरुप प्रदान ग¥यो त्यस्तै बन्न सक्छन् । त्यसैले उनीहरुलाई राम्रो वातावरण प्रदान गर्न सकेमा भविष्य उज्ज्वल हुन्छ । यसका लागि अभिभावक सचेत रहनु पर्दछ । आफ्ना सन्तान के गर्दैछन्, कहाँ छन्, कस्तो साथीको संगत गर्दैछन् भन्ने लगायतका विषयमा निगरानी गरिरहनु पर्छ । हरपल आफ्नो छत्रछायाँमा राख्नु पर्दछ ।
कुनैपनि बालबालिकालाई बाल्यावस्थादेखि नै असल र अनुशासित बनाउन अभिभावक, परिवार तथा शिक्षकको भूमिका रहेको हुन्छ । बालबालिकालाई राम्रो र गुणवान बनाउन आफू पहिला उनीहरुका लागि सिकाइको स्रोत बन्न उपयुक्त हुनुपर्दछ । असल अभिभावकत्वले मात्र बालबालिकालाई असल बन्न उत्प्रेरणा प्रदान गर्ने भएकोले सबैले यस्ता विषयमा ध्यान दिनुपर्दछ ।

छोराछोरीको अगाडि बसेर मोबाइल चलाउने, विभिन्न सामाजिक सञ्जालमा व्यस्त भैरहने जस्ता कार्य गर्नु हुँदैन । उनीहरुसँग गफ गरेर, उनीहरुका कुरा÷जिज्ञासा सुनेर, मित्रवत व्यवहार प्रदर्शन गरेर, सँगै खेल खेलेर रमाउन र सिकाउन सकेमा खराब बाटोमा लाग्नबाट जोगाउन सकिन्छ । मोबाइलको प्रयोग गर्नु नै हुँदैन भन्ने पनि होइन, यसको सही मात्रामा प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट ज्ञान विज्ञानका कुराहरु, पढाइलाई सहयोग पुग्ने कुराहरु सिक्न सकिन्छ । पुस्तकको अध्ययनबाट प्राप्त गर्न नसकेका कुराहरु मात्र मोबाइलबाट अध्ययन गर्न यसको प्रयोग गर्नुपर्दछ । मोबाइलमा खेल खेलेर वा सामाजिक सञ्जालमा भुलेर बस्नु हुँदैन । बालबालिकाले आफ्नो लागि उपयुक्त विषयमा मात्र चासो दिनुपर्छ । यसो गरमा बालबालिकाका लागि मोबाइल एक सहियोगी साधन बन्न पुग्छ ।