हेटौंडाः राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सहकारीको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभालाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले यो सहकारी अन्य सहकारीजस्तो नभएको भन्दै सहकारीको सदस्य फरक हुनुपर्ने बताउनुभयो । उहाँले रोजगारी आफैंले सृजना गर्ने भन्दै राज्यले संरक्षणमात्र गर्नसक्ने बताउनुभयो । राज्यले सबै जनतालाई रोजगार दिलाउन असम्भव भएको उहाँको भनाइ छ ।
देशमा तीन वटा राम्रो सहकारी खोज्नु परेमा राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी पनि एक भएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले बताउनुभयो । उहाँका अनुसार सो सहकारी निस्क्रिय हुनसक्ला, तर अन्य सहकारीजस्तो ठगीको मुद्दा खेप्ने अवस्थामा नपुग्ने दावी गर्नुभयो ।
सहकारीका अध्यक्ष यादवेन्द्र पौडेलको सभाध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा साधारणसभा भएको थियो । साधारणसभामा सहकारीका जेष्ठ सदस्य खिलाकुमारी लामिछाने र गोकुललाल श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै, नियमित बचत किस्ता भुक्तानीकर्ता २५ जना र समयमै किस्ता तिर्ने १० ऋणीलाई पनि सम्मान गरिएको थियो ।
हाल सहकारीको जम्मा बचत रकम ७ करोड ८ लाख २३ हजार ३५ रुपैयाँ रहेको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सहकारीले कुल सम्पत्तिको ५६ प्रतिशत अर्थात् ३ करोड ७८ लाख २४ हजार ३ सय ५७ रुपैयाँ ऋण लगानी गरेको उहाँले जानकारी दिनुभएको छ ।