वार्षिकोत्सवको अवसरमा आयोजित खेलमा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयले विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्दै ५९ औं वार्षिकोत्सव मनाएको छ । शनिबार र आइतबार भलिबल, रिले दौड, लङ्जम्प, कबड्डी, नृत्य, चम्चा दौड, बत्ती कटाई, टपरी बुनाई र म्युजिकल चियरजस्ता प्रतियोगिता आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इवाकर मैनालीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सोही अवसरमा नर्सरी र केजीका विद्यार्थीलाई विद्यालयका पूर्वविद्यार्थीले एक सय थान स्वीटर हस्तान्तरण गरिएको छ । यस्तै, वडा कार्यालयले कक्षा–६ देखि १० सम्मका विद्यार्थीलाई ४ सय ५० सेट हाउस पोशाक वितरण गरेको छ ।

विभिन्न विधामा उत्कृष्ट २ सय ५० जना विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै कक्षागत प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ । कक्षा–६ मा अध्ययनरत राजेश कटुवालको कक्षा–१२ सम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्चको जिम्मेवारी समाजसेवी शम्भु दुलालले लिनुभएको छ । दुलालले कटुवाललाई विद्यालय पोशाक र १६ हजार ५ सय नगदसहित २० हजार रुपैयाँ बराबर सहयोग गर्नुभएको हो ।