हेटौंडाः हेटौंडा–४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । शनिबार सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष विजयसागर श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको शेयर पुँजी २ करोड २६ लाख १८ हजार ३ रहेको प्रतिवेदन पेश गर्नुभएको छ ।
अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्ष २०८१/०८२ मा सहकारीको शेयर पुँजी २ करोड ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको प्रतिवेदनमार्फत् जानकारी गराउनुभयो । गत आर्थिक वर्षको निक्षेप संकलन २० करोड २९ लाख ७ सय ९९ रहेकोमा चालु आर्थिक वर्षमा २२ करोड रुपैयाँ पुर्याउने लक्ष्य सहकारीले लिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ऋण लगानी १७ करोड २४ लाख ५७ हजार २ सय ८३ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा ऋण लगानी २० करोड पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
सहकारीले गत आर्थिक वर्ष १ लाख ७९ हजार रुपैयाँ नाफा गरेको भए पनि चालु आर्थिक वर्षमा ५२ लाख ६५ हजार रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । साधारणसभामा ४ करोड ९४ लाख ६० हजार रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरिएको छ । गत आर्थिक वर्षमा सहकारीले ३ करोड २१ लाख ३ हजार ४ सय ५१ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको शेयर पुुँजी प्रत्येक वर्ष १० प्रतिशतको दरले वृद्धि गर्न संस्थाको नाममा रहेको वित्तीय संस्थाका लागि शेयर बिक्री गर्न सुझाव दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बिना धितो ऋण लगानी गरेका कर्जाहरुका लागि ऋणी तथा जमानी बस्नेबाट ऋण असुलीको प्रयासका लागि सुझाव दिइएको उहाँले बताउनुभयो । गत वर्ष सहकारीमा २६ करोड ४५ लाख १९ हजार ५ सय ८७ रुपैयाँको सम्पत्ति रहेकोमा चालु वर्ष २८ करोड ३७ लाख २४ हजार ३ सय १४ रुपैयाँ रहने बताइएको छ । यस वर्षको जगेडा कोष १ करोड ८९ लाख ५९ रुपैयाँ रहेकोमा गत वर्ष १ करोड १२ लाख १३ हजार ४ सय ९३ रुपैयाँ रहेको बताइएको छ । सरकारीले २ करोड ५६ लाख ५४ हजार १ सय ८१ रुपैयाँ ब्याज आम्दानी गरेको छ भने २ करोड २८ लाख ७५ हजार ४ सय ९२ रुपैयाँ ब्याज खर्च भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले उपमहानगरपालिकाभरी सहकारीको अनुगन गरेपछि सहकारीको नकारात्मक पक्ष हट्न सुरु भएको बताउनुभयो ।
उपमहानगरपालिकामार्फत् नगरलाई रात्रिकालीन अवस्थामा सुन्दर बनाउनका लागि बत्तीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । सहकारीमा देखिइरहेको समस्यालाई समाधान गर्नका लागि सबै सञ्चालक समिति लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा असल ऋण हेटौंडा–२ का उत्तम गुरागाईं र हेटौंडा–८ की हीरामाया थिङलाई सम्मान गरिएको छ । असल निक्षेपकर्ता हेटौंडा–६ का विष्णु शाही र हेटौंडा–९ की रेखाकुमारी रुम्बालाई पनि सम्मान गरिएको छ । जेष्ठ सदस्य जगन्नाथ शर्मा ढकाल र दीलमाया गौतमलाई सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, एसईईमा ३ दशमलब ८३ जिपिए ल्याउने प्रियान्सु बिडारी र ३ दशमलव ९२ जिपिए ल्याउने सुरेसना श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको छ । सहकारीले हेटौंडाका आश्रमहरुलाई पनि सामग्री सहयोग गरेको छ ।