हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुरस्थित प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा शेरमान घलान सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न विद्यालयको २५ औं अभिभावक भेलाले अध्यक्षमा घलानलाई चयन गरेको हो ।
अभिभावक भेलाबाट विशाल कठायत, शंकर जिम्बा, शान्ति घलान र लक्ष्मी लो विद्यालय व्यवस्थापन समिति सदस्य चयन हुनुभएको थियो । विद्यालय व्यवस्थापन समितिले शान्ति चुनारालाई शिक्षासेवीको तर्फबाट र शेरमान घलानलाई चन्दादातामध्येबाट विद्यालय व्यवस्थापन समिति सदस्य मनोनित गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवजीत जिम्बाको पदावधि सकिएपछि नयाँ समिति चयन गरिएको हो ।
अभिभावक भेलामा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, वडाध्यक्ष लक्ष्मी जिम्बाको पनि उपस्थिति रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने प्रभात माविमा ३ सय ९८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको पर्खाल पूरा नभएको, भौतिक संरचनाको अभाव रहेको प्रधानाध्यापक दिपेश देवकोटाले जानकारी दिनुभएको छ ।