हेटौंडाः स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाली र अंग्रेजी दुबै माध्यममा प्रश्न आएको छ । त्रिभुवन विश्वविद्यालयले गत बुधबारदेखि देशभर सञ्चालन गरेको परीक्षामा नेपाली र अंग्रेजी दुबै माध्यममा प्रश्न आएको हो ।

पटकपटक सरकार र विश्वविद्यालयको ध्यानाकर्षणपछि यस वर्षदेखि स्नातक तह प्रथम वर्षको परीक्षामा दुबै माध्यममा प्रश्नपत्र तयार गरिएको छ । हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा शाखा प्रमुख दिनेश महतले नेपाली र अंग्रेजी माध्यममा प्रश्न आउँदा परीक्षार्थीको धेरै समस्या समाधान भएको बताउनुभयो ।

‘अंग्रेजी माध्यममा मात्र प्रश्न आउँदा विद्यार्थी प्रश्न नै नबुझेर सम्बन्धित शिक्षकलाई बोलाउनुपर्ने बाध्यता थियो’, परीक्षा शाखा प्रमुख महतले भन्नुभयो– ‘कतिपयले प्रश्न नबुझेर उत्तर नै नलेखी छाडेर हिँड्ने गर्थे ।’ अहिले दुबै माध्यममा प्रश्न आएपछि सहजरुपमा विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना भएको उहाँको भनाइ छ ।

स्नातक तह प्रथम वर्ष (वाणिज्य संकाय) को परीक्षा दिइरहेका परीक्षार्थी रिदम अधिकारीले नेपाली र अंग्रेजी दुबै माध्यममा प्रश्न आउँदा प्रश्न बुझ्न सहज भएको बताउनुभयो । प्रश्न पहिलाकै मोडलमा आएको भएपनि नेपाली माध्यममा प्रश्न आउँदा उत्तर सहजै लेख्न सकिएको उहाँको भनाइ छ ।

सोही संकायका भुवन तिमल्सिनाले पनि नेपाली र अंग्रेजी माध्यममा प्रश्न आउँदा उत्तर लेख्न सहज भएको बताउनुभयो । ‘अंग्रेजी माध्यममा मात्र प्रश्न आउँदा प्रश्न नबुझेर उत्तर नै नलेखी हिँड्ने अवस्था थियो’, तिमल्सिनाले भन्नुभयो– ‘प्रश्न नबुझेर शिक्षकलाई बोलाउँदा पनि परीक्षा हलमा शिक्षक आउनुहुँदैन थियो ।’ वार्षिक परीक्षामा अन्य क्याम्पसमा परीक्षा दिनुपर्ने भएकाले जसोतसो आफूले बुझेका प्रश्नको मात्र उत्तर लेखेर आउनुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ छ

मकवानपुरको हेटौंडा–२ स्थित मकवानपुर बहमुखी क्याम्पस र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा स्नातक तहको परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।