रोजगारीका लागि नेपाली युवाहरु विदेशिएका छन् । लाखौंको संख्यामा युवा जनशक्ती रोजगारीका लागि अन्य मुलुक गएपछि देशमा काम गर्न सक्ने जनशक्तीको कमि हुने नै भयो । जसले सरकारले थालेका विकास निर्माण सम्बन्धी ठूला परियोजनामा समेत श्रमशक्तीको अभावमा अलपत्र पर्ने गरेका छन् । ठूला परियोजनाहरु समयमै सम्पन्न हुन नसक्नुमा श्रमिकहरुको अभाव हुने गरेको पाईन्छ । निर्माण कम्पनीहरुले देश निर्माणका लागि छिमेकी मुलुकका श्रमिकहरु बोलाउनु पर्ने बाध्यता छ । त्यति मात्र हैन कृषिप्रधान देशमा खेतीयोग्य जमिनहरु जनशक्तीकै अभावमा बाँझै छन् । जसले गर्दा खाद्यान्न समेत आयात गर्नु परेको छ ।

विदेशिएका युवाले कमाएको रकमबाट उतैबाट खाद्यान्न खरिद गर्नुपर्ने वास्तविकतालाई न्यूनीकरण गर्ने र युवा जनशक्तीलाई देश तथा आफ्नै गाउँमै रोजगारी प्रदान गर्ने नीति आजको आवश्यकता हो । विशेषगरी कृषिलाई प्राथमिकतामा राखेर योजना बनाउने र विदेशीन बाध्य शक्तीलाई उत्पादनमा जोड्न अब स्थानीय तहबाट समेत कार्यक्रम र नीति बनाउनु पर्दछ ।

स्थानीय तहहरुले आफ्नै आवश्यकता अनुसारका मौलिक कार्यक्रम ल्याउन सक्नु पर्दछ । सबै तहबाट हुने नमूना कार्यक्रमहरुले देश विकासमा योगदान दिन सक्छ । केन्द्रले दिएका कार्यक्रम भन्दा भिन्न र अरुले समेत अनुसरण गर्ने प्रकारका कार्यक्रमका लागि नयाँ सोचाई र चिन्तन आवश्यक छ । यसै क्रममा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले फरक कार्यक्रम सुरु गरेको छ । युवालाई गाउँमा नै आकर्षित गर्ने र स्वाबलम्बी बनाउन गाउँपालिकाले अनुदान समेतको व्यवस्था गरेको छ । कृषि उत्पादन बढाउन बाँझो जमिनमा खेती तथा पशुपालन गर्नेलाई अनुदान दिने भएको छ ।

यो कार्यक्रमलाई देशका सबै स्थानीय तहबाट अनुशरण गरेमा विदेशिएको युवाशक्ती स्वदेश फर्कन इच्छुक हुने छन् । कोरोना भाइरसको जोखिमबाट बच्न तथा लकडाउनका कारण आफ्नो गाउँ फर्किएकाहरुलाई उत्पादनमा जोड्नका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कार्यक्रम उदाहरणीय छ । हुन त यस्तो कार्यक्रमका लागि सबै स्थानीय तहबाट नीति त बनाएका छन् तर कार्यान्वयन कै चरणमा प्रवेश गरेरको अवस्था छैन । तर मकवानपुरगढी गाउँपालिकाले कार्यक्रम सुरुवात नै गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाले बिदेशबाट फर्किएका वा जाने तयारीमा रहेका विपन्न समुदायका एकसय जना युवालाई तालिमसहित कृषि र पशुपालनका लागि प्रोत्साहन गर्न बीउ पुँजी सहयोग गर्ने भएको छ । यसले कामको सुरुवात गर्न पूँजी नहुनेका लागि पनि बाटो खुल्ला गरिदिएको छ । ‘गाउँमै उद्यमी बनौं, भन्ने नाराका साथ काम गर्ने हो भने सहर वा विदेश जानु नपर्ने मात्र हैन कि शहरका सुविधा गाउँमा ल्याउन बल पुग्ने छ । खोजेको सेवा र सुविधा आफ्नै गाउँठाउँमा प्राप्त भएपछि घरपरिवार छोडेर कोही पनि युवालाई विदेशीन रहर पक्कै हुँदैन ।

मकवानपुरगढी गाउँपालिकाले कृषिमा युवालाई आकर्षित गर्न मल, बीउ, प्राविधिक जनशक्तिको सहज उपलब्धता तथा उत्पादित कृषिउपजको बजार सुनिश्चित गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । अहिले अन्नबालीको प्रमुख समय हो तर, किसानले रासायनिक मल पर्याप्त पाउने अवस्था छैन । यस्तै बीउ, प्राविधिक जनशक्तिको उपलब्धतामा पनि ध्यान दिन सके बाँझो जमिनमा हरियाली कायम गरी उत्पादन बढाउँदै जैलान सकिनेछ । जसले निर्वाहमुखी कृषिलाई उद्यमको रुपमा रुपान्तरण गरी गाउँवासी र गाउँकै आर्थिक एवम् सामाजिक विकास गर्न सक्नेछ ।