हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा–१० स्थित थोक तरकारी बजारमा आज बैशाख २५ गते तरकारीको मूल्यमा गिरावट आएको छ । लकडाउनका कारण तरकारी वितरणमा असहजता भएसँगै खपत घटेको छ । खपत घटेसँगै किसान प्रत्यक्ष मारमा छन् । दिनहुँजसो तरकारीको मूल्यमा गिरावट आइरहेको छ ।

आज हेटौंडाको थोक बजारमा प्रतिकेजी काउली ७ रुपैयाँ, बन्दा ७ रुपैयाँ, गोलभेँडा २० रुपैयाँ, मकैबोडी ५० रुपैयाँ, च्याउ १०० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, भेँडे खुर्सानी ४५ रुपैयाँ, लौका १८ रुपैयाँमा विक्री भएको छ । हिजो प्रतिकेजी काउली १२ रुपैयाँ, बन्दा १० रुपैयाँ, गोलभेँडा २५ रुपैयाँ, मकैबोडी ५५ रुपैयाँ, च्याउ १२० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, भेँडे खुर्सानी ५० रुपैयाँ र लौका २० रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलना आज घिरौंला, काँक्रो र हरियो खुर्सानीको थोक मूल्यमा सामान्य वृद्धि भएको छ । प्रतिकेजी घिरौँला ५ रुपैयाँ, काँक्रो २ रुपैयाँ र हरियो खुर्सानी ५ रुपैयाँले महंगो भएको छ ।

तरकारीको थोकमूल्यको तुलना ठेला तथा खुद्रा पसलमा बढी मूल्य तिर्नु परेको भनी गुनासो गर्ने उपभोक्तालाई व्यवसायीले थोकमूल्यमै तरकारी किन्न सक्ने सल्लाह दिएका छन् । थोक व्यवसायी बद्रि घिमिरेका अनुसार टोल, समुदायका २/३ परिवारले एकैपटक ५ केजी खरिद गरेर बाँडफाँड गर्ने गरी थोकमूल्यमै तरकारी खरिद गर्न सक्ने उहाँको भनाई छ । ‘उपभोक्ताले खुद्रा व्यवसायीसँग बढी मूल्य तिर्नुपर्ने अवस्था रहे उपभोक्ताले मिलेर थोक परिमाणमै थोक मूल्यमै तरकारी खरिद गरेर बाँडफाँड गर्न सक्नुहुन्छ,’ व्यवसायी घिमिरले भन्नुभयो, ‘यता किसानले पनि मूल्य पाइरहेका छैनन्, उता उपभोक्ता पनि मारमा पर्ने स्थितिमा कम्तिमा उपभोक्ताले केही सहजताका लागि थोकबजारमै आउन सक्छन् ।’