संघीय व्यवस्थापिकाअन्तर्गतको प्रतिनिधिसभा सदस्य तथा देशका सातै प्रदेशको प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मतदान गर्ने दिन हो । मतदान गर्नु नागरिकको अधिकार हो भने सक्षम र योग्य उम्मेदवारलाई मत दिनु नागरिकको कर्तव्य पनि हो । हरेक ५ वर्षमा आउने मतदानको अवसरलाई आम मतदाताले सुझबुझपूर्ण तरिकाले सदुपयोग गर्नु पर्दछ । त्यसैले मतदानलाई एउटा अमूल्य दानको रुपमा लिने गरिन्छ । एक दिनको सही निर्णयले पाँच वर्षसम्म आफ्नो क्षेत्र र समग्र प्रदेश एवम् देशको भविष्य निर्धारण हुन्छ । लोकतन्त्रमा जनमतको ठूलो महत्व हुन्छ । यसका लागि मताधिकारको प्रयोग आवश्यक छ । मताधिकार जनताको सबैभन्दा ठूलो अधिकार हो भने जनमतले राज्यसत्ता कसको नेतृत्वमा हुने भन्ने निर्धारण गर्छ ।
आज मंसिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ वटा मतदान केन्द्र तोकेको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवम् आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगेर मतदानस्थलको तयारी पूरा गरिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाई सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।
मतदान गरेर आफ्ना प्रतिनिधि छान्ने समयमा आम मतदाताले धेरै कुरा विचार गर्नुपर्छ ।
विगतमा आफूले मतदान गरेको राजनीतिक दल र उम्मेदवारको कार्यसम्पादनको समीक्षा गर्नुपर्छ । आफूले मतदान गरेर विजयी बनाएको प्रतिनिधिले गर्ने राम्रो र नराम्रो दुबै कार्यको नैतिक जिम्मेवारी मतदाताले पनि लिनुपर्छ । कसैको प्रलोभन तथा आश्वासनमा परेर गलत व्यक्तिलाई मतदान गरेर विजयी बनाउनु भनेको मताधिकारको दुरुपयोग गर्नु हो । आफ्नो मतदानबाट खराब व्यक्ति निर्वाचित भएमा त्यसको मूल्य आउँदो ५ वर्षसम्म चुकाउनु पर्ने तथ्यलाई मतदानको समयमा सबै मतदाताले स्मरण गर्नु आवश्यक छ । आफूले मतदान गर्ने उम्मेदवार योग्य र असल होस् अनि आफ्नो मतबाट चुनिएको व्यक्तिले कुनै पनि गलत काम नगरोस् भन्नेमा मतदाता सचेत बन्नुपर्छ ।
आफ्नो इच्छाअनुसार उपयुक्त देखिएको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्नु आम नागरिकको कर्तव्य हो । कसैको डर, त्रास, धम्की, प्रलोभन वा आश्वासनमा परेर होइन, आफू एक स्वतन्त्र र सार्वभौम नेपाली नागरिक भएको यथार्थलाई बुझेर सक्षम, योग्य प्रतिनिधि चयनका लागि निष्पक्ष भई मतदान गर्नुपर्छ । मतदान गर्ने सुनौलो अवसरलाई सबै नेपालीले आत्मसात गरी सदुपयोग गर्नुपर्छ । अवसरको सही उपयोगबाट आर्थिक, सामाजिक र राजनीतिक फट्को मार्ने विषय बुझ्नुपर्छ । यो अवसरबाट पछाडि पर्नु भनेको इतिहासमा नेपाल र नेपालीले विकासको अवसरबाट वञ्चित हुने र सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको अधिकारमाथि कुठाराघात गर्नु हो । मतदान आम नेपालीका लागि ठूलो अवसर हो भने उपयुक्त जनप्रतिनिधि छनौट गर्न नसकेमा यही अधिकार चुनौती बन्ने जोखिम पनि उत्तिकै देखिन्छ । यसकारण यस्तो ऐतिहासिक क्षणलाई आम नेपालीले सकारात्मकरुपमा लिएर उत्साहका साथ योग्य र सक्षम उम्मेदवार चयनका लागि मतदान गरी मताधिकारको सदुपयोग गरौं ।