हेटौंडा–१, चौकीटोलस्थित मतदानस्थलमा शनिबार साँझ तयारी अवस्थामा राखिएका मतदान केन्द्रहरु ।

हेटौंडाः आगामी ५ वर्षका लागि प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चयन गर्न देशैभर मतदान हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु भई साँझ ५ बजेसम्म मतदान केन्द्र पुग्ने मतदाताले मतदान गर्न पाउनेछन् । निर्वाचन कार्यक्रमअन्तर्गत प्रमुख कार्य अर्थात् मतदानको तयारी मकवानपुर जिल्लामा पनि पूरा भएको छ । मकवानपुर जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रमा निर्वाचनको कार्यक्रमको मुख्य कार्य अर्थात् मतदानका लागि तयारी अवस्थामा रहेको मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

शनिबार साँझसम्ममा सबै मतदानस्थल र मतदान केन्द्रमा तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो । आइतबार साँझ मतदान सकिएलगत्तै हेटौंडा–२ स्थित मतगणनास्थलमा मतपेटिका ल्याउने तयारी पनि पूरा भइसकेको उहाँको भनाइ छ । “मतदान स्थल, मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमार्फत् सबै तयारी पूरा भइसकेको भन्ने जानकारी प्राप्त भएको छ”, मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले भन्नुभयो, “मतदान केन्द्रबाट सबै मतपेटिका आइतबार अबेर रातीसम्ममा मतगणना केन्द्रमा ल्याउने तयारी पनि पूरा भइसकेको छ ।”

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार छन् भने क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार छन् । यस्तै प्रदेश सभा १ को (क) मा १० जना, (ख) मा १५ जना उम्मेदवार छन् । यस्तै २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार छन् । मकवानपुरमा १ सय ६७ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदानस्थल कायम गरिएको छ भने ३ सय ६४ वटा मतदान केन्द्र कायम गरिएको छ । मकवानपुरमा निर्वाचनका लागि २ हजार ९ सय १८ जना कर्मचारी खटिएका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि मकवानपुरमा झन्डै ६ हजार नयाँ मतदाता थपिएका छन् । अहिले मकवानपुरमा ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा मकवानपुर २ लाख ९४ हजार ९ सय १९ जना मतदाता थिए ।