हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा तेस्रो संस्करणको उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । कैलाश गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यही चैत १६ गतेदेखि उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको हो ।

आयोजक खेलकुद विकास समितिले बुधबार सूचना जारी गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको छ । गाउँपालिकाको वडा नम्बर–३ स्थित कालिकाटार खेलमैदानको भलिबल कोर्टमा हुने प्रतियोगिता चैत १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा खेलाडीहरुलाई सहभागी गराउनका लागि दर्ता प्रक्रिया खुला गरिसकेको खेलकुद विकास समितिका संयोजक मोहन वाइबाले जानकारी दिनुभएको छ । प्रतियोगिता सहभागी हुनका लागि खेलाडीहरुले चैत १३ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने र चैत १४ गते खेलतालिका सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलाडीहरु गाउँपालिकाको हुनुपर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि आयोजकले खाना र बासको व्यवस्था गर्नेछ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने उहाँले बताउनुभयो ।

प्रतियोगिताका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडीले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गत वर्षको तुलनमा यस वर्ष प्रतियोगितामा पुरस्कार राशि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष प्रथम पुरस्कार ६० हजार रुपैयाँ र द्वितीय पुरस्कार ४० हजार रुपैयाँ थियो । यस वर्ष एक लाख रुपैयाँ बजेट थप गरेकाले पुरस्कार राशि बढाएको उहाँले बताउनुभयो । ९ वटा वडाको सहभागितामा गत वर्ष सम्पन्न भएको दोस्रो संस्करणको भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर–१ ले जितेको थियो ।