बालश्रमिकसँग कुराकानी गर्नुहुँदै बालहेल्पलाइनकी अधिकृत सम्झना अधिकारी ।

हेटौँडा : बालमैत्री हेटौँडा उपमहानगरपालिकाभित्रका होटल, ग्यारेज र फर्निचर उद्योगमा अनुगमनको क्रममा ४ बालश्रमिक भेटिएको छ । हेटौँडा उपमहानगरपालिका, बाल हेल्पलाइन मकवानपुर र श्रम तथा रोजगार कार्यालय हेटौँडाको संयुक्त अनुगमनको क्रममा शुक्रबार ४ बालश्रमिक भेटिएको हो ।

अनुगमन टोलीले दुई बालश्रमिकको उद्दार गरेको छ । एक बालश्रमिकलाई उद्दार गरिएन भने एक बालश्रमिक फरार भएका छन् । हेटौँडा–१० स्थित चुरियामाई फर्निचर उद्योग र अटो मोटर ब्याट्री वर्कशपबाट दुई बालश्रमिकलाई उद्दार गरेर बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको छ । हेटौँडा–११ र हेटौँडा–१० स्थित वर्कशप, होटल र फर्निचर उद्योगमा अनुगमन गरिएको थियो । ती बालश्रमिकका अभिभावकलाई झिकाई संचालकलाई कानुनी दायरामा ल्याउने जनाएको छ ।