हेटौँडा : मकवानपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा दोस्रो संस्करणको जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिताको उद्घाटन खेलबाटै साविक विजेता २ जना खेलाडी बाहिरिएका छन् । पहिलो संस्करणको जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिताको विजेता समेत रहेका चेतबहादुर विश्वकर्मा र हरि तामाङ प्रतियोगिता अन्तर्गत उद्घाटन खेलबाटै बाहिरिएका हुन् ।
प्रतियोगिता अन्तर्गत आज शनिबारबाट टप १६ का खेलहरु सञ्चालन हुने प्रतियोगिताका संयोजक सुरेन्द्र प्रधानले जानकारी दिनुभएको छ । दोस्रो चरणमा खुलातर्फ ३६ टिम र भेट्रान्सतर्फ १६ टिम दोस्रो चरणमा प्रवेश गरेको संयोजक सुरेन्द्र प्रधानले बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा तथा नगर खेलकुद विकास समितिको समन्वयमा सुरु भएको प्रतियोगितामा ६० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा खुलातर्फ ४१ टिम र भेट्रान्सतर्फ १९ टिमको सहभागिता रहेको छ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
व्याडमिन्टनमा भेट्रान्सतर्फको प्रतियोगितामा ४५ वर्षभन्दा अधिक उमेर समूहका खेलाडीहरुले सहभागिता रहेको छ । प्रतियोगिता आयोजनाका लागि हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रतियोगिताका लागि हेटौँडा–११ नम्बर वडा कार्यालय, मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौँडा–१० स्थित नारायणी कलेज प्रायोजकको रुपमा रहेको छ । यस्तै, हेटौंडा–५ पिप्लेस्थित रिगल हेटौँडा रिसोर्टले खुल्लातर्फको प्रथम पुरस्कारको सौजन्य गर्नुभएको छ भने भेट्रान्सतर्फको प्रथम पुरस्कार भेट्रान्स खेलाडी धन थापाले प्रायोजन गर्नुभएको छ । यस्तै, व्याडमिन्टन संघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव) ले ५१ हजार रुपैयाँको नगद सहयोग गर्नुभएको छ ।
खुलातर्फको प्रतियोगिताको उपाधि विजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने भेट्रान्सतर्फको उपाधि विजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । खुलातर्फको उपविजेता टिमले २० हजार रुपैयाँ र भेट्रान्सको उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तृतीय हुने खुलाको टिमले २ हजार ५ सय रुपैयाँ तथा भेट्रान्सले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खुला र भेट्रान्सतर्फको सर्वोकृष्ट खेलाडीले १ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ । गत वर्षभन्दा यस वर्ष पुरस्कारको रकम बढाइएको छ ।
जिल्ला व्याडमिन्टन संघका अध्यक्ष विष्णु घिमिरे (ध्रुव) को सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा–११ की वडाध्यक्ष जुना दहाल, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरे, सदस्य यज्ञ बहादुर राय (विनोद) लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका लागि ७ लाख ५० हजार रुपैयाँको बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ । उद्घाटन कार्यक्रममा जिल्ला व्याडमिन्टन संघका सदस्य नरेन्द्र मुक्तानले स्वागत मन्तव्य राख्नुभएको थियो ।