हेटौंडा : हेटौंडामा जारी हेटौंडा कप राष्ट्रिय हक्की प्रतियोगितामा पुरुषतर्फको सेमीफाइनल समीकरण पूरा भएको छ । मकवानपुर जिल्ला हक्की संघको आयोजनामा शुक्रबार हेटौंडा–४ स्थित हुप्रचौरमा क्वार्टरफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । समूह चरणको खेलमा समूह ‘क’ बाट भीमदत्त नगरपालिका विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ भने उपविजेता बन्दै बिर्तामोड नगरपालिका सेमीफाइनलमा प्रवेश गरेको छ । यस्तै, समूह ‘बी’ बाट विजेता बन्दै भद्रपूर नगरपालिका सेमीफाइनलमा प्रवेश गर्दा वेदकोट नगरपालिका उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार पुरुषतर्फ सेमीफाइनल चरणको खेलहरु सञ्चालन हुनेछ भने महिलातर्फ समूह चरणको ४ खेलहरु सञ्चालन हुनेछ । प्रतियोगिताका लागि नेपाल हक्की संघ केन्द्रीय समितिले प्राविधिक सहयोग गरेको छ । पूरुषतर्फको पहिलो सेमीफाइनलमा भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा बिर्तामोड नगरपालिका र भद्रपूर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै महिलातर्फ लिगको पहिलो खेलमा पोखरा उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा उपमहानगरपालिकाको रातो समूह र मिथिला नगरपालिकाको टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष सम्पन्न भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । गत वर्ष हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न भएको प्रतियोगिताको उपाधि भीमदत्त नगरपालिकाले जितेको थियो ।