हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, भतेरी जङ्गलमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान जिल्लाका ३१ वर्षीय सुदिप राना रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार बिहान ७ बजेको समयमा रामनगरबाट जुगेडीतर्फ जाँदै गरेको बा २५ प ४४०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३०३ प ५२५७ नम्बरको स्कुटर एक–आपसमा ठोकिँदा मोटरसाइकल अनियन्त्रित भई रामनगरबाट जुगेडी जाँदै गरेको ना ६ ख ४७५१ नम्बरको डिब्बा ट्रकमा ठोकिँदा राना गम्भिर घाइते भएका थिए । घाइते रानालाई उपचारका लागि नयाँ मेडिकल कलेज लगिएकोमा बिहान ८ बजेर १५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक भरतपुर महानगरपालिका–११ का २१ वर्षीय दिपेश मगर र डिब्बा ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।