अस्पताल अनुगमनका क्रममा स्वास्थ्यकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री थापा ।

हेटौँडा : बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवन जिल्लाको रत्ननगर नगरपालिकास्थित बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा छड्के अनुगमन गर्नुभएको छ । शुक्रबार मन्त्री थापाले स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलालसहित बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको हो ।

मन्त्री थापाले अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध स्रोत–साधन तथा संरचनाको अवस्थाबारे जानकारी लिनुभएको थियो । अनुगमनपछि मन्त्री थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भए पनि सेवा दिइरहेको बताउनुभयो । नागरिकलाई सहज स्वासथ्य सेवा प्रदानमा अस्पतालले कमजोरी गर्न नहुने उहाँले बताउनुभयो ।

‘हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं । प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं’, मन्त्री थापाले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्ने, आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नेछ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका समस्या हल गरी प्रोत्साहन गर्ने सरकारको योजना रहेको छ ।’

अस्पताल अनुगमनका क्रममा स्वास्थ्यकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री थापा ।

उहाँले डाक्टर तथा स्वास्थ्यकर्मीलाई एप्रोन र परिचयपत्र अनिवार्य रुपमा लगाउन निर्देशन दिनुभएको छ । अस्पताल व्यवस्थापन तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न गम्भिरताका साथ ध्यान दिनुपर्ने उहाँको भनाई छ । मन्त्री थापाले अनुगमनलाई नियमित बनाउने र सेवा विस्तारलाई आवश्यक अध्ययनसहित अघि बढाउने स्पष्ट पार्नुभयो । आँखा सेवामा सुधार गर्दै अन्य आँखा अस्पतालहरुसँग समन्वय गरी १३ वटा अस्पतालमा सेवा विस्तार गर्ने योजना बनाइने उहाँले जानकारी दिनुभयो ।

बकुलहर रत्ननगर अस्पतालमा ग्रामीण भेगका सेवाग्राहीको चाप बढी रहेकाले सेवाको गुणस्तर कम हुन नदिने मन्त्री थापाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अस्पताल व्यवस्थापनलाई बिरामीहरुको सुविधाका लागि प्रभावकारी योजना बनाउन उहाँले निर्देशन दिनुभयो । मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले प्रदेश सरकारको ध्यान स्वास्थ्य सेवा सुदृढीकरणमा रहेकाले आगामी दिनमा अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय बनाउने बताउनुभयो । अनुगमन टोलीले अस्पताल भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गर्ने उहाँले बताउनुभयो ।