सम्प्रास पौडेल (लेखक सिस्नुपानी मकवानपुर सदस्य हुनुहुन्छ)

कान टाउकोको दुवैतिर रहेको पातलो अंग हो । खासमा यसको काम अरूका कुरा चियाएर सुन्ने नै हो । कानले सुनेको कुरा विश्वसनीय मानिन्छ । त्यसो त आँखाको सहयोग पनि भएमा झनै पक्का मानिन्छ । नाक, कान, आँखाकै गठबन्धनमा सुँघिएको, सुनिएको र देखिएको प्रमाण अकाट्य नै हुन्छ । तथापि निश्चित स्वार्थका लागि बनेको गठबन्धन सँधैभरि टिकाउ पनि हुँदैन ।

मोरङको कानेपोखरी गाउँपालिकाले कान बनाएछ । संसारकै ठूलो कान बन्यो कि क्या हो ? माननीयहरुले गिनिज बुकमा पाना खाली राख्नु भएको छ कि छैन ? यसो नाउँ लेखाउन पाइन्थ्यो कि । यति ठूलो कान बनाइसकेपछि कन्कर्नो पनि बनाउनु पर्ला । कन्कर्नो भन्नाले इयर बड्स क्या । ठूलै त चाहिएला ।
कानेपोखरी गाउँपालिकाले ठीक गर्यो । कंक्रिटको कान, पाँच लाखको कान, पार्क बनेछ, कान हेर्न जानलाई गेट पनि बनेछ, कानलाई हेर्न भनेर आँखा लिएर जानेहरुसँग प्रवेश शुल्क लिनुपर्छ अब ।

हामी सानो हुँदा तिम्रो कान कागले लग्यो भनेर हामीलाई धुरुधुरु रुवाउनेहरुलाई खुच्चिङ । यी देख्यौ कंक्रिटको पाँच लाखे कान । कसले बोकेर लाने यत्रा कान ? त्यहीमाथि कानका लागि लाखौंका गेट । गेटमा चाइनिज ताल्चा । ताल्चा खोल्ने कर्मचारी । मन्त्रालयतिर काम नलाग्ने सिसिटिभी छन् भने वरपरका बुट्यानमा टाँस्न पाए यो एक्लो कान जोगिन्थ्यो कि ।

कानको काम सुन्ने हो तर पनि हरहिसाब गर्ने कर्मचारीले यहि कानका नाममा खानपान चलाए भनेर मान्छेहरु विनाप्रमाण आरोप लाउँछन् । यही कानले खै के के सुँघ्ने काम गर्यो भन्छन् । यत्रा कान टेबल मुनि कसरी पुग्दो हो खै ? यत्रा कान होटलको ढोकाबाटै छिर्दैन भने मुख नभएको कानले त के पो खायो होला खै ? कानको काम सुन्ने मात्रै हो, सुँघ्ने त होइन नि ।

जाबो कागजले पनि च्वाट्ट काट्न सक्ने, अली जोडसँग बटार्ने हो भने चुँडिएर हातैमा आउन सक्ने यस्तो पातलो लल्याकलुलुक कानबारे पनि के लेख्नु परेको होला ? दुर्लभ भनौं भने एक जोडा छँदैछन् । जोडा भएपछि तिनले अरू उमार्ने शक्ति पनि त पाउलान् नि । दुर्लभ नै मान्ने हो भने मुटु, नाक, कलेजो एकौटा छन् । यिनलाई पो दुर्लभ मान्नुपर्ने ।

तर कानमा कति हो कति । राजनीतिक नेताका भाषण सुन्ने, धार्मिक नेताका प्रवचन सुन्ने, शिक्षकका ज्ञानगुनका कुरा सुन्ने, बाआमाका अर्ति सुन्ने, आफन्तका ललरी सुन्ने । कान आजकाल निकै हाइटेक पनि भएको छ । युट्युबमार्फत् भाषण, आश्वासन, प्रवचन, ज्ञानगुन, ठाकठुक नानाभाती सबै सुन्ने जिम्मा पनि उसैलाई मिलेको छ । हाम्रा प्रधानमन्त्रीले रक्षा, प्रशासन, पर्यटन सबै मन्त्रीको जागिर खाइदिएको जस्तो क्या ।

कान चिरेका जोगीलाई सक्कली जोगी भन्छौं हामी । उपत्यकामा त जिब्रो छेड्ने चलन पनि छ । नाइटो छेड्ने चलन नै पूरानो हुन लागिसकेको बेलामा कान छेड्ने चलनको इतिहास खोजेर साध्य लाग्ने कुरो पनि भएन । मुखबाट अति पिरो खाँदा कानबाट धुँवा आउने भनेर भन्छौं । धुँवा आएको भने कसैले देखेको होइन ।

कानको कुनै गुनासो पनि हुँदैन । गुनासो पनि कसलाई सुनाउनु । आफैंले आफैंलाई त के सुनाउनु हो । कार्यालयमा गुनासो सुन्ने अधिकारी हुन्छन् । काम लिएर जाँदा गुनासो उनैले सुनाउँछन् । कर्मचारी छैन, फोटोकपि बाहिर गराउनुपर्छ, हाकिमसाप ससुराली गएका छन्, कर बढेको छ आदित्यादि भन्न मिल्ने नमिल्ने के–के के–के ।

मान्छेहरु आफ्ना कान थुनेर बस्न सक्दैनन् अनि अरुका कानमाथि व्यर्थमा घान हाल्दछन् । यो अटेरी कानका अघि उभिएर राष्ट्रिय गान गाउनु छ । कानकै मुनि बसेर खादा, माला लाउनु छ । कान पड्किनेगरी शहीदका नाममा भाषण दिनु छ । दुख पर्दा जनतालाई चाउचाउ राशन दिनु छ । कान पाक्नेगरी कान थाक्नेगरी जिन्दावाद र मुर्दावाद गाउनु छ । नत्र तपाईँका कान के कान ? \

यस्ता कानको जय जय होस् । यस्ता कानको कीर्ति एक कान दुई कान मैदान होस् । सबैका कानले नाक राखुन् ।
(पौडेल सिस्नुपानी नेपाल मकवानपुरमा आवद्ध हुनुहुन्छ ।)