हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन लक्षित नमूना मतदान अभ्यास गरेको छ । आइतबार बागमती प्रदेश निर्वाचन आयोगको आयोजनामा पालिकाको प्राङ्गणमा नमूना मतदान भएको पालिकाका शिक्षा शाखाका सहायक प्रमोद राईले जानकारी दिनुभयो ।
आइतबार भएको नमूना मतदानमा ५३ जनाले मतदान गरेकोमा एक मत बदर भएको राईले बताउनुभयो । “नमूना मतदानमा मैलै पनि मतदान गरेँ । हामीलाई त त्यस्तो खासै समस्या छैन । सामाजिक सञ्जालबाटै यस्तो गर्नुपर्छ भनी अनुमान भइसकेको थियो । प्रयोगात्मक रुपमा भने गरिएको थिएन । प्रयोगात्मक अभ्यास गर्दा अब नझुकिने भो”, उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “यस पटकको निर्वाचनको व्यवस्थापन कसरी हुन्छ ? कति लाइनमा बस्ने ? भन्ने कुरा स्थानीय निर्वाचनमा भन्दा फरक देखियो । चार प्रकारका मतपत्रमा मतदान गर्यौ । क्रमशः प्रतिनिधि सभातर्फको प्रत्यक्ष, समानुपातिक र प्रदेश सभातर्फको प्रत्यक्ष र समानुपातिकमा मतदान गर्यौ । ”
बागमती प्रदेश निर्वाचन आयोगले मकवानपुरमा पहिलो पटक बागमती गाउँपालिकामा नमूना मतदान अभ्यासको आयोजना गरेको हो । आज आइतबार नै बकैया गाउँपालिकामा पनि नमूना मतदान संचालन भईरहेको प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । नमूना मतदानमा मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेबारे जानकारी गराइएको पोखरेलले बताउनुभयो ।