आगलागी पीडित परिवारलाई प्रदान गरिएको अस्थायी टेन्ट हाउस ।

हेटौँडा : आगलागीबाट पूर्णरुपमा घर जलेर नष्ट भएका कृष्णबहादुर दर्लामीलाई अस्थायी टेन्ट हाउस सहयोग गरिएको छ । मंगलबार मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीस्थित मगरको घर आगलागीबाट पूर्णरुपमा नष्ट भएको थियो ।

सोही दिन मकवानपुरगढी गाउँपालिका र वडा कार्यालयले मगरलाई टेन्ट हाउससहित खाद्यान्न र लत्ता कपडा वितरण गरेको मकवानपुरगढी गाउँपालिकाको २ नम्बर वडा अध्यक्ष बखान सिंह पाख्रिनले जानकारी दिनुभयो । मगरको घर कसरी आगलागी भयो भन्ने खुल्न नसकेको पाख्रिनले बताउनुभयो ।

गाउँपालिकाले मगरलाई सिरक, दाल, चामल, तरकारी, लत्ता कपडालगायतका सामग्री वितरण गरेको छ । प्रहरीको मुचुल्कापश्चात् मगरलाई पालिकाको मापदण्डअनुरुप थप सहयोग गर्ने वडा अध्यक्ष पाख्रिनले बताउनुभयो । आगलागीबाट मानवीय तथा चौपाय क्षति भएको छैन ।