हेटौँडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयमा कक्षा–८ को वार्षिक परीक्षा दिँदै विद्यार्थी ।

हेटौंडाः मकवानपुर जिल्लाको ६ वटा पालिकामा बिहीबारबाट आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकामा कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको हो ।

बागमती गाउँपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षामा २५ जना परीक्षार्थी अनुपस्थित भएका छन् । २ सय २० छात्र र २ सय ४९ छात्रा गरी ४ सय ६९ परीक्षार्थीले मात्र अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएको बागमती गाउँपालिका शिक्षा शाखाका शिक्षा प्रतिनिधि प्रमोद राईले जानकारी दिनुभयो । १५ वटा विद्यालयका ४ सय ९४ जनाले कक्षा–८ को परीक्षा आवेदन फारम भरेका थिए । १४ गतेसम्म सञ्चालन हुने परीक्षामा सूर्य माध्यमिक विद्यालय, महाबुद्ध आधारभूत विद्यालय र चौरा आधारभूत विद्यालय परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

इन्द्रसरोवर गाउँपालिकामा २ वटा परीक्षा केन्द्रबाट एक सय ६२ जनाले परीक्षा दिइरहेको गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । ७ वटा विद्यालयका एक सय ७१ जनाले परीक्षा आवेदन फारम भरेका थिए । मनहरी, कैलाश, बकैया र हेटौंडा उपमहानगरपालिकाले भने पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने विद्यार्थी विवरण उपलब्ध गराउन सकेन । मकवानपुरगढी र भीमफेदीमा परीक्षा भइसकेको छ भने राक्सिराङमा आज शुक्रबारबाट कक्षा–८ को परीक्षा सुरु हुँदैछ ।