रमेश प्रभात, चितवन ।

नेपालको राजधानी काठमाडौं नजिकै भएर पनि मूलधारबाट बाहिर पर्ने हेटौंडा बजारमा बसेर नेपाली कविताको मूलधारमा कविता लेखिरहेका समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि सुवास खनाल (२०४३) मूलतः दार्शनिक विषयवस्तु र अंशतः राजनीतिका विकृतिका कविता लेखनमा रमाएका स्रष्टा हुन् । उनले नेपाली साहित्यका पाठकलाई समसामयिक विषयका विविध भावलाई समेटेर सामान्यदेखि उच्चस्तरका पाठकले समेत पढ्नयोग्य दुई वटा सशक्त कविताकृति दिइसकेका छन् ।

प्रिय कवि सुवास खनाल,
धेरै–धेरै सम्झना,
र यो दाजुको माया ।

मैले तपाईको पहिलो कविता कृति “विचारको उल्टो नदी” (२०७१) विमोचनका दिनमै हेटौंडामा किनेर चितवन ल्याएको थिएँ । त्यतिबेलै पूरा कृति पढिसकेर फुर्सदमा समीक्षा लेखूँला भन्दाभन्दै आज आठ वर्ष बितिसक्दा पनि लेख्न भ्याएनछु । विगतलाई हेर्दा म बेफुर्सदी हुँ कि बेपर्वाह ? आफैंले उत्तर भेटेको छैन । केही समय अगाडिको कविडाँडा साहित्य समाजको कार्यक्रममा भेटेर मलाई “सपनाका अवयव” (२०७७) उपहार दिएको पनि निकै दिन भइसकेछ । बल्ल आज यो समीक्षात्मक टिप्पणी लेख्ने जमर्को गरेको छु ।

मैले “सपनाका अवयव” कवितासङ्ग्रहको प्रकाशक शाब्दिक बुक्स, काठमाडौं रहेको देखेँ । यसमा जम्मा १०० पृष्ठको आयाममा कविताहरू फैलिएका रहेछन् । यो कृतिमा समसामयिक विषयवस्तुका कूल ३३ थान फुटकर कविता समेटिएका रहेछन् । यसभित्रका कविता घटीमा दुई पृष्ठदेखि बढीमा चार पृष्ठको आयामसम्म फैलिएका रहेछन् । यस कृतिमा समेटिएका अधिकांश कविता दुई पृष्ठको आयाम बोकेका पाएँ । शीर्षकले इङ्गित गरेजस्तै यसभित्रका अधिकांश कविता सपनाका वरिवरि घुमेको भए पनि यिनमा समकालीन जीवनका विविधतालाई पस्किएको पाएँ । समग्रमा यी कविता सरल, सरस र युगबोधी खालका छन् भन्ने मेरो ठहर छ ।

कवितालाई विभिन्न तरिकाले समीक्षा गर्न सकिन्छ । त्यसो त कविता बन्नका लागि विभिन्न अवयव चाहिन्छ । तीमध्ये कविताका लागि विषयवस्तु वा भाव प्रमुख अवयव हो । यही कुरालाई हिजोआजका नेपाली कविताले पनि बोकेको पाइन्छ । त्यस्तै यहाँको “सपनाका अवयव” कवितासङ्ग्रह पनि विविध भाव समटेर तयार पारिएको कविता कृति हो भन्ने निश्कर्ष छ मेरो । यस कृतिमा भेटिएका कविताका मूलभावहरुको सर्वेक्षण गरी भेटिएका साक्ष्यका आधारमा निम्नानुसार समीक्षा गरेको छु :

यहाँले भौतिक विज्ञानमा स्नातकोत्तर अध्ययन पूरा गर्नु भएकाले यहाँका कवितामा भौतिक विज्ञानका मात्र नभएर जीवविज्ञानका कुरा पनि अटाएको पाएको छु । तपाईले धमिरालाई बिम्ब बनाएर त्यो धमिरा जैविक रूपमा जति खतरनाक छ, त्योभन्दा विचारमा देखा परेमा कैयौं गुणा खतरनाक हुन्छ भन्ने विचारलाई यसरी अभिव्यक्त गर्नुभएको छ :

अन्तिम जानकारी
जैविक रूपमा बरू उति हानिकारक छैनौं हामी
जति हानिकारक छ, तपाईको मास्तिष्कमा हाम्रो उत्पत्ति ।
(धमिरा डट कम, पृ. २२)

त्यसो त तपाई दर्शनका विषयवस्तुमा रमाउने कवि पनि हो भन्ने लाग्छ मलाई । तपाई आफ्ना कवितामा कतै त कतै दर्शनका कुरा गरेरै छाड्नुहुन्छ । यदि चिन्तनमा पिनास पर्यो भने आउने समय नै बर्बाद हुन्छ भन्ने दार्शनिक विचारलाई आफ्नो कवितामा यसरी चित्रण गर्नुभएको छ :

चिन्तनको पिनास सिर्फ रोग होइन
अभिघात जन्माउने भ्रूण हो समयको ।
(चिन्तनको पिनास, पृ. १२)

तपाईले आफ्नो कवितामा तर्कैतर्कको लाममा बसेर आफ्नो बाँकी जीवनलाई कसरी बाँच्ने भन्ने कुरा सोचिरहेको कुरालाई पनि सुन्दर तरिकाले चित्रण गर्नुभएको छ । तपाईले चिन्तनमा पूरा जीवन गुजारिरहेको कुरालाई यसरी अभिव्यक्त गर्नुभएको छः

सोच्ने गर्छु
तर्कैतर्कको लामहरूबीच
उभिएर एकनासले
तर्कहरूकै कारण मैले बाँच्नु छ ।
(तर्कहरू, पृ. ३६)

सबैलाई थाहा छ, अहिलेको विश्वमा आतङ्कवाद जताततै फैलँदो छ । यसका कारण वर्षेनी हजारौंको सङ्ख्यामा मानिसहरूले ज्यान पनि गुमाइरहेका छन् । तर पनि स्वयम् आतङ्कवादीहरू आफूलाई आतङ्कवादी मान्न तयार छैनन् । त्यसैले तपाईले आफ्नो कवितामा आतङ्वाद के हो ? भन्दै यसका बारेमा जान्न चाहेको कुरालाई यसरी काव्यात्मक चित्रण गर्नुभएको छः

यो समय म बुझ्न सकिरहेको छैन आतङ्कवाद
म जान्न चाहन्छु
आतङ्कवादको परिभाषा ।
(आतङ्कवाद, पृ. ९)

हामी सबैलाई थाहा भएकै कुरा हो, संसारमा वनमारा झारले दुःख दिइरहेको पाइन्छ । त्यो वनमारा झारभन्दा घरमारा अझ खतरनाक हुन्छ भन्ने तपाईको ठम्याइ छ । तपाईले घरमारालाई झारका रूपमा मात्र नभई समाजमा व्याप्त विविध खालका अवस्थामा देख्नुभएको छ । सामान्यजस्तो लाग्ने यस्तो निजी विचारलाई तपाईले राज्यसत्तासँग दाँजेर व्यङ्ग्यात्मक तरिकाले यसरी प्रतिबिम्बित गर्नुभएको छ ः

मैले त घरमारा घरमा मात्र देखिनँ
देश चलाउने सिंहदरबार
बालुवाटार
संसद् भवन
वा, अदालत
यता पनि छन् कि घरमारा ।
(घरमारा, पृ. २९)

हो, यतिबेलाका मान्छेमा घोर निराशा व्याप्त छ । मान्छेले जताततै असफलता नै असफलता भेट्ने गरेको छ । अभावै अभावको सामना गर्नुपरेको छ । यसले पनि मान्छेमा थप निराशाको सिर्जना गरेको छ । तर तपाई यस्तो निराशाका बीचमा आशाको यसरी किरण खोज्नुहु :

जबसम्म फक्रिनेछन् रहरका गुराँस
जबसम्म फुल्नेछन् सद्भावका सयपत्री
उचालेर साहसको पाइताला
हिँड्नु छ, हिँडिरहनु छ ।
(दुर्घटनापछि, पृ. ४७)

हामी देख्छौं, हिजोआज जताततै निषेधै निषेधको कुरा देख्न, सुन्न र पढ्न पाइन्छ । यस्तो लाग्छ, सिङ्गो देश मात्र नभएर विश्व नै निषेधले चलेको छ । यस्तो परिवेशमा पनि तपाई निषेधबाट होइन, सबैस“ग मिलेर जानुपर्छ भन्ने कुरा “रङ”लाई बिम्ब बनाएर यसरी काव्यात्मक तरिकाले अभिव्यक्त गर्नुहुन्छ ः

जब बाँच्ने छन् आकर्षणमा रङहरू
हामी इन्द्रेणी अस्तित्वमा सुन्दर देखिनेछौं
म रङहरूको अस्तित्व स्वीकार गर्छु ।
(रङ, पृ. १४)
कविका रूपमा तपाईलाई देश सङ्कटमा परेकोमा चिन्ता छ । यस्तो सङ्कटको घडीमा पनि मौन बसेको नाटक गरी चुपचाप चुपचाप खिचडी पकाउने राजनीतिक विचौलियाप्रति तपाई आक्रोश पोख्नुहुन्छ । तपाईको आक्रोश नाराका रूपमा होइन, काव्यात्मक व्यङ्ग्य बनेर यसरी मुखरित हुन पुगेको छ:

देश सङ्कटको घडीमा छ
हामी सबै सङ्कटमा छौं
मौन रहनुहोस्
कम बोल्नुहोस्
चुपचाप बिजनेस चलाउनुहोस् ।
(चुपचाप बिजनेस, पृ. २६)

प्रकृतिका चक्रका रूपमा समय समयमा देशमा विभिन्न खालका प्राकृतिक विपत्तिहरू आइलाग्छन् । त्यसपछि गाउँमा राहतको पोको लिएर सरकारी गाडी आउँछन् । हेलिकप्टर आउछ । त्यसरी आएको राहत बाठाटाठाले मात्र कुम्ल्याउँछन्, सोझा जनताले केही पाउँदैनन् भन्ने कुरालाई तपाईले यसरी कवितामा व्यङ्ग्य गर्नुभएको छ :

पाडो मर्ने मधु बस्नेत
खेत पुरिने हरि चम्लागाइँ
गोठ लड्ने शेरबहादुर बिकलाई
भाग पुग्यो हेलिकप्टर उड्दाको हावा ।
(राहत, पृ. ३४)

हाम्रो देशमा सोझा र श्रमजीवी जनता सधैं मारमा परिरहेका छन् । उनीहरू सधैं आर्थिक समस्यामा पिल्सिरहेका हुन्छन् । त्यसप्रति सरकारको ध्यान कहिल्यै जाँदैन । यसरी जनता मरिरहेकोमा बेवास्ता गर्ने सरकारलाई तपाई यसरी प्रश्न गर्नुहुन्छ :

सोच्छु
मजस्तै लालबहादुरहरूलाई मारेर
यो देशले कसलाई नागरिक बनाउँछ ?
(लालबहादुरको किड्नी बिक्रीमा छ, पृ. ३९)

हामी देख्छौं, यतिबेला सहर सुविधासम्पन्न सहर होइन, कङ्क्रिटको जङ्गल बन्दै गइरहेको छ । यो रोग सहरबाट गाउँतिर पनि सर्न थालेको छ । खेतीयोग्य जमिन प्लटिङमा अनुवाद भइरहेको छ । काँक्रो चिरेजस्तै जमिन चिराचिरा पार्दै लगिएको छ । यस्तो देख्दा तपाईको कवि मन रोएको छ भन्ने कुरा तलको साक्ष्यले पुष्टि गरेको छ :

गाउँ शहरको सिकोमा छ
प्लटिङमा अनुवाद भइरहेको
उसको अनुहार
शहरझैं देखिँदै गइरहेछ ।
(शहरले ढुङ्गा खान्छ, पृ. १९)

कवि भएकाले तपाईलाई गाउँको असाध्यै माया लाग्छ । तपाई गाउँ छाडेर सहर बसेकाहरूमा श्रम मर्दै गएको र उता गाउँ भने श्रमका अभावमा बाँझो बन्दै गएको वर्तमानको नियतिप्रति निकै चिन्तित देखिनु हुन्छ । यस खालको भावलाई तपाई कवितामा यसरी शब्द भर्नु हुन्छ :

ऊ बाँझो हुनुको नियतिमा छ
उसँग ऊर्वरा छ श्रम छैन
म यता छटपटीजस्तो जिन्दगी बाँच्छु
मसँग श्रम छ, ऊर्वरा छैन ।
(बाँझो जमिन, पृ. ६८)

तपाई दार्शनिक चिन्तन, मौलिक विचार, जीवन दर्शन, देशका कुरा मात्र होइन, कतै कतै प्रेमका कुरा पनि गर्नुहुन्छ । तपाई एउटी पत्नीले आफ्नो मृतपतिलाई सम्झेको पे्रममय अभिव्यक्तिमा पनि देशकै कुरा यसरी सम्झन पुग्नु हुन्छ :

सम्झेर उनको अनुहार
आज मेरी छोरीको बाको अनुहारमा पनि
म भयको नजर खसाल्दोरहेछु
हजारौं बाहरू जब देख्छु
आत्तिँदो रहेछु मनमनै ।
(श्यामश्वेत सपनामा देश, पृ. ९२)

मेरो विचारमा तपाईको नवीनतम कविताकृति “सपनाका अवयव” विविध भाव समेटिएको कविता कृति हो । यसमा समेटिएका कविताले नेपाली कविताका पाठकलाई उनीहरुको काव्यात्मक भोक मेटाउन सक्षम बनेको छ भन्ने कुरामा पनि मेरो बुझाई छ । यसको पुष्टि माथि साभार गरिएका साक्ष्यहरूले गरेका छन् भन्ने मेरो जिकिर छ ।

र, अन्त्यमा माक्र्सवादी चिन्तनबाट प्रशिक्षित तपाईका कवितामा दार्शनिक चेत बढी मात्रामा पाएँ । यति भएर पनि तपाईका कवितामा भावगत विविधता भने पक्कै छ । तपाईका केही कविताले जनताका अभाव र पीडाको चित्रण गरेका छन् । केही कवितामा राज्यसत्ताका कारण जनताले पाएको दुःखलाई चित्रण गरेका हुनाले तपाई विद्रोही चेतका कवि पनि हो भन्ने ठान्छु म । तपाईका कवितामा सूक्ष्म तरिकाले व्यङ्ग्य गरिएको पाइने हुनाले तपाई व्यङ्ग्यचेतको कवि पनि हो । फरक–फरक कविता फरक फरक खालका भाव उतार्ने हुनाले तपाई विविधतामा रमाउने कवि हो भन्ने मेरो निश्कर्ष छ । तपाईको काव्यात्मक बान्की अझ सशक्त बन्दै जाओस् भन्ने शुभेच्छाका साथमा तपाइको काव्यिक उन्नयनको कामना गर्दै यो लेखनीलाई विश्राम दिन्छु ।

उही तपाईलाई मन पराउने पाठक
रमेश प्रभात, चितवन ।