संयोजक, झरना–बकैया बालसाहित्य परिचालन समिति

दशक अघिसम्म सामान्य सञ्चारको एउटा माध्यमको रूपमा मात्र रहेको मोबाइल फोन अहिले मानिसहरूको एउटा अभिन्न अंग भइसकेको छ । वास्तवमा त्यस बेलाको मोबाइल फोन अहिले स्मार्ट फोन बनिसकेको छ । मानिसहरूले यसको प्रयोग गरेको देख्दा लाग्छ, यो अहिलेको आधारभूत आवश्यकता नै हो । स्मार्ट फोन मात्र होइन, स्क्रीनको फिचर भएका अन्य डिजिटल ग्याजेटहरू जस्तै ल्यापटप, डेस्कटप, ट्याब्लेट, स्मार्ट टिभी, स्मार्ट वाच आदिको साथमा नियमित इन्टरनेट कनेक्सन पनि वर्तमान समयका मान्छेहरूको सहज र सुविधायुक्त जीवनयापनका लागि एउटा अति महत्वपूर्ण पूर्वशर्त बनिसकेको छ ।

यस्ता सरसाधनहरूको प्रयोगमा वर्तमान समाज चुर्लुम्मै डुबिसकेको तपाईं–हामी सबैले देखे–भोगेकै कुरा हो । जसरी खाद्यान्न, बत्ती, पानी तथा इन्धन आपूर्ति बन्द हुँदा मानिसहरूको जनजीवनमा प्रत्यक्ष प्रभाव पर्छ, त्यसरी नै यस्ता साधनहरू बिनाको अबको जीवन कल्पना गर्न पनि सक्दैनन् मानिसहरू । अहिलेका अधिकांश मानिसहरूले बिहान उठ्नासाथ सबैभन्दा पहिला हातमा समाउने तथा राति सुत्नुअघि सबभन्दा अन्तिममा हातबाट छुट्ने सामान बनिसकेका छन् स्मार्ट फोन तथा अन्य डिजिटल ग्याजेटहरू । भान्सादेखि किनमेलसम्म, पत्राचारदेखि समाचारसम्म, भुक्तानीदेखि बैंकिङसम्म, पढाइदेखि परामर्शसम्म, ज्योतिषीदेखि डाक्टरसम्म, सिरियलदेखि सिनेमासम्म, खेलको टिकटदेखि रेलको टिकटसम्म, फुकफाकदेखि पण्डितसम्म सबैसबै अहिले डिजिटल स्क्रिनभित्रै भेट्न सकिन्छ । यी सबै कुराहरूलाई हेर्दा लाग्छ, दुनियाँ अब रियल कम र भर्चुअलबढी हुँदै छ ।

स्मार्टफोन तथा अन्य डिजिटल ग्याजेटहरूको प्रयोगबाट मानिसहरूले प्रशस्तै फाइदा उठाइरहेको कुरा एकदमै सत्य हो । तर अर्को सत्य के पनि हो भने यस्ता डिभाइसहरूको प्रयोग बढ्दै जाँदा मानिसहरूको उत्पादनशील र अमूल्य समय पनि बर्बाद भइरहेको छ । अचेल जताततै र जुनसुकै बेला पनि मानिसहरू नशामा झुम्मिए झैं यस्ता डिभाइसहरूमा झुण्डिएर बसिरहेको देख्न सकिन्छ । वास्तवमा अवस्था हेर्दा यस्तो लाग्छ, यस्ता डिजिटल ग्याजेटहरूलाई मानिसले चलाएको नभई डिजिटल ग्याजेटहरूले चाहिँ मानिसहरूलाई चलाइरहेका छन् ।

अब प्रश्न उठ्छ, स्मार्ट फोन तथा अन्य डिजिटल ग्याजेटहरू मानिसलाई सजिलो बनाउन र समय बचाउन बनाइएका हुन् कि समस्यामा पार्न र समय बर्बाद गर्न ? के यिनीहरू मानिसलाई खराब आदत बसाउनका लागि नै बनाइएका हुन् त ? के यस्ता सामग्रीहरूमा राम्रा पक्षभन्दा खराब पक्ष नै बढी छन् त ? के यिनीहरूबाट हामीले फाइदा लिन सक्दैनौं त ? ल हेरौं यिनीहरूको फाइदाका महत्वपूर्ण पक्षहरूः

१. तत्काल सञ्चार सम्पर्क
२. आफ्नो रूचि अनुसारको मनोरञ्जन
३. आर्थिक तथा व्यवहारिक सजिलोपना
४. सिकाइ, जानकारी तथा प्रभावकारी सञ्चारका लागि राम्रो माध्यम
५. आफ्नो विज्ञता तथा प्रतिभा देखाउने राम्रो प्लाटफर्म
६. समय व्यवस्थापनमा सहयोगी

यति महत्वपूर्ण फाइदाका क्षेत्रहरू समेटिएका यस्ता डिजिटल डिभाइसहरूले वास्तवमा किन मानिसहरूलाई कुलत जस्तै नशा लगाइरहेका छ त ?
आउनुहोस् हामी यस पछाडिका कारणहरूको कुरा गरौं । सबभन्दा पहिलो कुरा अनलाइनका सामग्रीहरू तथा स्मार्टफोनका जुनसुकै खालका एप्लिकेसनहरू बनाउँदा सकेसम्म मानिसहरूको ध्यान धेरै खिच्ने गरी बनाइएको हुन्छ । त्यसमा प्रयोग भएको रंग, ध्वनि प्रभाव, त्यसले दिने मनोरञ्जन आदिले मानिसहरूलाई नशा लगाइरहेको हुन्छ । अर्कातर्फ यस्ता सामग्रीहरूले व्यक्तिहरूलाई खुसी बनाउने केही न केही बाहनाहरू वा क्रेडिटहरू दिइरहेका हुन्छन् । जस्तै, फेसबुकमा लाइक÷कमेन्ट, टिकटक÷युट्युबमा भ्युज, गेमहरूमा स्कोर/पोइन्टसका साथै कतिपय अनलाइन गेमहरूमा आर्थिक लाभको कुरा पनि राखिएको हुन्छ । यस्ता कुराहरूले मानिसलाई क्षणिक रूपमा भएपनि आनन्द महसुस गराउँछ र मानिसहरू जानी–नजानी यिनीहरूको पछि लागिरहन्छन् ।

अनलाइनका सामग्री तथा एप्लिकेसन बनाउनेहरूले आफ्नो कन्टेन्टलाई यसरी प्रस्तुत गरेका हुन्छन्, मानिसहरूले सोच्छन् आफूले खोजेको चीज यस्तै हो । यसको पछाडि यस्ता उत्पादकहरूको ठूलो अनुसन्धान तथा सर्वेक्षण जोडिएको हुन्छ । मानिसहरूको रूचि तथा खोजीलाई मध्यनजर गरेर नै यस्ता सामग्रीहरू तयार गरिएका हुन्छन् । अनलाइन हुन् वा अफलाइन एप्स, स्मार्टफोनमा यिनीहरू औंलाको मद्दतले एकदमै सजिलोसँग चलाउन सकिने गरी बनाइएका हुन्छन्, जसलाई चलाउन थालेपछि त्यसमा मानिसहरू छिट्टै अभ्यस्त हुने र पछि गएर त्यसले बानीकोरूप लिने गर्दछ ।

मानिसहरूको प्राकृतिक स्वभाव नै हो, मानिसले जे कुराबाट आनन्द पाउँछ त्यही कामतिर आकर्षित हुनु । अन्य विभिन्न खालका नशाहरू जस्तै चियापान, धूम्रपान, मद्यपान, लागुपदार्थ, स्वादिलो बनाउने पदार्थ मिसाइएका जंक फुडहरूआदिको सेवनका पछाडिको कारण त्यसबाट प्राप्त गर्ने छुट्टै खालको आनन्द नै हो । बालबालिकाहरूमा पनि यो नियम लागू नहुने कुरा भएन । अनलाइन तथा डिजिटल दुनियाँको महासागरमा मानिसले आफूलाई मनपर्ने तथा आनन्द दिने धेरै कुराहरू सजिलै प्राप्त गर्न सक्दछन् । अमेरिकाको युनिभर्सिटी अफ कनेक्टिकट, स्कूल अफ मेडिसिनका मनोविज्ञानका प्रोफेसर डा. डेभिड ग्रीनफिल्डले गरेको अनुसन्धानको निश्कर्ष अनुसार किशोरावस्थाका बालबालिकाहरूले खेल्ने गरेका डिजिटल गेमहरूले लागुपदार्थले जस्तै गरी डोपामाइन हर्मोन उत्पादन गर्न सघाउ पुर्याइरहेको छ । जसले उनीहरूमा फरक खालको आनन्द महसुस गराइरहेको हुन्छ । यसैले गर्दा बालबालिकाहरूमा अनलाइन तथा डिजिटल सामग्रीहरूको लत बढ्दै गइरहेको छ ।

मोबाइल र अन्य डिजिटल डिभाइसहरूको अधिक प्रयोगले बालबालिकामा कस्तो असर पारिरहेको छ ?

१. शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर समस्या
क) मानसिक/मस्तिष्कसम्बन्धी समस्याहरूः अनिदोपन, एकोहोरोपना, माइग्रेन, एङ्जाइटी, डिप्रेसनलगायत आदि ।
ख) आँखासम्बन्धी समस्याहरूः फोन तथा डिजिटल डिभाइसहरूको स्क्रिनबाट आउने नीलो प्रकाशलाई लगातार हेरिरहँदा आँखा सुक्खा हुने, चिलाउने, धमिलो देख्ने, निन्द्राको कमी आदि ।
ग) मुटुसम्बन्धी समस्याः लगातार डिजिटल डिभाइस चलाउने क्रममा पानी नखाने, खाना खान मन नलाग्ने, एक्कासी मोटाउने रदुब्लाउने हुँदा कोलेस्ट्रोलको मात्रा घटबढ हुन गई मुटुमा समस्या ।
घ) ढाड तथा घाँटीः लगातार मोबाइल र कम्प्युटरलगायतका विद्युतीय सामग्री चलाउँदा हातका बूढीऔंला, घाँटी र कम्मरको मांसपेशी तथा नाडीको नसा च्यापिने, गर्धनको हड्डी खिइने समस्या देखा पर्छन् ।

स्क्रीन लतसँग सम्बन्धित मानसिक रोगहरूः

अ) इन्टरनेट गेमिङ डिसअर्डर (इन्टरनेटमा गेम खेलेर समय बिताउने लत, विश्व स्वास्थ्य संगठनले यो समस्यालाई सन् २०१८ मा नै रोगहरूको अन्तर्राष्ट्रिय वर्गीकरणमा समावेश गरिसकेको छ ।)
आ) नोमोफोबिया (फोनविहीन हुनुपर्ने सम्भावनाको डर)
इ) सोसल मिडिया एडिक्सन (कुनै पनि सामाजिक सञ्जाल छाड्नै मन नलाग्ने गरी लागेको नशा)
ई) इन्टरनेट डिसअर्डर (दिनभरका सबै काम छाडेर इन्टरनेटमा बिताउने)
उ) फ्यान्टम भाइब्रेसन सिन्ड्रम (मोबाइल फोन आफूसँग नभएको बेला पनि फोन बजेको वा थर्केको आभास)
ऊ) फेसबुक एडिक्सन डिसअर्डर (फेसबुकमा पोष्ट गरेका सामग्रीमा साथीहरूबाट प्रतिक्रिया पाउने तीव्र आशा)
ए) फोमो (सामाजिक सञ्जालमा सामग्री पढ्न, पोष्ट गर्न र प्रतिक्रिया जनाउन पहिलो हुने प्यास)
ऐ) डिजिटल पाउटिङ (डिजिटल डिभाइसमा लठ्ठ भएका कारण साथीसंगीबाट समेत टाढा रहने आदत)

२. बानी–व्यवहार र सोचविचारमा गम्भीर समस्या

क) समयको बर्बादी र उत्पादनशीलतामा कमीः नियमित कामकाज तथा पठनपाठनमा ढिलासुस्ती र कमजोरी ।
ख) असन्तुष्टिमा वृद्धिः विज्ञापनको प्रभाव तथा त्यहाँ देखिने धेरै कुराहरूको चाहना पूरा हुन नसकेका कारण ।
ग) सामाजिक घुलमिलमा कमीः अरूसँग मिल्नु सट्टा अनावश्यक रुपमा झर्को–फर्को गर्ने, सानोतिनो कुरामा रिसाउने, समाजका मान्छेसँग टाढा हुन खोज्ने ।
घ) रचनात्मक सोचमा ह्रासः मस्तिस्कलाई पर्याप्त आराम नपुग्दा र मस्तिष्कमा आवश्यक भन्दा अनावश्यक कुरा बढी जम्मा हुँदै जाँदा ।

३. अश्लील सामग्रीको असर, विभिन्न प्रकारका दुव्र्यवहार, यौन हिंसाका घटनाहरू तथा अन्य विभिन्न साइबर अपराधको उच्च जोखिम

क) अश्लील/यौनोत्तेजक सामग्रीको बानी पर्न गएमा गर्दा बालबालिकाको मनोविज्ञानमा गम्भीर असर ।
ख) साइबर अपराधीहरूको निसानामा धेरैजसो बालबालिकाहरू पर्ने गरेकाले महिला र बालबालिकाहरू अनलाइनमा मात्र नभई भौतिक रूपमा पनि जोखिममा ।
ग) विभिन्न अनलाइन प्लेटफर्मबाट आउने प्रलोभन, व्यक्तिगत र गोप्य सूचनाको चोरी आदिबाट आर्थिक अपराध र असुरक्षामा वृद्धि ।

धेरै अभिभावकको साझा चिन्ताः ‘बच्चालाई कसरी मोबाइल छुटाउने ?’

आफ्ना बालबालिकाको स्क्रीन लत अहिलेका धेरैजसो व्यस्त अभिभावकहरूको ठूलो चासो र चिन्ताको विषय बन्न पुगेको छ । उनीहरूले सोच्ने गर्दछन्, स्क्रीनको बानीबाट आफ्ना बालबालिकाहरूलाई मुक्त गर्न सक्ने हो भने उनीहरूको धेरै कुराहरूमा सुधार आउन सक्ने थियो । तर यो कुरा त्यति भरपर्दो कुरा होइन । अर्थात् बालबालिकाहरूलाई स्क्रीन लतबाट छुटाउनासाथ सबै कुरा राम्रो भइहाल्ने पनि होइन । फेरि अर्को कुरा यदि अभिभावकहरूले स्क्रीन लत छुटाउने मात्र उद्देश्य राख्न पुग्दछन् भने त्यो उद्देश्य पूरा हुन धेरै गार्हो छ । यसको विपरित, मोबाइल तथा यस्तै खालका स्क्रीनको लतलाई कम गरेर उनीहरूको रूचि र खुबी अनुसारको रचनात्मक र सिर्जनात्मक क्षेत्रमा अघि बढाउने उद्देश्य राख्न सकेमा भने दुवै किसिमले फाइदा मिल्दछ ।बालबालिकाहरूमा जन्मजात अथवा पछि आर्जन गरेका विभिन्न प्रकारका क्षमताहरू अन्तरनिहित हुने गर्दछन् ।

कसैमा प्राकृतिक कुराहरू सम्बन्धी खोज गर्ने क्षमता हुन्छ, कसैमा संगीतको रूचि हुन्छ, कसैमा तार्किक तथा गणितीय तथा यन्त्रगत क्षमता रहेको हुन्छ कसैमा जीवन र जगतको अस्तित्व खोजी गर्ने स्वभाव रहेको हुन्छ । त्यसैगरी कतिपय व्यक्तिमा अरू व्यक्तिसँग सजिलै घुलमिल हुन सक्ने तथा अन्तरव्यक्ति सम्बन्धको विकास गर्न सक्ने गुण अन्तर्निहित हुन्छ भने कतिपय अन्तर्मुखी र आफ्ना कुराहरूलाई फरक ढंगले व्यक्त गर्न सक्ने क्षमता हुन्छ । कतिपय बालबालिकाहरुमा शाब्दिक तथा भाषागत चातुर्य तथा क्षमता रहेको हुन्छ । अन्य कतिपय बालबालिकाहरुमा आफ्नो शरीरले गर्नसक्ने अथवा शारीरिक बलबाट हुने कामहरूमा रुचि हुन्छ । त्यसैगरी कतिपय बालबालिकाहरूमा तस्वीर अथवा कुनैपनि त्रिआयामिक वस्तुहरू बारे जानकारी दिने र ती वस्तुहरू निर्माण गर्न सक्ने गुण रहेको हुन्छ । आफ्ना बालबालिकाले देखाउने व्यवहार तथा रूचिलाई हेरेर यस्ता क्षमताहरू मध्ये कुन क्षमता उसका लागि व्यक्तित्व विकास गर्नेखालको हुनसक्छ पहिचान गरी त्यसैतर्फ अघि बढाउन सकिन्छ । यसो गर्दा एकातिर स्क्रीन लत पनि हट्दै हट्दै जान्छ भने अर्कातिर उनीहरूको रचनात्मक र सिर्जनात्मक क्षमतामा पनि बृद्धि हुँदै जान्छ ।

(मकवानपुर बहुमुखी क्याम्पसका उप–प्राध्यापक लामिछानेले डिजिटल लत तथा बाल व्यवहार विकासमा विगत पाँच वर्षदेखि व्यवहारिक खोज तथा अनुसन्धान गर्दै आउनुभएको छ ।)