नेपाली समाज यतिबेला लक डाउनमा छ । सबै नागरिकलाई घर भित्र बस्न सरकारले अनुरोध गरेको छ । यो अनुरोध नागरिक स्वयम्का लागि हो । चक्रिय तथा पीरामिड शैलीमा फैलने कोरोना भाइरसबाट बच्न विश्वका अन्य राष्ट्रहरुले पनि यो विधि अपनाएका छन् । सरकारको आदेशलाई हुबहु पालना गर्ने चीन भाइरसबाट मुक्ती पाउने अवस्थातर्फ गएको छ । तर जुन देशमा सरकारको आदेशलाई हल्का रुपमा लिने वा अनुशासनमा नबस्ने समाज छ, त्यहाँ कोरोना नियन्त्रण बाहिर नै गएको छ । भाइरसबाट हुनसक्ने संक्रमण र यसबाट नागरिकलाई बचाउन नेपाल सरकारले गरेका प्रयास तथा निर्णयहरू प्रशंसनीय छन् र धेरैले समर्थन गरेको अवस्था छ । तर निर्णय गर्नु र कार्यान्वयन हुनुमा पक्कै पनि फरक छ । गम्भीर अवस्थामा सरकारले धेरै कुरामाध्यान पुर्याउनुपर्ने हुन्छ । अनुगमन संयन्त्रमार्फत निर्णयहरु निर्ममतापूर्वक कार्यान्वयन गराउन सक्नु पर्दछ । साथै भइरहेका कार्यहरूका बारेमा समयमै स्पष्ट र बुझिने गरी सूचना प्रवाह हुन आवश्यक छ । यस काममा अझै पर्याप्तता देखिएको छैन ।
कोरोनाको संक्रमण देखिन थालेपछि देशलाई पूर्णरुपमा ठप्प बनाएको अवस्था छ । तर सरकारको यो घोषणलाई केही नागरिकहरुले आफ्ना लागि नभएको बुझेका छन् । त्यसैले उनीहरु सरकारको आदेशको अवज्ञा गरिरहेका छन् । विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले कफ्र्यू समेत लगाउन बाध्य भएका छन् । देश संकटमा हुनु भनेको नागरिकले पनि असहज परिस्थितिको सामना गर्नै पर्दछ । देश भनेकै नागरिक नै हुन् । त्यसैले देशको संकट प्रत्येक नागरिकको संकट हो । तर अभिभावक भएको नाताले सरकारले जनताका लागि सहजीकरण गर्ने काम गर्नु नै पर्दछ । त्यही सहजिकरण गर्ने क्रममा लक डाउन घोषणा गरिदिएको छ । त्यसलाई कार्यान्वयन गर्ने काम प्रहरी प्रशासनको नभई नागरिकको जिम्मेवारी हो । तर नागरिकहरु यो जिम्मेवारी पुरा गर्नबाट चुक्दैछन् । उनीहरुलाई कोरोना भाइरसको भयावह रुप थाहा नभएर हो वा उनीहरुको वाध्यता हो ? यतिबेला सरकारको घोषणा उल्लंघन गर्नेहरु बाध्यताले भन्दा पनि सरकारलाई चुनौती दिन मात्रै बाहिर निस्कने गरेका छन् ।
लक डाउनका समयमा नागरिकका लागि अत्यावश्यक व्यवस्था गर्नु सरकारको जिम्मेवारी हो । निम्न आय भएका वा दिनभर काम गरेपछि मात्र बेलुका चुलो बाल्नु पर्ने बाध्यता भएका धेरै नेपाली छन् । उनीहरुका लागि यो लक डाउन अभिषाप हो । हुन त यो अवस्था कसैका लागि पनि सुखद् हैन तर विशेषगरी तल्लो वर्गका लागि जटिल बन्ने छ । त्यसैले उनीहरुका लागि राज्यले विशेष कार्यक्रमको घोषणा गर्नु आवश्यक छ । प्रत्येक स्थानीय तहले आफ्ना वडाहरु मार्फत त्यस्ता नागरिकको तथ्यांक संकलन गरी आवश्यक सुविधाको व्यवस्था हुनु पर्दछ । कोरोना संक्रमणबाट बाँच्न गरिएको उपाय मार्फत खाना नै नपाएर फेरि कसैको ज्यान जाने अवस्था आउन नदिन योजना आवश्यक छ । यति बेला सबैले जिम्मेवारीबोध र मानवीय भावना प्रकट गर्नुपर्ने अवस्था छ । यस्तै घरघरमै बसेका नागरिकहरुले कोरोनाबाट बच्न अपनाउनु पर्ने सावधानीप्रति सचेत हुनुपर्दछ । विकसित मुलुकमा पनि संक्रमण नियन्त्रण गर्न धौधौ भईरहेका बेला नेपालका लागि यो ठूलो चुनौती हो । यो चुनौतिको सामना गर्न नागरिक र सरकार हातेमालो गरी अघि बढ्नुको विकल्प छैन ।