हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडालाई मकवानपुर उद्योग वाणिज्य संघले मास्क हस्तान्तरण गर्दै । फाइल तस्वीर ।

(समाचार टिप्पणी)
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) ले चीनलाई थिलथिलो बनाएर युरोपलाई संक्रमित बनाउँदै गर्दा करिब दुई साताअघि नेपालमा पनि कोरोना चर्चाको विषय बनिरहेको थियो । चीन जस्तो शक्तिशाली देशले सामना गर्न नसकेको भन्ने अर्थमा कोरोनासँग नेपाली त्रसित थिए । मकवानपुरमा पनि कोरोनाको त्रास बढ्दो क्रममा थियो । यसअघि भूकम्प र नाकाबन्दीका बेला खाद्यान्नमा चर्को मूल्यवृद्धि, कालाबजारी भोगेका मकवानपुरबासी त्रासमा दुख पाउने श्रृंखलाको तेस्रो संस्करण भोग्नुपर्ने हो कि भन्नेमा अझ बढी त्रसित थिए । तर, एकाएक मकवानपुरका व्यवसायीहरुले भूकम्प र नाकाबन्दीको भन्दा सुधारिएको चरित्र प्रस्तुत गरे । यस पटक व्यवसायीबाट महंगी र कालाबजारीको सट्टा त्यसलाई हस्तक्षेप गर्ने गरी निशूल्क मास्क, साबुन, स्यानिटाइजर वितरणदेखि सहज खाद्यान्न आपूर्तिका लागि प्रयत्नशील देखिए ।
कोरोनाको त्रास उपभोक्तामा मात्रै नभएर व्यवसायीमा पनि देखियो । व्यवसायीमा मानवता देखियो । हेटौंडा–१०, राप्तीरोडस्थित युनिक फेन्सीका सञ्चालक सरोज चौलागाईले मकवानपुरका ट्राफिक प्रहरीलाई मास्क वितरण गरेर सुरु भएको व्यवसायीको सकारात्मक प्रयास क्रमशः कपडा तथा तयारी पोशाक व्यवसायी संघ हुँदै व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ मकवानपुरले पनि निशूल्क मास्क वितरण गर्नेदेखि सहज खाद्यान्नको आपूर्तिमा सहजकर्ताको भूमिका निर्वाह गर्यो। जसका कारण आज लकडाउनको अवस्थामा पनि सर्वसाधारणले कोरोनाको त्रासलाई सहजै सामना गरिरहेका छन् ।
कोरोनाका कारण लकडाउन हुने खतराका बाबजुद सर्वसाधारणले खाद्यान्न, इन्धन जस्ता अत्यावश्यक वस्तुको अनावश्यक भण्डारण गर्न आवश्यक देखेनन् । लकडाउनका बाबजुद सर्वसाधारणले खाद्यान्न, इन्धन लगायत अत्यावश्यक सेवा प्राप्त हुने विश्वास गरेका छन् । हामी यतिबेला हिजोको भूकम्प र नाकावन्दीभन्दा फरक चरित्रको समस्यामा छौं । कोरोनाको संक्रमणविरुद्ध सरकारको कडा उपस्थिति पनि देखिएको छ । जसले मुख्यतः अत्यावश्यक वस्तुको अभावको त्रास देखिएको छैन । आइतबार र सोमबार केही सीमित खाद्यान्न पसलमा उपभोक्ताको भीड देखिए पनि त्यो असामान्य थिएन । कोरोनाको त्रासमा केही उपभोक्ता आत्तिएको भए पनि आम उपभोक्ता उपभोग्य वस्तुको अभाव हुने मनोविज्ञानबाट प्रभावित थिएनन् । व्यवसायीले चोकचोकमा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था समेत गरे । हिरासतमा रहेका बन्दीलाई मास्क वितरण गर्ने सार्वजनिक स्थलमै मास्क वितरण गर्ने कार्यले विपद्विरुद्ध लड्न हौसला प्रदान गरेको छ ।
यसपटक उद्योग वाणिज्य संघको नेतृत्व व्यवसायी र नाफामुखी चरित्रभन्दा पनि सामाजिक चरित्रको हुनु, एकजना व्यवसायीदेखि कपडा तथा तयारी पोशाक व्यवसायी संघका नेतृत्व पनि हालै निर्वाचित र सामाजिक उत्तरदायित्व बुझेका व्यक्तिको समूह रहनु सकारात्मक पक्ष हो । हुन त भूकम्प र नाकाबन्दीको बेलामा जस्तो जनप्रतिनिधिविहिन अवस्था अहिले छैन । अहिले जनताका समस्यालाई लिएर जनप्रतिनिधि र तिनका प्रतिपक्षी दुबैको सशक्त उपस्थिति हुनुले कोरोनाको त्रासलाई सहजै सामना गर्न प्रेरित गरेको छ । लोकतान्त्रिक व्यवस्था यस्ता संकटका बेलामा सामना गर्न सहयोगी हुने रहेछ भन्ने पनि बुझ्नु जरुरी छ ।
भूकम्पका बेला स्थानीय प्रशासनदेखि व्यवसायीको छाता संस्थाका नेतृत्व पनि कमाउ धन्दामा लागे । भूकम्पका बेला राहत सामग्रीको आपूर्ति र वितरणमा चर्को अनियमितता भए भने नाकाबन्दीका बेला रातारात व्यवसायीले उपभोग्यवस्तुको मूल्य वृद्धि गरेर सर्वसाधारणलाई मानसिक र आर्थिक दुबै पक्षबाट लुट मच्चाए । भूकम्प र नाकाबन्दीको वास्तविक समस्या भन्दा व्यवसायीहरुको लुटतन्त्रले आम मकवानपुरवासीले व्यवसायीलाई हेर्ने दृष्टिकोण नै अत्यन्त नकारात्मक बनेको थियो । भूकम्प र नाकाबन्दीमा आम मकवानपुरवासी पीडित बने पनि केही व्यवसायीलाई कमाउने अवसर बनेको थियो । त्यस्ता व्यवसायीले ऋण तिर्नदेखि घरजग्गा जोड्न समेत भ्याए । यसपटक पनि कोरोनाको त्रासमा कमाउने आशमा रहेका व्यवसायी यत्तिबेला बेचैन बसेको हुनुपर्छ । अझै यो त्रासलाई कसरी अवसरको रुपमा उपयोग गर्ने भन्ने सोचमा निन्द्रा नपरेको हुनुपर्छ । तर त्यस्ता व्यवसायीको मनले जोडेका लुटको नाफा यस पटक खाता भने जम्मा हुने छैन । यदि कसैले यस्तो सपना देखे कारागारको यात्रा तय गर्ने निश्चित छ ।
कोरोनाको त्रासमा रहेका मकवानपुरवासीलाई मनोवैज्ञानिक रुपमा सवल बनाउन मकवानपुर उद्योग वाणिज्य संघले स्थानीय सरकार, प्रदेश सरकारसँग समेत छलफल गरी व्यवसायीले जिम्मेवार भएर उपभोग्य वस्तुको सहज आपूर्ति गर्ने प्रतिवद्धता जनाउनु अर्को प्रशंसनीय कार्य हो । जसले रोगको संक्रमणको त्रासविरुद्ध लड्न मकवानपुरवासीलाई अरु कुनै चिन्ता भएन । उद्योग संघ मकवानपुरले पनि जिम्मेवारीपूर्ण तरिकाबाट उद्योगमा कार्यरत मजदुर, कर्मचारीसहित हेटौंडा औद्योगिक क्षेत्र आसपासका सर्वसाधारणको स्वास्थ्य परीक्षणदेखि मास्क वितरणको कार्य गर्यो । मकवानपुरका केही होटल तथा पार्टी प्यालेस सञ्चालकले आआफ्ना होटल पार्टी प्यालेसलाई आवश्यक परे क्वारेन्टाइन तथा आइसोलेसन कक्षको रुपमा उपयोग गर्न प्रेदश या स्थानीय सरकारलाई उपलब्ध गराउने घोषणा समेत गरेर नागरिकप्रतिको जवाफदेहिता र राज्यसँग सहयोगी भूमिका निर्वाह गर्ने प्रयास गरेका छन् ।
अत्यन्त विकसित भनिएको मुलुकका लागि ठूलो संकट बनेको कोरोना भाइरसविरुद्ध समग्रमा नेपाली समाज र मकवानपुरवासीले समेत देखाएको एकता आफैंमा अतुलनीय र सराहनीय छ । कोरोनाको त्रासलाई एकताका साथ समाधान गर्नतर्फ राज्य व्यवस्था, नागरिक, व्यवसायी सबै सतर्क भएर लाग्नु आगामी दिनका लागि पनि शिक्षाको विषय हो । कोरोनाको संक्रमण नै नहोस् भनेर नेपालीले देखाएको अठोट र एकताले भोलिका दिनमा जस्तो सुकै समस्याको पनि एक भएर सामना गर्ने प्रयास गर्न सकिनेछ भन्ने सिकाएको छ । अहिले मकवानपुर उद्योग वाणिज्य संघसहित वस्तुगत संघ र व्यवसायीहरुले देखाएको सदाचार र सुसंस्कृतिलाई भोलिका नयाँ पुस्तामा पनि हस्तान्तरण गर्नु जरुरी छ । साथसाथै अहिलेको त्रासलाई अवसर बनाउन पाए हुने भन्ने मानसिकता देखाउने व्यवसायीलाई सदाचार, सुसंस्कृत व्यवसायीले नै चिन्छन् स्पष्टसँग । त्यस्ता चरित्रलाई क्रमशः सके सुधार्ने नसके उनीहरु विरुद्ध सधैं लड्न पनि तयार हुनुपर्छ ।