हेलो ।”
“हेलो ! हजुर ऋषिराम सर हो ।”
म ऋषिराम त हुँ तर त्यो ‘हजुर’ चाहिँ होइन ।”
“हँ किन र ?”
तँबाट सूरु गरेर तिमी, तपाई हुँदै हजुरसम्म पुग्न हुने–नहुने सवै कर्म गर्न पछि नपर्ने मानिसहरु छयास् छयास्ती भेटिने समाजमा अर्काले सित्तै दिएको हजुर पनि लिन नसक्ने मनुवा कस्तो होला भनेर उस्ले अचम्म मान्दै सोधेको हुनु पर्छ ।
अग्रज प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माद्वारा लिखित ‘तँ, तिमी, तपाई, हजुर’ शिर्षकको निबन्ध मैले केही दिन अघि मात्र दोहोर्याएर पढेको हुनाले भनिहालूँ । “हजुरबाट सम्बोधित हुन पुग्ने जत्ति मसँग कमाई धमाई पनि छैन । फेरी त्यो शब्द सुन्न म अभ्यस्त पनि होइन । त्यसैले त्यो शब्द म माथी प्रयोग गरेर घाटाको व्यापार किन गर्नुहुन्छ ?”
“त्यसो भए तपाई ऋषिराम सर मात्र त हो नी ?” अर्को तिरबाट प्रश्न आयो ।
“भन्न सक्तिन ।” मैले पनि तुरुन्त जवाफ दिएँ । नामको अघि वा पछि सर राखेर आफ्नो परिचय दिने मेरो बानी थिएन । त्यसैले फोनको हरेक हलोपछि ‘म ऋषिराम मास्टर’ भनेर आफु परिचित हुन म अभ्यस्त भई सकेको थिएँ । किनकि मलाई चिन्ने धेरै मानिसले अगाडि पर्दा ‘सर’ जोडेर सम्बोधन गरे पनि मेरो पछाडी भने उनीहरुले ‘ऋषिराम मास्टर’ भन्ने गरेको मलाई भरपर्दो सूचना थियो । गौरवशाली राता नीला इतिहास बोकेका दलका अहिलेका शक्तिशाली नेताहरु जस्तो सुकै कालो काम गर्न पनि लाजै नमानी अघि सरे जस्तै म अरुको खुला दिलले भन्ने नगरेको त्यो ‘सर’ को पगरी गुथेर निर्लज्जताको प्रदर्शन किन गरौं रु फेरी समाजलाई समतामुलक बनाउने हाम्रो अभियान हो भने सवैभन्दा पहिले हामीले प्रयोग गर्ने भाषालाई प्रगतिशील रुपान्तरण किन नगर्ने ?
“त्यसो भए तपाई के हो त ?” कलरले खुरुन्धारै गर्यो । “अहिले म केही पनि होइन । पहिले चाहिँ म शिक्षक थिएँ ।” ठुला दलका मूल्यांकन पीडित कार्यकर्ताले जस्तै मैले आफ्नो ईतिहास कोट्याएँ ।
“कृपया, मजाख नगर्नुहोस न् यार १” उस्ले झिँझो मानेको स्वरमा भन्यो ।
“भन्नुस् न तपाई पनि कस्लाई खोज्या हो ?” म पनि तातिएँ ।
“ऋषिरामलाई” उस्ले तुरुन्त जवाफ दियो ।
“कुन ऋषिराम ?” मैले पनि सोधि हाले “म आफै धेरै चोटि धेरै ऋषिरामसँग ठोक्किई सकेको छु ।”
“त्यो त सरलाई सोध्नु पर्छ । एक छिन है ।” अंशवण्डाको अघिल्लो रात धनी परिवारका वुहारीहरुले सुत्ने कोठामा आफ्ना हुस्सु श्रीमान्को कान फुके जस्तै एकछिन खासखुस चलेको मलाई थाहा भो । किनकी म होल्ड मै थिएँ ।
“हेलो सरी है ऋषिराम जी, रंग नम्बर” उस्ले फोन राख्यो । म पनि राति नपुगेको निद्रा पुर्याउनु पर्यो भनेर ओछ्यान टकटकाउन थाले ! एकछिनपछि फेरी रिंग टोन आयो ।
“हेलो ! फोन उठाउँदै मैले बोलें ।
“हेलो ! सरले खोजेको ऋषिराम तपाई नै हो रे ।” संकटकालमा बिना पुर्जी प्रहरीले मान्छे पक्रिन जाँदा यहि भाषा प्रयोग गरेको मैले सम्झेँ ।
“ए, होर ।” मैले भनेँ ।
“हो त” उस्ले भन्यो “सरले निम्ता भन्दिनु भन्नु भा” छ । ठिक ३ बजे ……. को हलमा ।”
निम्तो भन्ने शब्द सुन्नासाथ उत्साहित भएर म दाही भिजाउन थाले । हुन त यो कुनैै विहे ब्रतवन्धको सिजन थिएन । तैपनि के ठेगान आजकाल नवधनाढ्यहरु भूतपुर्व प्रमिकासँग पहिलो चोटी आँखा जुधेको दिनको सम्झनामा पनि ठुल्ठलै भोज गरेर भि।आई।पि। पार्टी दिन्छन् रे । घरको विरालोको जन्मदिनमा पनि धेरै पैसा बगाउँछन् रे । आखिर सर न ठहरिएँ । कतैै मिठो मसिनो मुखमा परिहाल्छ कि भनेर बोलाएकै समयमा बोलाएको ठाउँमा पुग्दा आज अप्रिल फुल त होइन भनेर मेरो आँखा एकछिनसम्म क्यालेण्डरमा चर्न थाले । निर्धारित समय भन्दा झण्डै एक घण्टापछि ढोका खुल्दा खोल्नेको मूहार झर्रो नेपाली हुनुको गर्वले फुलेको थियो । उस्कै सम्मानका लागि भने पनि म हल भित्र छिरेँ । त्यसपछि कार्यक्रम नसिद्धिउन्जेलसम्म फाट्टफुट्ट मान्छे आउने क्रम जारी रह्यो । भारतको रेलवे स्टेशनको माग्नेले जस्तै आगन्तुकलार्ई नफर्किने नमस्ते टक्र्याउनुबाट सुरु भएको मेरो ड्यूटीको अन्त्य पनि त्यसैबाट भयो । कतिपयले त फर्काउन परै जावस नमस्ते हेर्र्ने कस्टसम्म पनि गरेनन् ।
हलमा उपस्थित हुने जति सवै अतिथी भएको त्यो कार्यक्रममा आफू भाग्यमानी हुन पाइएन । किनकी नाम मिले पनि थर मिलेन । नाम सुने पछि झसंग भएर उठ्न खोज्दा पनि छेउमा बसेको साथीले सर्टको फेर नै च्यातिने गरी तानेर मलाई बसायो । आफ्नो नाम बोलाउँदा मञ्चमा उक्लँदो अर्कै जुंगामुठे भुँडीवाल मान्छे देखेपछि पो मलाई थाहा भो बोलाईएको मान्छे ‘म’ होइन भन्ने ।
सर आफैले बोलाएको उनकै अभिनन्दनको त्यो कार्यक्रममा मेरो दुई थान कानले मात्र काम पाए । हुनत मुखले आंशिक भए पनि काम पाउँथ्यो होला । तर आफु परियो सुगरको रोगी । त्यसैले अरुले गुलियो चियासँग स्वादिष्ट विस्कुट खाँदा तल माथि नाचेका रुद्रघण्टी हेर्दै विभिन्न स्वरमा बजेको घाँटीको आवाज सुनेर कार्यक्रम अवधि भर म आनन्दित भई रहे । राज्यको आँखाबाट ओझेलमा रहेका कर्णालीवासी नेपालीले भोगेको खाद्यान्न र औषधि संकट जस्तै आफ्नो पहिचान संकटको कटु अनुभव लिएर घर फर्किनु बाहेक मसँग अन्य कुनै विकल्पै रहेन ।
घर आउँदा बाटैभरि मलाई अनुत्तरित प्रश्नहरुले लखेटी रहे । बौद्धिक रुपले रित्ता मान्छे पनि पैसा भएकोले परिचित र सम्मानित भएको देख्दा पैसा नै पहिचान र सम्मानको श्रोत रहेछ भन्ने मलाई लाग्यो । त्यसैले पैसा कमाउन नसकेकोमा आफैंले आफैंलाई धिक्कार्न पर्ने जस्तो भो । आफ्नो तारिफ आफैले गरेर कहिले नथाक्नेहरु पनि धेरै पटक सम्मानित भएको देखेको छु । असल, गुणी मान्छेको तारिफमा धेरै शब्द खर्च गर्न उद्दत म आफ्नो मामलामा आवश्यकता भन्दा अघिक कञ्जुस त भईनू म आफूले आफैलाई प्रश्न सोध्न थाले ।
झण्डै ४ दशक लामो मेरो अध्यापन-प्राध्यापन कार्यले मलाई धेरै विद्यार्थी निकट पुर्यायो । सायद मैले जति धेरै संख्यामा विद्यार्थी पढाएँ त्यस भन्दा बढी वा तेत्तिनै विद्यार्थी पढाउने शिक्षकहरु कमै होलान् । अहिले तिनै विद्यार्थी सामाजिक जीवनका हरेक क्षबमा अग्रणी भूमिका सहित क्रियाशील छन् । यसले मलाई गर्वको अनुभूति गराउँछ । विभिन्न तहमा मेरो विद्यार्थी रही सकेका व्यक्तिहरुले मलाई चिन्दैनन् होला भन्ने म सोँच्न पनि सक्तिन । किनकी मलाई भेट्दा उनीहरु आफ्ना परिवारका सदस्यलाई जस्तै आत्मियता प्रकट गर्छन् र मेरो पढाउने सीप र शैलीको चर्चा गर्छन् । जिल्लाका सवैजसो शैक्षिक संस्थामा सकेसम्म सवै नभए कम्तिमा पनि एकजना भए पनि मेरो भूतपूर्व विद्यार्थी कार्यरत छन् । यस्तो अवस्थामा पनि आफ्नो कालीदाशको ‘क’ जस्तै पहिचान खिईनु दुःखदायी होइन र ?
“ओ ऋषिराम जी । यो त गाउँ तिर रोपाइँको बेला पर्म लगाए जस्तै हो । केटाकेटीलाई भात खुवाउन गुलियो हाले जस्तै तपाईको शब्दमा चाकडीको गन्ध आउनु पर्यो नि ! नत्र यो पनि काम लाग्ने मान्छे हो भनेर अरुले कसरी थाहा पाउने, झुठो तारिफ गरेर पर्म लाउन नसक्नेले स्वाभिमान र पहिचान खोज्ने ! वाहियात ” डयाम्म ढाप मारेर एउटा साथीले भनेपछि मात्र मेरो घैंटामा घाम लाग्यो ।