हेटौंडाः प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश ३ सरकारसंग अलमल गरेर बस्ने समय नभएको बताउनुभएको छ । प्रदेश सरकारको आर्थिक अनुदानमा निर्मित प्रदेश ३ का ४८ वटा प्रहरी चौकीका निर्माणाधिन भवनहरुमध्ये मकवानपुरका नवनिर्मित प्रहरी चौकी भवनहरूको अनुगमन गर्दै मन्त्री जम्कट्टेलले कतिपय ठेकेदारहरुका कारण काम अवरुद्ध हुने गरेको बताउदै तोकिएको समय सिमा भित्र कुनै पनि हालतमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
समस्याहरु आए समाधान गर्न लाग्ने भन्दै उहाँले टहरोमा बसेर नागरिकहरुको सेवा गर्ने प्रहरी कर्मचारीहरूको दुःख देखेर नै प्रदेश सरकारले प्रहरी चौकी भवन निर्माण गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुको रकम रोक्का गर्ने तथा आगामी योजनाहरुमा सहभागी नगराउने बताउनुभयो । मन्त्री जम्कट्टेलले आज मकवानपुरको बकैया गाउँपालिका, हात्तीसुँडे स्थित २ करोड ५ लाख लगानीमा निर्माणाधीन प्रहरी चौकी भवन, हेटौंडा १५ स्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको ४ करोड ३९ लाखको लागतमा निर्माणधिन महिला तथा पुरुष प्रहरी ब्यारेक भवन, ३ करोड ४६ लाख को लागतमा निर्माणाधीन हेटौंडा ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन र भीमफेदी कारागारमा ४० लाखको लगानीमा निर्माणाधीन महिला बन्दी गृहको अनुगमन गर्नुभएको हो ।
प्रदेश ३ का प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले प्रदेश सरकारले प्रदेशभर ४८ वटा आधुनिक प्रहरी चौकी भवनहरु निर्माण प्रारम्भ गरेर प्रहरीहरुको आत्मबल वृद्धि गराएको बताउनुभयो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेश कुमार सिहले भवन निर्माणपछि प्रहरीहरुलाई कार्यसम्पादन गर्न सहज हुने धारणा राख्नुभयो ।