हेटौंडाः प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवम् संरक्षण केन्द्रले मंगलबार एक कार्यक्रम गरी स्थानीयहरुसँग वर्तमानमा भइरहेको समस्या र अब गर्नुपर्ने कार्यहरुको बारेमा छलफल गरेको छ । कार्यक्रममा प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत नारायण गिरीले देशले अहिले माछा धेरै आयात गर्नु नपरेको बताउनुभयो । केन्द्रले खडेरी र बाढीका कारण केहि समस्या भए पनि केन्द्र सन्चालनमा स्थानीय समुदाय नै मुख्य पहरेदार भएको बताउनुभयो । केन्द्रको प्रगति र उन्नतिका लागि स्थानीयसँग सहकार्य गरेर अगाडि बढ्ने पनि उहाँले जीकिर गर्नुभयो । केन्द्रका मत्स्य विकास अधिकृत भीम पाण्डेले आर्थिक वर्ष २०७५-७६ मा केन्द्रले खाने माछा ३ हजार १ सय ६७ किलो विक्रि गर्नुको साथै ह्याचलिङ ४ करोड ८५ लाख ७५ हजार वटा, फ्राई २८ लाख ७९ हजार र फिंगरलिङ १० लाख २८ हजार वटा विक्रि गरेको बताउनुभयो । केन्द्रमा हाल साना ठुला गरी ३३ वटा मात्स्यपालन पोखरीहरु सञ्चालनमा रहेका छन् ।