देवप्रसाद श्रेष्ठ ।

(आज देश जुन स्थितिमा पुगेको छ त्यसको मूल कारण भ्रष्ट्राचार नै हो । अहिलेसम्म सत्तामा पुगेका सबै नेताको सम्पत्ति शुद्धीकरण गर्नु नै देशलाई अराजकताबाट जोगाउनु हो)

अहिले देशमा कोहि पनि खुसी र सन्तुष्ट छैन । राज्य सञ्चालन गर्नेहरुले सुशासनको सट्टा कुशासन चलाइरहेको छ । जताततै भ्रष्ट्राचार छ, अन्याय छ, अत्याचार छ, भेदभाव छ, महंगी छ, बेरोजगारी छ, रुवाबासी छ, दिनहुँ घरबार छाडेर पढ्न, गाँस–बास जुटाउन ऋण खोजेर बाहिर जान हतारिएको छ ।

बन्द व्यापार सुस्त छ । उद्योग, कलकारखाना फस्टाउन सकेको छैन । यो निराशाको कुरा होईन वास्तवमै देशको अवस्था दुर्गतिमा परेको जनताको अवस्था दिन–पर–दिन खस्कँदै गएको, अन्यौल र अराजकता मौलाउँदै गएको छ । अहिले कोहि खुशी छन् भने दलहरुका निगाहमा फाइदा उठाएका भातृ संगठनका कर्मचारीहरु राजनीतिक संवैधानिक पदमा नियुक्ति पाएका झोलेहरु नीति र सिद्धान्त बिर्सेर आत्मसम्मान र स्वाभिमान गुमाएका कार्यकर्ताहरु गलत कामको विरोध गर्न नसक्ने काँतरहरु, नेताको आशीर्वाद कुरिरहेका भरौटे बुद्धिजिवीहरु मात्र छन् ।

२००७ साल भन्दा अगाडि जहाँनीया राणा शासन थियो । जनता निरीह थिए । राणाका सन्तान देख्ने बित्तिकै दुबै हातहरुले जदौ गर्दै पछाडि सर्दै जानु पर्दथ्यो । शक्तिशाली राणाहरु आफुमै काटमार गरेर सत्ता हत्याउँथे । राजालाई समेत नियन्त्रणमा राखेर जहाँनीया शासन चलाएका थिए । जनजातिका बलिया बाङ्गा युवालाई अरु देशका जनतासँग लड्न, काटमार गर्न साम्राज्यवादीलाई बिक्री गरेका थिए । नियम, कानुन राणाको मुखमा थियोे । जनतालाई भेडा, बाख्रा सरह गन्दथे । यस्तो एकलौटी जहाँनीया शासनको सहिदहरु गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीहरुको बलिदान र नेपाली जनताको जेल–नेल बलिदानले अन्त गरी २००७ सालमा प्रजातन्त्रको बहाली भएको हो । यस्तो शासन देख्ने भोग्नेहरुमध्ये थोरैमात्र वृद्धवृद्धाहरु अहिले जिवित छन् ।

२००७ सालमा प्राप्त प्रजातन्त्र र जननिर्वाचित बिपिको सरकारलाई २०१७ सालमा राजा महेन्द्रले अपदस्त गरी निरंकुश निर्दलीय पञ्चायतको सुत्रपात ग¥यो । लेख्न, बोल्न र अभिव्यक्ति स्वतन्त्रता हनन् भएको राजाको शासनकालमा न्युनतम मानव अधिकारबाट समेत सर्वसाधारण जनता बञ्चित रहे । पञ्चायत इतरका व्यक्ति माथि निर्मम दमन थियो । को, कहाँ, किन जो कोही पीडित मारिए पनि सूचनाबाट बञ्चित थियो । राज खानदानका व्यक्ति ठूला पञ्चहरु मूर्ति चोरी अबैध धन्दामा संलग्न थिए । यस्ता अन्यायका बिरुद्ध बोल्ने लेख्ने मारिन्थे । पञ्चहरुको राइँदाइँ र राजाको एक दलीय निरंकुशताको विरोधमा फेरि पनि जनताले संघर्ष गरेर २०४६ मा लोकतन्त्रको बहाली गरे । राजाको शासन नदेखेका, नभोगेका युवाहरु अहिलेको कुशासन र बेथितिबाट वाक्क दिक्क भएर राजाको समर्थन गर्नु नौलो कुरा होइन ।

२०४६ सालको परिवर्तनपछि देशमा लोकतन्त्र त आयो । सत्तामा पुग्न दलहरूमा होडबाजी हुनथाल्यो । सत्ता टिकाउन सांसदहरु किनबेच हुन थाल्यो । महिला, मदिरा र विदेश भ्रमण बैंकक, हङकङ जान सांसदहरु बिक्रीसम्म भए । राष्ट्रको ढुकुटी मारेर प्राडो र पजेरो बाँडियो । मर्द सांसदले समेत सुत्केरी भत्ता र औषधी खाए । सत्ता कब्जा गर्ने छिनाझप्टीले गर्नहुने र नहुने जे पनि गर्न थाले ।

राणा गयो, निरंकुश राजतन्त्र गयो, लोकतन्त्रपछि गणतन्त्र आयो । जेलनेल सहेर वर्षाैं वर्ष दुख पाएर जनताको सेवा गर्न सत्तामा पुगेका नेताहरू नव राजा, नव राजकुमार र धनाढ्य नेतामा रुपान्तरण भए । जनताको सेवामा भन्दा कमाउ धन्दामा लागे । हिजो राजा महाराजाका महल र दरवारको बिरोध गर्नेहरू आज आफ्नै ठुल्ठुला आलिशान महल, भवनहरु बनाएर राजा र राणाको भन्दा ऐयासी जीवन बिताउने भए । चुनाव किन र केका लागि जित्ने भन्दा पनि चुनाव कसरी जित्ने र सत्ता कसरी हत्याउने भन्नेमा नै पार्टीहरुको ध्यान केन्द्रित भयो । निर्णायक मत नपाएका तर सट्टाको स्वाद चाख्न पाएका कांग्रेस, एमाले र माओवादी दलहरुका शिर्ष नेताहरुकै राइँदाइँमा तीन दशक बित्यो । भ्रष्टहरुकै सल्लाहमा भ्रष्ट्राचारलाई नै मियो बनाएर आज देशको यो स्थिति बनाउनुमा सत्तामा सामेल भएका दल र दलका नेताहरू जिम्मेवार छन् । सत्ता कब्जा गर्न पैसा चाहिने भएपछि पैसाको श्रोत अनैतिक काम गर्नु सरकारी किनबेचमा कमिशन खानु ठेक्का पट्टामा हात पार्नु, मालदार अड्डामा आफ्ना मान्छे नियुक्ति गर्नु, सरकारी जग्गा बिधि र नीति मिलाएर बिक्री गर्नु अहिलेसम्म भएका काण्डहरु चेइज काण्ड, बोइङ काण्ड, भुटानी शरणार्थी, गोकर्ण रिसोर्ट, गिरिबन्धु टि स्टेट, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास जग्गा काण्ड, बाँसबारी छाला जुत्ताको जग्गा काण्ड लगायत अनगिन्ती काण्डहरु यसैको उपज हो । बिदेशी सहायताको दुरुपयोग कसरी हुन्छ भन्ने कुरा हालै अमेरिकी राष्ट्रपति ट्रम्पले खुलासा नै गरिसकेको छ ।

सत्ता मुठ्ठीभर तस्कर धनाढ्यहरुको कब्जामा छ । उनीहरुकै इशारामा चलेको छ । सर्वसाधारण जनतामा चरम निराशा छ । आक्रोश छ । असन्तुष्ट र घृणा व्यक्त गरिरहेको छ । राजावादीहरु राजा फर्काउने अभियानमा छन् । किसान, मजदुर, सुकुम्बासी, मिटरब्याज पीडित र सहकारी पीडितहरु सबै–सबै आन्दोलित छन् । हजारौं हजार जनताले पटक–पटक त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धि र परिवर्तनलाई अहंकारी, लोभी र सत्ता लोलुप नेता र दलहरुको अकर्मण्यताले गुम्ने खतरामा पुगेको छ । पुराना दल र नेताहरूले एकपटक गम्भिर भएर यो सबैको जरो–किलो भ्रष्ट्राचारलाई निर्मम भएर ननिमोठ्ने हो भने अहिलेको दल र नेताहरू कोहि पनि बाँकी रहने छैन । देश अराजकता र अस्थिरतामा फसेको छ । अब शुद्धीकरणको अभियानमा जनतामा इमानदार छ भनेर देखाउने सबै नेताले भ्रष्ट नेताहरुलाई निर्मम भएर भ्रष्ट्राचारको फाइल खोल्नै पर्छ ।

परिवर्तनका लागि त्याग, तपस्या गर्ने नेताहरूले जनताको भावनालाई बुझेर सम्पति शुद्धीकरण गरी देशलाई अस्थिरता र अराजकता हुनबाट बचाउने कि घृणाको पात्र भएर बिलाउने ? सबै दलहरुका लोभ र पापमा नफसेका इमानदार सांसदहरूले देशलाई अहिले अस्थिरता अराजकताबाट बचाएर सुध्रने हो भने पहिलो काम भ्रष्ट्राचारको दाग लागेका आफ्नै दलका नेताको विरुद्ध पनि निर्मम भएर लाग्नै पर्छ । जनतामा विश्वास जगाएर काम गर्न सके मात्र लाखौं लाख जनताले लामो समय थुप्रै रगत पसिना बगाएर ल्याएको उपलब्धिलाई जोगाउन सकिन्छ । अन्यथा हाम्रो देशमा के हुन्छ ? हामी कहाँ पुग्छौं ? कसलाई के थाहा ?