–प्रभास घिमिरे

नेपालमा मनाइने चाडपर्व मध्ये फागुपूर्णिमा पनि एक पर्व हो । जसलाई होली नामले पनि चिन्न सकिन्छ । फाल्गुन शुक्लपक्ष पूर्णिमाको दिन आफ्ना आफन्त इष्टमित्रहरूलाई रङ दलेर उत्साह र उल्लासका साथ यस पर्वलाई मनाउने गरिन्छ। बिशेषतः यो पर्व नेपालमा पहाड र तराई गरेर दुई दिन मनाउने गरिन्छ । नेपालमा रहेका विभिन्न जाति ,विभिन्न रितिरिवाजअनुसार यस पर्वलाई मनाइन्छ भने, विशेषगरी यो पर्व आर्यहरुले धार्मिक र सांस्कृतिक रुपले मनाउने गरेका छन् । प्रायः यो पर्व अहिले नेपाल भारत लगायत विभिन्न देशहरूमा पनि मनाइन थालिएको छ । प्राचिनकालमा हिरण्यकश्यप नाम गरेको दैत्यले आफ्ना छोरा प्रह्लाद भगवान् विष्णुको परम भक्त बनेकाले छोरालाई मार्न अनेक उपाय लगायत पनि उसलाई मार्न नसकेको र आफ्नै बहिनीले ब्रह्माजी बाट अग्निले नजल्ने च्यादर बरदानपाएको भन्ने थाहा पाए पछि छोरालाई अग्निदाहन गरेर मार्ने योजना अनुरुपकार्य गर्दा विष्णुको कृपाले प्रह्लादबचेको र होलिका स्वयं जलेर भस्म भएको र संसारबाट आसुरी प्रवृत्तिको नष्ट भएको अवसरमात्यहाँकामानिसहरूले रङ दलेर प्राचीनकालमा मनाइने गरेको भन्ने किंवदन्ती प्रसिद्ध रहेको छ।

यसै अवसरमा नेपालका विभिन्न ठाउँहरूमा त्यस पर्वको अघिल्लो दिन काठको थुप्रोमा पूजा गरि दीपप्रज्वलन गरेर होलिका दहन गर्ने प्रचलन अझै रहिआएको छ । होलिका दहन पछि रंग उत्सव मनाउने प्रचलन भने भगवान कृष्णको समयदेखि नै सुरू भएको मान्ने गरिन्छ । त्यसपछि यसको नाम फागवाहको रूपमा परिवर्तन भयो । त्यसैले यसलाई फाल्गु पूर्णिमा ले पनि चिनिन्छ । त्यसैले यो फागुन महिनामा मनाउने गरिन्छ । श्री कृष्णले नै होलीको चाडमा रंगको उत्सव थपेका थिए भन्ने मान्यता पाइन्छ । नेपालमा वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होलीपर्व सुरु हुन्छ। एक साता अघिदेखि विभिन्नपर्व एवं उत्सवहरू सहित यो पर्व मनाइन्छ । वसन्तपुरमाचीर ठड्याइसकेपछि हर्ष बढाईं सहित हरेक वर्ष होली मनाइन्छ । साथै सहभागीहरुबीच रंगीविरंगी अबिर दलेर समेत खुसीयाली मनाउने प्रचलन रहेको छ ।

काठमाडौंमा रमाइरहेका बिदेशी पर्यटकहरुलाई पनि यस पर्वले सधैं लोभ्याउने गरेको छ। एकातर्फ यस पर्वले विभिन्न धार्मिक सामाजिक सहिष्णुता कायम गर्दै समाजमा एकता र उल्लासको सम्बन्धलाई अझ सुदृढीकरण गरेको छ भने, अर्कातर्फ यो पर्व मनाउने चलनको लोपसँगै, विकृतिहरूको हावीभइरहेको छ । मादकपदार्थ सेवन गरेर वितण्डा मच्चाउने,फोहर पानी छ्याप्ने, कुखुराका फुलहरूले हान्ने, लगायत अमानवीय कार्यहरूले यस पर्वको महानतालाई कमजोर बनाइरहेको छ । रसायन युक्त रङले अनुहारमा विभिन्न आकृति बनाउने प्रचलन अचेल भाइरल भइरहेको छ जसकाकारण विदेशबाट लाखौंको रङ भित्रने र नेपाली मुद्रा विदेशिने गरेको छ। अझ बिदेशी रक्सीकाप्रचार–प्रसारमा समेत यस पर्वको नामको विज्ञापनले हाम्रो यस चाडलाई विकृतिको भण्डार बनाइरहेको छ । तराई प्रदेशमाभने होलीलाई अझउमङ्ग र उल्लासमय बनाउनका लागि स्वसंस्कृति अनुरूप गाउँलेहरू एकत्र जम्मा हुने, विभिन्न गीत गाउने नाच्ने समेत गरिन्छ । वर्तमानमा विभिन्न अमर्यादित ढंगले गीतबजाउने, डिजे बजाउने, लगायतका क्रियाकलापहरुले बढी कोलाहलका साथै नेपाली लोकसंस्कृतिको लोप हुन थालेको छ । यसरी एक पर्वलाई मध्यनजर बनाएर गरिने अमर्यादित क्रियाकलापले गर्दा नेपालको धेरै मौलिकपर्व रीतिरिवाज लोप भएको र कैयौं लोपोन्मुख अवस्थामा रहेका छन् । जसकाकारण संस्कृतिमाथि अनेकौं विकृति भित्रनाले समाजमा असल संस्कारको, असलचरित्रको कमी भइरहेको छ । जसकाकारण संस्कृति पुस्तान्तरणमा अधिक मात्रामा ह्रास आएको छ । वर्तमान युवा पुस्ताले यस्ता क्रियाकलापलाई न अंगालेर प्राचीन संस्कृतिलाई अवलम्बनगर्न आवश्यक रहेको छ । शिक्षित नयाँ पुस्ताआधुनिकीकरणको सिकार बन्दै गर्दा हाम्रो संस्कार संस्कृतिलाई बचाउन पर्ने कुरालाई मध्यनजर गर्दै यस पर्वलाई सभ्य ढंगले मनाउन जरूरी छ । सम्पूर्णमा फाल्गु पुर्णिमाको शुभकामना ।