हेटौँडा : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टिम तेस्रो जीत निकालेको छ । शनिबार लमही क्रिकेट मैदानमा भएको समूह चरणको खेलमा कोशी प्रदेशलाई १ सय ३२ रनको फराकिलो अन्तरले हराउँदै बागमती प्रदेशले तेस्रो जीत निकालेको हो । समूह चरणको सात खेल खेलेको बागमतीले ४ वटा खेलमा पराजित हुँदा ३ खेलमा जीत निकालेको छ ।
पहिले व्याटिङ गरेको बागमती प्रदेशको टिमले ४९ ओभर ३ बलमा २ सय ४० रन बनाउँदै सबै विकेट गुमाएको थियो । बागमतीका लागि मकवानपुरे खेलाडी शुभ कंसाकारले सर्वाधिक ३९ रन बनाएका थिए । शुभ कंसाकारले २८ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । आशुतोष घिरैयाले ४० बलमा ५ चौका प्रहार गर्दै २९ रन बनाएका थिए । इशान पाण्डे र विपिन आचार्यले समान २५/२५ रन बनाएका थिए । टिम कप्तान पृथु बास्कोटाले २४ रन, मकवानपुरे खेलाडी रिजन ढकालले २२ रन, सोनु देवकोटाले १८ रन, सूर्य तामाङले १७ रन र गौत केशीले १६ रन बनाएका थिए ।
बलिङतर्फ कोशी प्रदेशका प्रकाश कार्की र सुजन थपलियाले समान २/२ विकेट लिएका थिए । जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको कोशी प्रदेश २५ ओभर ३ बलमा १ सय ९ रन बनाउँदै अलआउट हुन पुगेको थियो । कोशीका आशिष भट्टराईले सर्वाधिक ३७ रन बनाएका थिए । सुजन थपलियाले २५ रन र फिरोज अन्सारीले २४ रन मात्र जोडे । अन्य खेलाडीहरु दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ बागमतीका सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए । यस्तै, मकवानपुरे बायाँ हाते तीब्र गतिका बलर रिजन ढकालले ३ विकेट र बायाँहाते स्पिनर बलर साकार गजुरेलले २ विकेट लिएका थिए । सोमबार बागमती प्रदेशको टिमले कर्णाली प्रदेशको टिमको सामना गर्नुपर्नेछ ।