हेटौँडा : भोलि आइतबारबाट हेटौँडामा दोस्रो संस्करणको उपकुलपति कप ७ ए साइट महिला फुटबल प्रतियोगिता हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत हेटौँडास्थित वन संकायको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा महिला फुटबल प्रतियोगिता हुने भएको हो । शनिबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा वनविज्ञान अन्तर्गत रहेको आंगिक र सम्बन्धन प्राप्त ९ वटा कलेजको महिला टिमहरुको सहभागिता रहने छ । गत वर्ष पहिलो संस्करणको प्रतियोगिता चितवन जिल्लामा सञ्चालन भएको थियो । प्रतियोगिताका लागि हेटौँडा उपमहानगरपालिकाले सहयोग गरेको छ । भोलि हुने उद्घाटन खेलमा वनविज्ञान संकाय हेटौँडा र महोतरी जिल्लाको बर्दिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।