होली अर्थात् फागु रंगहरुको पर्व हो । थुप्रै प्रकारका रंगहरुको प्रयोग गरेर होली खेल्ने प्रचलन छ । त्यसैले पनि होली एउटा रंगीन पर्व बनेको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमामा होली पर्व मनाइन्छ । होली पर्व खासगरी हिन्दूहरुको प्रमुख चाड भए पनि मुस्लिमहरुले पनि यो चाड मनाउने गर्दछन् । यो चाडले बसन्त ऋतुको आगमनको सन्देश दिने गर्दछ । होलीको दिन मानिसहरुले एकअर्कामाथि विभिन्न प्रकारका रगहरु दलेर एकअर्कालाई रंगीन बनाउँछन् । पूर्णिमाका दिन पहाडी क्षेत्रमा होली मनाइन्छ भने त्यसको भोलिपल्ट तराई क्षेत्रमा होली मनाइन्छ । यसले एकआपसमा माया, प्रेम र सद्भाव कायम राख्दछ । जबर्जस्ती खेलिने होलीले एकआपसमा द्वन्द्वको अवस्था सृजना गर्दछ । त्यसैले पनि होली विशुद्ध सद्भावमा खेलिने पर्व हो ।

धार्मिक, सांस्कृतिक, सामाजिक सबै प्रकारका महत्व र विशेषता बोकेको होली नेपालीको एउटा मुख्य पर्व हो । नेपालमा मात्र नभएर भारतमा पनि यो पर्व निकै धुमधामसँग मनाउने गरिन्छ । पहाडी क्षेत्रमा भन्दा तराईमा होलीको रौनक अझ बढी हुने गरेको छ । जाडोयाम सकिने र गर्मीयाम सुरु हुने बेलामा पर्ने यो पर्वको महत्वलाई कायम राख्न शिष्ट र मर्यादितरुपमा मनाउने चुनौती भने बढ्दै गएको छ । परिवार, आफन्त, साथी–सङ्गीसँग आपसी सद्भावसहित मनाउनुपर्ने होलीमा जबरजस्ती बढ्दै गएको छ । होली आउनुभन्दा धेरै दिन अघिदेखि रंग छ्याप्ने तथा लोला हान्नेमात्र होइन, होलीका दिन सडकमा निस्कनै नसक्ने स्थिति सिर्जना हुने गरेको छ । अनुमतिबिना लोला हान्ने, फोहोर पानीले भिजाउने, हानिकारक रंगहरु दल्नेजस्ता विभिन्न विकृति यो पर्वमा देखिने गरेका छन्, जसले होलीको मौलिकता र महत्वलाई घटाउँदै लगेको छ ।

रंगहरुको पर्व होली मकवानपुरमा पनि विशेष उल्लासका साथ मनाइन्छ । होली आएसँगै हेटौंडा बजारमा पनि रौनक छाएको छ । होलीको अवसरमा विभिन्न संघसंस्थाले होली मिलन कार्यक्रमसमेत आयोजना गरेका छन् । होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिइन्छ । धार्मिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुशियालीमा परम्परादेखि नै विभिन्न मिठा परिकार पकाएर खाने र विभिन्न रंग दलेर होली मनाउने गरिएको छ । होली साथीभाइ, छरछिमेकी इष्टमित्रसँग खुसी साटासाट गरी रमाउने पर्व हो । विद्यालय, क्याम्पस र विभिन्न कार्यालयहरुमा अघिल्लो दिन नै होली खेलिन्छ । आपसी चिनजान र सहमतिमा खेलिने होलीले एकअर्काबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने गर्छ ।

पछिल्लो समयमा होलीमा देखिएका तडकभडकलाई न्यूनीकरण गर्नु हामी सबैको दायित्व बन्दछ । होलीको रमाइलोको नाममा जुवातास खेल्ने, मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने विकृति बढ्दो छ । होली खेल्ने भन्दै विभिन्न प्रकारका हानिकारण रंग दल्ने, हानिकारक रंग मिसाएको लोला हान्ने, शरीरभरी अनावश्यक चित्र बनाउने गरिएका कारण युुवा पुस्ता विकृतितर्फ धकेलिएको छ । यस्ता पक्षहरुलाई गम्भीररुपमा लिँदै यसवर्ष कोरोना संक्रमणको जोखिमलाई समेत उत्तिकै ध्यानमा राखेर होली खेल्नु आवश्यक बनेको छ । रमाइलोका लागि खेलिने होलीले सबैको मुहारमा खुसी ल्याउन सकोस् । एकआपसको सद्भाव बढ्दै जाओस् । सम्बन्धहरु थप प्रगाढ बन्दै जाओस् । होली खेलौं, रमाउँ । सबै पाठकहरुलाई रंगहरुको पर्व होलीको शुभकामना ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!