हेटौंडा : राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि पुरुषतर्फ भद्रपूर नगरपालिकाले र माहिलातर्फ पोखरा महानगरपालिकाले जितेको छ । मकवानपुर जिल्ला हक्की संघको आयोजनामा शनिबार हेटौंडा–४ स्थित हुप्रचौरमा सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फ बेदकोट नगरपालिकालाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै भद्रपूर नगरपालिकाले उपाधि जितेको हो भने महिलातर्फ समूह चरणको खेलहरूमा जित निकाल्दै उपाधि पोखरा महानगरपालिकाले जितेको हो ।
यस्तै, भीमदत्त नगरपालिकाले विर्तामोड नगरपालिकालाई ५–० गोलले हराउँदै तृतीय भएको छ भने महिलातर्फ समूह चरणको खेलमा कम जीत निकालेको हेटौंडाको टिम तृतीय भएको छ । प्रतियोगिताका लागि नेपाल हक्की संघ केन्द्रीय समितिले प्राविधिक सहयोग गरेको थियो । प्रतियोगिताको उपाधि विजेता पुरूष तर्फको टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै तृतीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ प्रतियोगिताको इमर्जिङ खेलाडी हेटौंडा निलोको टिम क्याप्टेन बादल घलान, उत्कृष्ट डिफेन्डर बेदकोट नगरपालिकाका सिजन लामिछाने र प्लेयर अफ द टुर्नामेन्ट भद्रपूर नगरपालिकाका रोशन चौधरी घोषित भएका छन् । यस्तै महिलातर्फ हेटौंडा रातोकी प्रनिता पुडासैनी इमर्जिङ प्लयेर, उत्कृष्ट डिफेन्डर मिथिला नगरपालिकाकी अन्जली महतो र प्लेयर अफ द टुर्नामेन्ट पोखरा महानगरपालिकाकी सोनो बराल घोषित भएकी छिन् । उनीहरुले जनही २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
मकवानपुर जिल्ला हक्की संघका अध्यक्ष मनोज शर्माको सभाध्यक्षमा तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको हो । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले ५/५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । पुरुषतर्फ ९ वटा टिम र महिलातर्फ ४ वटा टिमको सहभागिता रहेको थियो ।