हेटौंडाः मकवानपुर क्रिकेट संघले शनिबार नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजले क्रिकेटका खेलाडीहरुको संरक्षण गर्न र उनीहरुको गुनासो र समस्या सुनेर त्यसको समाधान गर्नतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

क्रिकेट संघ स्थापना भएको २५ वर्षभइसक्दा सो अनुरुप मकवानपुरमा क्रिकेटको विकास के कति भयो त्यसको मुल्याङ्कन गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।
क्रिकेटका लागि दिगो विकास हुनेगरी चौर व्यवस्थापन गर्नुपर्ने पनि दाहालले बताउनुभयो । हुप्रचौरमा बनाइएको क्रिकेट मैदान (पिच) लाई व्यवस्थित गर्न नसकिएको कारण त्यसमा प्रयोग भएको बजेट खेर गएकाले क्रिकेटका संरचनाहरुलाई सुरक्षित गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा मकवानपुरका सबैभन्दा कम उमेरका क्रिकेट खेलाडी करण अग्रवाललाई सम्मान गरिएको छ । गतवर्ष बारा जिल्लाको कलैया गढीमाईमा भएको क्रिकेट प्रतियोगितामा महावीर क्लबबाट मकवानपुरको प्रतिनिधित्व गर्दै सिनियर टिमँँग सबैभन्दा कम उमेरमा खेलेको भन्दै संघले खादा ओढाएर १० वर्षीय अग्रवाललाई सम्मान गरेको हो । यस्तै संघले कार्यक्रमका बीच मकवानपुर क्रिकेटका पुर्बकप्तान तथा क्रिकेट संघका सदस्य स्वर्गीय निरज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा क्षेत्री, मकवानपुर क्रिकेट संघका संस्थापक सदस्यहरु लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो ।